जहाँ सिमली डाँठ भाँचेर ओलीले कखरा सिकेका थिए

जहाँ सिमली डाँठ भाँचेर ओलीले कखरा सिकेका थिए
सुन्नुहोस्

तेह्रथुम : प्रधानमन्त्री केपी ओली बुधबार प्रणामी माध्यमिक विद्यालय पुगे। आफ्नो बाल्यकाल सम्झे। कखरा सिकेको अनुभव सुनाए। विद्यालयको गुणस्तर सुधार्न अभिभावक र शिक्षकलाई आग्रह गरे।

एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीले तेह्रथुमको आठराई–४ इवास्थित प्रणामी विद्यालयबाट कखरा सिकेका थिए। उक्त विद्यालयको भवन उद्घाटन गर्न पुगेका ओलीले काठको फल्याकमा धुलो माटो छरेर सिमली डाँठ भाँचेर ‘कपुरी क’ कोरेको स्मृति सुनाए। ‘त्यो बेला कखरा सिक्दा टुकी बालेर पढियो,’ ओलीले भने, ‘आज फेरि त्यहीँ विद्यालयमा आइपुग्दा साँच्चै बालापनका यादहरूको झझल्को आइरहेको छ।’ ओलीले कक्षा ४ मा पढ्दा शिक्षकले परीक्षाको नतिजामा आफ्नो नाम बोलाएको रमाइलो प्रसंग पनि कोट्याए। 

‘सरले परीक्षाको नतिजा सुनाउने बेला नाम बोलाई नसक्दै म अघि बढेँ। सबैजना हाँसे। लाजले फेरि फर्कें,’ ओलीले सम्झिए। विद्यालयमा आइपुग्दा बाल्यकालका साथीहरू खेली हिँडेका यादहरू ताजा भएको पनि ओलीले सुनाए। 

आफ्नै गाउँमा शिक्षा लिएर देशको प्रधानमन्त्री जस्तो गरिमामय पदमा पुगेपछि इवावासीले भाग्यमानी ठानेको स्थानीय अमृत बास्तोलाले बताए। ‘आफ्नो गाउँको मान्छे आज देशको प्रधानमन्त्रीका रूपमा पाउनु हाम्रो भाग्य हो, हामी इवावासीका लागि गर्वको कुरा हो, उहाँप्रति र उहाँको कामप्रति हाम्रो सम्मान छ’, उनले भने। 

प्रधानमन्त्री ओलीले विद्यार्थीलाई गुणस्तरीय शिक्षा उपलब्ध गराउनुपर्नेमा जोड दिए। आफू पढेको विद्यालयमा माध्यमिक शिक्षा परीक्षा कक्षा १० (एसईई) को नतिजा गत वर्ष खस्केको समाचारले आफूलाई खिन्न बनाएको बताए। विद्यार्थी पास भएनन् भने अभिभावकको लगानी र विद्यार्थीको मेहनत खेर जाने उनले बताए।

‘एसईईमा विद्यार्थी पास भएनन् भने उनीहरूको भविष्य पनि धुलमिल हुन्छ, एसईईभन्दा माथि जान नसक्दा निराशा थपिन्छ’, ओलीले भने, ‘शिक्षकहरूमा ज्ञान सम्प्रेषणको कला विकास हुनुपर्छ, विद्यार्थीले पनि भरपुर मेहनत गर्नुपर्छ, पढाइमा सफल हुने विद्यार्थीले विकास र समृद्धिमा योगदान दिन सक्छन्। म सबै विद्यार्थी भाइबहिनीहरू र शिक्षकहरूलाई यसलाई गम्भीरतापूर्वक बुझेर मेहनत गर्न आग्रह गर्दछु।’ प्रधानमन्त्री ओलीले गुणस्तरीय शिक्षाका लागि सरकारले गरेको लगानी अनुरूप नै शैक्षिक गतिविधि हुनुपर्ने बताए।

प्रधानमन्त्री ओलीले विद्यालय भवन निर्माणमा सहयोग गर्ने दक्षिण कोरियाली संस्था युङ होङ गिल फाउण्डेसन र सम्बन्धित पक्षलाई धन्यवाद दिए। आफ्नो आधारभूत शिक्षा पूरा गरेको उक्त प्रणामी माध्यमिक विद्यालयमा नवनिर्मित १८ कोठे भवनको उद्घाटन गर्न ३ दिन गृहजिल्ला झापामा बसेर फर्किएका प्रधानमन्त्री ओली बुधबार जन्मस्थान तेह्रथुम पुगेका थिए। उनले विद्यार्थी, शिक्षक, स्थानीय लगायतसँग अन्तरक्रियासमेत गरे। 

दक्षिण कोरियाको युम होङ गिल ह्युमन फाउण्डेसनको सहयोगमा कुल चार करोड ४९ लाख ६० हजार, कोशी प्रदेश सरकारले २१ लाख ४० हजार र आठराई गाउँपालिकाले ६९ लाख रुपैयाँमा उक्त भवन निर्माण भएको विद्यालयले जनाएको छ। प्रधानमन्त्री ओली २००८ साल फागुन ११ गते आठराई गाउँपालिकास्थित इवामा जन्मिएका हुन्। 

‘सुशासन र विकासका लागि सरकार’

प्रधानमन्त्री ओलीले देशलाई स्थिरता, स्थायित्व, सुशासन र विकासको गतिमा अघि बढाउन कांग्रेस र एमालेको सरकार बनेको बताए। नवनिर्मित भवनको उद्घाटन गर्दै उनले देशको अप्ठ्यारो स्थितिलाई हेरेर कांग्रेस एमालेको सरकार बनेको जिकिर गरे। विगतको राजनीतिक घटनाक्रमले देशको सुशासन र विकासमा देखिएको असन्तुलित परिस्थितिलाई सुगति दिन पनि सरकार बनाइएको उनले बताए।
 

यो पनि पढ्नुहोस


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.