पर्यटनबाटै समृद्धि
अहिले घुमफिरको समय छ। आकाश सफा छ। हिमाल छर्लंग देखिन्छ। यो समय पर्यटकको लागि राम्रो मानिन्छ। पछिल्लो समय आन्तरिक पर्यटकको संख्यामा पनि वृद्धि भएको छ। पर्यटनको लागि विदेशी पर्यटकमै निर्वाह गर्नुपर्ने बाध्यात्मक अवस्थामा कमी भएको छ। यद्यपि विदेशी रकम भिœयाउन र नेपाल चिनाउन विदेशी पर्यटक धेरै हदसम्म सहायकसिद्ध हुन्छन्।
नेपाल पर्यटन बोर्डको हालैको तथ्यांकअनुसार सन् २०२४ को १० महिनामा ९ लाख ४० हजार ७ सय ३२ पर्यटक नेपाल आएका छन्। अक्टुबरमा मात्र १ लाख २४ हजार ३ सय ९३ पर्यटक आएका छन्। यो तथ्यांक अनुसार हरेक दिन ३१ सय ३३ विदेशी पर्यटक नेपाल घुम्न आउने गर्छन्। नेपालमा पर्यटकको संख्या अझैं बढाउन सक्ने सम्भावना छ। सरकारले बजेटमार्फत २०२३—२०३२ लाई पर्यटक दशक भनेको छ। सन् २०२० लाई नेपाल भ्रमण वर्ष मनाएर १५ लाख पर्यटक पुर्याउने लक्ष्य भए पनि कोभिड—१९ लगायतको कारणले हुन सकेन।
विदेशमा नेपाल र संघीय राजधानी काठमाडौं विश्वप्रख्यात छ। जनवरीमा ट्रिप एडभाइजरले उत्कृष्ट प्राकृतिक गन्तव्य मा काठमाडौंलाई पहिलो नम्बरमा राख्नु खुसीको कुरो हो। यो अनुसार उत्कृष्ट देशको सूचीमा समेत नेपाल २४ नम्बरमा रहेको छ। न्युयोर्क टाइम्स २०२४ को सूचीमा घुम्नै पर्ने सूचीमा नेपालको मुस्ताङ परेको थियो। यसरी नेपालमा पर्यटकको सम्भावना भए पनि केही कमजोरीले नै अधिक लाभ लिन र पाउन सकेको छैनौं।
हाल पर्यटकले औसतमा १३ दशमलव १ दिन बसाइ गरेको पाइन्छ । दैनिक औसत ४० अमेरिकी डलर खर्च गर्ने गरेको अवस्था छ। यसलाई बढाउन विविध उपाय चाल्नु जरुरी छ। हामीले आध्यात्ममा रुचि राख्ने पर्यटक भिœयाउन र बुद्ध जन्मिएको देश भनेर चिनाउन जरुरी छ। त्यस्तै विपश्यना ध्यान केन्द्रको विस्तार र ध्यान टुरिजमतर्फ राम्रो सम्भावना देखिएको छ। अहिले विश्वमा देखिएको प्रविधिको विकास र मानिसको उच्च आकांक्षाले मानसिक तनाव बढाएको छ।
हिन्दु र बौद्ध धर्मावलम्बीको तपोभूमि मानिएको नेपालमा धार्मिक पर्यटनको अथाह सम्भावना छ। चीनमा बौद्ध धर्मावलम्बीहरू झन्डै २५ करोडभन्दा बढी भएको मानिन्छ। चीनका करोडौं पर्यटक अन्य मुलुकमा गएर उनीहरूको अर्थतन्त्रमा योगदान गर्छन्। भारतमा हिन्दुहरू धेरै छन्। हामीले भारत र चीनको साथै पूर्वी एसियाको खर्चालु धार्मिक पर्यटक तान्न पहल गर्नुपर्छ। हामीले धार्मिक पर्यटक भिœयाउन सोही अनुकूलको नीति भने अंगीकार
गर्नैपर्ने हुन्छ।
हाम्रो लागि पर्यटनको अर्काे सम्भावनाको क्षेत्र साहसिक पर्यटन र ट्रेकिङ गन्तव्यको रूपमा नेपाललाई विकास गर्नु हो। नेपाललाई साहसिक गन्तव्यको रूपमा विकास गर्न र्याफ्टिङ र बन्जी जम्पिङको साथै हिमाली भेगमा हिउँ भएको बेला गर्ने आइस स्केटिङ र आइस हक्कीजस्ता खेल खेलाउन सक्छौं। सन् २०२० मा सगरमाथाको गोक्यो क्षेत्रमा यो गरेका समेत रहेछौं। नेपाललाई ट्रेकिङ गन्तव्यको रूपमा विकास गर्न विशेषतः तन्नेरी र युवा पुस्तालाई आकर्षण गर्न सेवासुविधासहितको ट्रेकिङ पदमार्गको विकासमा ध्यान दिनुपर्छ।
