कात्तिक नाच : बराह अवतार–हिरण्याक्ष बध मञ्चन
![कात्तिक नाच : बराह अवतार–हिरण्याक्ष बध मञ्चन](https://annapurnapost.prixacdn.net/media/albums/kartik-nacha-baraha-abatar-and-hiranya-badha_6YUooTMFGT_FWAP3La6ns.jpg)
काठमाडौं : ललितपुरमा जारी कात्तिक नाचअन्तर्गत बुधबार राति बराह अवतार–हिरण्याक्ष बध मञ्चन गरिएको छ । प्रत्येक वर्ष ललितपुर दरबार क्षेत्रमा ‘कात्तिक नाट्य महोत्सव’ मञ्चन गर्ने परम्पराअनुसार बुधबारराति बराह अवतार–हिरण्याक्ष वध मञ्चन गरिएको हो ।
नाचमा इन्द्रले यज्ञ गरिरहँदा हिरण्याक्ष दैत्यले विष्णुको नाममा गरेको यज्ञ भङ्ग गर्न आउने कथामा आधारित नाट्य महोत्सव प्रदर्शन गरिएको छ ।
नाचका क्रममा इन्द्रले गरेका यज्ञमा बाधा पुर्याएपछि विष्णुको आह्वान गर्ने र विष्णुको स्वरुप बराह प्रकट भएर युद्ध चल्ने गर्दछ । आफूहरूले हार्दै जाँदा हिरण्यासहित उनका दैत्यगण भाग्छन्। सो नाटकमा आफूसँग भएको शक्ति प्रदर्शन गर्न खोज्दा भाग्नुपर्ने अवस्था सिर्जना भएकाले त्यसो नगर्न आम मानिसलाई सन्देश दिन खोजिएको कार्तिक नाच संरक्षण समितिले जनाएको छ ।
वि.सं १६९७ मा पाटनका राजा सिद्धिनरसिंह मल्लले देश र जनताको कल्याणार्थ सो नाच चलाएका थिए । कात्तिक नाचको माध्यमद्वारा देशमा आउने विध्नबाधा हटी शान्ति र सु–व्यवस्था कायम रहने विश्वास रहेको छ ।
कात्तिक महिनाभरि विभिन्न विधि र प्रकारका नृत्य प्रदर्शन गरिने भएकाले यस नाचलाई ‘कात्तिक नाच’ भनिएको हो । कार्तिक २१ गते भक्त सुरदास प्याखँ नाचबाट सुरु भएको कात्तिक नाच कार्तिक ३० गते वस्त्रहरण लिला नाचसंगै समापन हुने समितिले जनाएको छ ।
यो पनि पढ्नुहोस
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)