सरकारले ल्यायो तीन अध्यादेश
काठमाडौं : सरकारले विभिन्न तीन अध्यादेश ल्याएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा शुक्रबार राती बसेको मन्त्रीपरिषद् बैठकले तीन अध्यादेश ल्याउने निर्णय गरेको हो।
मन्त्रिपरिषद् बैठकले केही नेपाल ऐन, भूमि र लगानीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिलाई सिफारिस गर्ने निर्णय गरेको छ ।
अध्यादेश ल्याउनुअघि शुक्रबार दिउँसो प्रधानमन्त्री ओलीले राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका थिए।
उक्त अध्यादेशमार्म विभिन्न १७ कुरा संशोधन गर्ने निर्णय गरिएको छ। अध्यादेशमा गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले १० वर्ष नेपाल बस्दा निःशुल्क भिसा पाउने व्यवस्था गरिएको छ।
त्यस्तै सेवा प्रवाहमा नागरिक एप प्रयोगमा ल्याउने कानुनी व्यवस्था, श्रमिकहरुको अनिवार्य अवकाश उमेर हद ५८ बाट ६० वर्ष बनाउने, नेपाल सरकारको कार्य सम्पादन सरलीकरण गर्दै ७ दिन भित्र निर्णय गर्नु पर्ने नगरेमा कारबाही हुने व्यवस्था पनि अध्यादेशमा छ।
साथै सामाजिक सुरक्षा भत्ताका लागि क्रमशः राष्ट्रिय परिचय पत्र अनिवार्य गर्दै जाने, निवृत्तिभरण कोषमा शिक्षकहरूलाई समावेश गर्ने, गैर आवासीय नेपाली नागरिकता प्राप्त व्यक्तिले नेपालमा कम्पनी खोल्न सक्ने, विदेशी लगानीका रूपमा अनुमति लिनु नपर्ने लगायतका व्यवस्था अध्यादेशमा छन्।