छिमेकी राष्ट्र भुटानमा सन् २०२३ देखि पर्यटकमार्फत दिनकै एक सय डलर भिसा शुल्क ‘दिगो विकास शुल्क’ को शीर्षकमा लिने गरिन्छ। यो भुटान सरकारले वातावरण, अर्थतन्त्र र जनताको सुरक्षा क्षेत्रमा गर्ने गर्छ। यहाँ आउने पर्यटकमार्फत ‘जलवायु परिवर्तनबाट जोगाउन मेरो योगदान’ शीर्षकमा नेपालको हिमाल र वातावरण क्षेत्रमा सघाउन सहयोग गर्न इच्छुकलाई प्रेरित गर्नुपर्छ। जलवायु परिवर्तनको असरबारे जानकारी दिन तथ्यसहित भिडियोसहितको सामग्री म्युजियम बनाएर राख्नु उत्तम हुन्छ। त्यसमा मिलेसम्म निःशुल्क वा न्यून शुल्क राखेर हेर्ने प्रबन्ध मिलाउनुपर्छ।
पर्यटन पूर्वाधार र बजारको विकास, पर्यटन सूचना सञ्जालीकरण, विस्तार, दिगो पर्यटन, सडकको दुरवस्थामा सुधार, पर्यटक सुरक्षा र त्रिभुवन विमानस्थलमा पर्यटकलाई सहज वातावरण गराउनु टड्कारो आवश्यक छ। विदेशस्थित नेपाली राजदूतावासले नेपाली डायस्पोराको साथ लिँदै नेपालको पर्यटन प्रचारप्रसार र प्रवद्र्धन गर्न सकिन्छ।
सरकारले उड्डयन क्षेत्रको पुनर्संरचना र भैरहवा र पोखरा अन्तराष्ट्रिय विमानस्थललाई व्यवसायिक संचालन गर्ने कार्ययोजना स्वीकृत गरेको छ। अब ईयुको कालोसूचीबाट हटाउन गर्नुपर्ने कूटनीतिक पहलकदमी साथै ईयूको निर्धारण गरेको मापदण्डअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणलाई नियामक निकाय र सेवा प्रदायक निकायमा विभाजन गर्नु खाँचो छ। हाल निर्माणाधीन बुटवल—नारायणगढ, पोखरा जाने सडक, निजगढ दुतमार्ग र अन्य राजमार्गको छिटो काम समयमै सक्न ध्यान दिनुपर्छ।
सन् २०२३ मा १० लाख पर्यटकले नेपाल भ्रमण गरेको थिए। सन् २०३२ सम्म ३५ लाख पर्यटक ल्याउने सरकारको लक्ष्य छ। सरकारले पूर्वाधार र सूचना प्रविधिमा लगानी गरे लक्ष्यभन्दा बढी भिœयाउन सकिन्छ। विक्रम सम्वत् २१०० सम्ममा ‘समृद्ध नेपाल सुखी नेपाली’को राष्ट्रिय लक्ष्य हासिल गर्न पर्यटनको विकासमा दीर्घकालीन लगानी गरियो भने सहायकसिद्ध हुन्छ। हामो सोह्रौं योजनाले समेत ‘सुशासन, सामाजिक न्याय र समृद्धि’को लक्ष्य लिएको छ। र, समृद्ध नेपालको लागि दिगो पर्यटन आवश्यक छ।
छिमेकी राष्ट्र चीनले नेपाल—चीन सम्बन्धको ७० वर्ष पुगेको अवसरमा सन् २०२५ मा भिजिट नेपाल वर्ष—२०२५ गर्ने भनेको छ। जुन राम्रो हो। यसले चिनियाँ पर्यटकको संख्या बढाउँछ। नेपालको पर्यटन क्षेत्र उकास्न नाम चलेका व्यक्ति, खेलाडी र भ्लगरलाई नेपाल ल्याएर नेपालबारे राम्रो प्रचारप्रसार गर्नतर्फ नेपाल पर्यटन बोर्ड लाग्नुपर्छ। हामीले विश्वको जेन—जी पुस्तालाई तान्न सक्नुपर्छ। साथै यौनिक तथा लैंगिक अल्पसंख्यक मैत्री रेन्बो टुरिजममा पनि नेपाल राम्रो गन्तव्य हुन् सक्छ।
अब हामीले सगरमाथाको देश र बौद्ध जन्मिएको देश भनेर मात्र हुँदैन। नेपाललाई चिनाउन अन्य ब्रान्डसमेत चाहिन्छ। नेपाल चिनाउने भनेको हाम्रो प्रकृति र हाम्रो स्वागत सत्कारबाट समेत हो। हामी अतिथि देवो भवः भनेर अतिथिलाई सत्कार गर्ने गछौं। यो संस्कारले निरन्तरता पाउँदै गएमा मुलुकको कुल गार्हस्थ्य उत्पादनमा पर्यटन क्षेत्रको योगदान झन् बढ्नेछ।