भूमि समस्या समाधान आयोगमा यी हुन् अध्यक्षसहित ८ जनाको सूची
काठमाडौं : सरकारले भूमि समस्या समाधान गर्न ८ सदस्यीय आयोग गठन गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन गरेको हो।
सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङले ८ सदस्यीय भूमि समस्या समाधान आयोग गठन गरेको बताए। 'प्युठानका हरिप्रसाद रिजालको अध्यक्षतामा भूमि समस्या समाधान आयोग गठन भएको छ। समिति ८ सदस्यीय रहनेछ,' उनले भने।
प्रधानमन्त्री कार्यालय स्रोतका अनुसार आयोगको उपाध्यक्षमा जाजरकोटका सनतकुमार कार्की रहेका छन्। त्यस्तै सदस्यहरुमा महोत्तरीका गुन्जबहादुर खड्का, झापाका अनिलकृष्ण प्रसाईँ, दार्चुलाका गोबर्द्धन ओली, तनहुँकी आरती भण्डारी, कैलालीका टेकबहादुर शाह, सिन्धुपाल्चोकका जगतबहादुर बस्नेत छन्।