बैंकबाट ग्राहकको कागजात दुरुपयोग: असम्बन्धित व्यक्तिले निकाले ऋण, फेरि १० करोड लिने प्रयास

बैंकबाट ग्राहकको कागजात दुरुपयोग: असम्बन्धित व्यक्तिले निकाले ऋण, फेरि १० करोड लिने प्रयास
सुन्नुहोस्

विराटनगर : मोरङको बेलबारी नगरपालिका–३ का प्रतापकुमार थापाको विराटनगरस्थित लक्ष्मी सनराइज बैंकमा खाता छ। 

गाडी किन्नका लागि उनले सन् २०१५ मा ऋण लिए। ऋण लिँदा छोरा प्रभाष थापालाई व्यक्तिगत ग्यारेन्टी राखे। गाडी किन्नलाई लिएको ऋण तिरिसकेका छन्। गाडी प्रतापकै नाममा आइसकेको छ। बेलबारीस्थित उनको घरमा सांग्रिला बैंक भाडामा बसेको छ। कारोबारका क्रममा सांग्रिला बैंकले कर्जा सूचना केन्द्र कमलादी काठमाडौंबाट ‘सीआईसी’ रिपोर्ट मगायो। त्यो रिपोर्टको जानकारी पाएपछि उनी छाँगाबाट खसेजस्तै भएका छन्। 

‘मेरै घरमा भाडामा बसेको सांग्रिला बैंकबाट १० लाख ऋण लिन खोजेको थिएँ। बैंकले ‘सीआईसी’ रिपोर्ट मगायो। त्यो रिपोर्टमा असम्बन्धित व्यक्तिले छोरा प्रभाषलाई व्यक्तिगत ग्यारेन्टी राखेर लक्ष्मी सनराइज बैंकबाट ऋण लिइरहेको देखिन्छ। फेरि पनि त्यही बैंकबाट १० करोड रूपैयाँ निकाल्ने प्रयास गर्दै रहेछन्,’ प्रताप भन्छन्। 

उनका अनुसार चिन्दै नचिनेको रामेश्वर सेढाईं क्षेत्रीले छोरा प्रभाषलाई व्यक्तिगत ग्यारेन्टी राखेर लक्ष्मी सनराइज बैंकको वीरगन्ज शाखाबाट २०७७ जेठ १४ मा ४८ हजार ८ सय ६७ र २०७७ जेठ १७ मा २६ लाख ७६ हजार ९ सय ६२ रुपैयाँ ऋण लिएको देखिन्छ। २ पटकसम्म ऋण निकालिसकेका रामेश्वर फेरि १० करोड रुपैयाँ ऋण लिनलाई स्वीकृति गराउने प्रक्रियामा रहेको पाइएको प्रताप बताउँछन्। 

प्रताप र प्रभाष बाबु–छोराले आइतबार विराटनगरमा पत्रकार सम्मेलन गरेर लक्ष्मी सनराइज बैंकले कागजात दुरुपयोग गरिदिएको गुनासो गरे। व्यक्तिगत सम्पत्ति विवरणको कागजात असम्बन्धित व्यक्तिलाई उपलब्ध गराएर बैंकले आफूलाई फसाएको गुनासो प्रभाषको छ। उनी बेलबारी नगर अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट पनि हुन्। 

बैंकसँग मिलेमतो गरेर रामेश्वरले गत साउन २१ गते १० करोड ‘ट्रमलोन’ लिनका लागि आफूलाई पुनः व्यक्तिगत ग्यारेन्टी राखेर कारबाही प्रक्रिया अघि बढाएको पाइएको प्रभाषले बताए। आफ्नो कागजात प्रयोग गरेर अर्कै व्यक्तिले कर्जा निकाल्ने गरिरहेका कारण वित्तीय सुरक्षामा प्रश्न उठेको उनी बताउँछन्।  

बैंकको विराटनगर शाखाका कर्मचारीले रकम लेनदेन गरेर आफ्नो सम्पत्ति विवरणको कागजात रामेश्वरलाई उपलब्ध गराएको र उनले वीरगन्ज शाखाबाट ऋण लिइरहेको दाबी प्रभाषले गरेका छन्। ‘मलाई बैंक ग्यारेन्टी राखेर यसअघि २ पटक ऋण लिइसकेको देखिन्छ। फेरि १० करोडको तयारीमा रहेछन्। म रामेश्वर सेढाईं क्षेत्रीलाई चिन्दिन। देखेको पनि छैन। हाम्रो पारिवारिक नातासम्बन्धको मान्छे पनि हैन। कसरी मेरो कागजात प्राप्त गरेर मलाई नै ग्यारेन्टी राख्दै ऋण निकाले र पुनः ऋण निकाल्न प्रक्रिया अघि बढाए भनेर हामी अचम्ममा परेका छौं,’ उनी भन्छन्। 

