भ्रष्टाचार एउटा संगठित अपराध हो : उपप्रधानमन्त्री सिंह
काठमाडौं : उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले भ्रष्टाचार अन्त्यका लागि समग्र राज्य एक हुनुपर्ने बताएका छन्। भ्रष्टाचार विरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा आज आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले भ्रष्टाचार एउटा संगठित अपराध भएको बताए।
उनले आवश्यक नीतिगत तथा कानुनी व्यवस्थासहित भ्रष्टाचार अन्त्यका पक्षमा वर्तमान सरकार क्रियाशील रहेका बताए।
‘भ्रष्टाचार एउटा सङ्गठित अपराध हो, यसले घूसखोरी र आर्थिक अनुशासनलाई बढावा दिएर मुलुकको विकासलाई सुस्त बनाउँछ, निर्वाचन प्रणालीलाई प्रभावित गरी राजनीतिक अस्थिरता बढाउँछ, भ्रष्टाचार न्यूनीकरण तथा नियन्त्रणका पक्षमा राज्य निर्मम र कठोर हुनुपर्दछ भन्ने मान्यताका साथ सरकारले काम गरिरहेको छ।’ सिंहले भने,‘सुशासनका लागि भ्रष्टाचार नियन्त्रण अनिवार्य सर्त हो, प्रविधिको विकाससँगै भ्रष्टाचारको स्वरुप पनि जटिल बन्दै गएको छ, राज्य अझ बढी सक्रिय हुन जरुरी छ।’