उनले बैंकका कर्मचारीले कागजात बिक्री गरेका कारण रामेश्वरले सहजै ऋण लिन पाइरहेको आरोप पनि लगाए। ‘विराटनगरको लक्ष्मी सनराइजमा मेरो बुवाको खाता छ। त्यहाँबाट ऋण लिँदा मेरो सम्पत्ति विवरणको कागजात बुझाएको थिएँ,’ उनको दाबी थियो, ‘त्यही कागजात रामेश्वरले हात पारेका हुन्। कर्मचारीले बेचिदिएछन्।’ 

‘यो घटनाले मसहित मेरो परिवार पीडामा छ। सम्बन्धित बैंकसँग कुरा राख्दा पनि सुनुवाइ भएन। हामी सुधार गर्छौं भन्ने जवाफ मात्रै आयो। कतै नभएपछि न्याय खोज्दै आएका हौं,’ पत्रकार सम्मेलनमा प्रभाषले भने। लक्ष्मी सनराइज विराटनगरबाट रामेश्वरको कारोबार वीरगन्जस्थित शाखामा भइरहेको उनले बताए। 

विराटनगरस्थित बैंकका म्यानेजर सुदीप रायमाझीले आफूहरुबाट गल्ती भएको स्वीकार गरेको दाबी प्रभाषको छ। ‘म्यानेजरले कर्जा सूचना केन्द्रमा पत्राचार गरेर ‘सीआईसी’ रिपोर्टमा बाँकी रहेका सबै कर्जाहरु हटाउन लगाउँछौं भन्नुभएको थियो,’ प्रभाषले भने, ‘२ दिनपछि पुनः हेर्दा सुरु लिएको ऋण हटाएको र १० करोड ऋण लिन गरिएको प्रक्रिया जस्ताको तस्तै रहेको देखिन्छ।’ 

लक्ष्मी सनराइज बैंकसँग अहिले कुनै कारोबार नभएको अवस्थामा आफ्ना सम्पूर्ण कागजात बैंकको वीरगन्ज शाखामा कसरी पुग्यो ? र कसले पुर्‍यायो ? भनेर उनले प्रश्न गरेका छन्। प्रभाष आफूले अहिलेसम्म रामेश्वरलाई नचिनेको र नदेखेको बताउँछन्। ‘बैंकको नियमअनुसार कर्जा प्रवाह गर्दा एकाघरको अंश लाग्ने सदस्यहरुलाई मात्र व्यक्तिगत ग्यारेन्टी राख्न मिल्ने प्रावधान हुँदाहुँदै अपरिचित रामेश्वरलाई कर्जा प्रवाह गर्दा मलाई कसरी ग्यारेन्टी राखियो ?,’ उनले प्रश्न गरे, ‘यो बदमासीले बैंकहरुले कतिसम्म गर्छन् भन्ने प्रष्ट हुन्छ।’ 

प्रभाषले आफूजस्तै अन्य धेरै व्यक्तिलाई बैंकले फसाएको हुनसक्ने बताए। उनले यस घटनामा दोषीलाई कारबाही गरिनुपर्ने मागसमेत गरेका छन्। विराटनगरस्थित बैंकका प्रबन्धक सुदीप रायमाझीले कहिलेकाहीँ गल्ती हुनसक्ने बताए। ‘कसरी गल्ती भयो भनेर आन्तरिक हिसाबले अनुसन्धान गर्दैछौं। लक्ष्मी र सनराइज बैंक १ वर्षअघि मर्ज भएका हुन्। त्यस क्रममा पनि गल्ती भएको हुनसक्छ। अनुसन्धानपछि मात्रै सबै कुरा प्रष्ट हुन्छ,’ उनले भने। 

कसैले कर्जा लिँदा सम्पत्तिमा हक लाग्नेलाई मात्रै ‘पर्सनल ग्यारेन्टी’ राख्न मिल्ने उनको भनाइ छ। ‘उहाँ (प्रभाष)ले बैंकमा आएर कुनै कागजात ‘थिच्नु’ भएको छैन। व्यक्तिगत हिसाबले केही गरेको देखिँदैन। गल्ती कसरी भयो भनेर खोज्दैछौं,’ प्रबन्धक रायमाझी भन्छन्। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.