सरकारविरुद्ध संगठित हुँदै विपक्षी दल

सरकारविरुद्ध संगठित हुँदै विपक्षी दल
सुन्नुहोस्

काठमाडौं : कांग्रेस–एमाले सरकारविरुद्ध विपक्षी दल संगठित हुन थालेका छन्। माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दल ‘समाजवादी मोर्चा’ ब्युँत्याएर सरकारमाथि दबाब बढाउने कसरतमा छन्। राप्रपालगायतका दल पनि माओवादी केन्द्र, एकीकृत समाजवादीलगायतका दलसँग संगठित भएर सरकारमाथि दबाब बढाउनुपर्ने पक्षमा देखिएका छन्। 

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड), एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र जसपाका अध्यक्ष अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच अलगअलग र संयुक्त बैठक बसेको छ। बिहीबार र शुक्रबार उनीहरूबीच तारन्तर बैठक चलेका थिए। 

समाजवादी मोर्चालाई क्रियाशील बनाउन, संविधान संशोधनबारे साझा धारणा तयार गर्न र सरकारमाथि दबाब बढाउन विपक्षी दलहरू कसरतमा जुटिरहेका हुन्। सहकारी ठगी प्रकरणमा हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने धरौटीमा रिहा भएसँगै विपक्षी दलहरूको राजनीति चहलपहल झनै बढेको देखिन्छ।

एमाले र कांग्रेसले अपवित्र गठबन्धन बनाएर देशलाई दलदलमा फसाएको माओवादी अध्यक्ष प्रचण्डले आरोप लगाउँदै आएका छन्। यसबारे विपक्षी दलहरूको समान धारणा रहेको पाइन्छ।

‘यो गठबन्धन अब चल्दैन’

सिंहदरबारमा शुक्रबार माओवादी अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष नेपालबीच संविधान संशोधन, केपी ओली शर्मा नेतृत्व सरकारका काम कारबाहीबारे छलफल भएको थियो। उक्त बैठकमा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन पनि सहभागी भएका थिए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै प्रचण्डले आउँदो माघ २ गते समाजवादी मोर्चाको बैठक बस्ने सल्लाह भएको जानकारी दिए। प्रचण्डले भने, ‘समाजवादी मोर्चाको बैठक बस्ने विषयमा हिजो (बिहीबार) र आज (शुक्रबार) हामीले छलफल गरेका छौं।’

राजनीतिक स्थिरता र संविधान संशोधनका लागि कांग्रेस र एमालेबीच सातबुँदे गठबन्धन गरेको भनियो तर, प्रधानमन्त्री केपी ओलीले २०८७ मा संविधान संशोधन गर्ने भनेको छ ? भन्ने सञ्चारकर्मीको जिज्ञाशामा प्रचण्डले भने, ‘यो गठबन्धन अप्राकृतिक छ, अलोकतान्त्रिक छ र अपारदर्शी पनि छ भन्ने कुरा संसद् र बाहिर भनेको सुन्नु भएकै छ। अप्राकृतिक ढंगले यो गठबन्धन अब चल्दैन।’

‘चुनावै नगरी बस्ने हो कि...’

सिंहदरबारको बैठकबाट निस्किँदै गर्दा एकिकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपाल प्रधानमन्त्री केपी शर्मा ओलीले सत्तामा रहिरहन २०८७ मा संविधान संशोधन गर्ने कुरा गरेको बताए। ओलीलाई कटाक्ष गर्दै नेपालले भने, ‘२०८७ सम्म उहाँ (ओली)को चाहना सत्तामै बसिराख्ने होला, हेरौं चुनावै नगरी बस्ने हो कि ? त्यसलाई मान्छेले कसरी ख्याल गर्ने हो ? फेरि संसद् भंग गरेर ६ वर्ष बस्ने हो कि ? थाहा भएन।’

सरकारलाई दबाब दिन समाजवादी मोर्चालाई कसरी पुनर्जागृत गर्ने ? विषयमा प्रचण्डसँग छलफल भएको नेपालले पनि बताए। समाजवादी मोर्चाका घटकहरू र अन्य दलसँग सहकार्य गर्दै अघि बढ्नेबारे बैठकमा छलफल भएको अध्यक्ष नेपालले स्पष्ट पारे। ‘हाम्रो पार्टी एकीकृत समाजवादी, माओवादी केन्द्र, नेकपा (विप्लव) र महिन्द्रजीको नेपाल समाजवादी पार्टी गरी चारवटा घटकबीच पहिलो चरणमा माघ २ गते छलफल हुन्छ’, उनले भने, ‘अरूसँग पनि कुरा हुँदैछ। को—को अरू इच्छुक हुनुहुन्छ ? बैठकमा को—को सहभागी बन्न सक्नुहुन्छ ? त्योबारे पनि एकआपसमा छलफल गरिरहेका छौं।’ 

समाजवादी मोर्चालाई क्रियाशील बनाएर संविधान संशोधनको एजेन्डामा पनि छलफल हुने बताइएको छ। अध्यक्ष नेपालका अनुसार संविधान संशोधनका लागि अरू दलहरूसँग छलफल गर्न एकीकृत समाजवादी पार्टीले पनि कार्यदल बनाएको छ। उनले भने, ‘संविधान पक्कै पनि संशोधन गर्नु पर्नेछ, केही कुराहरू मिलाउनु पर्नेछ।’ तर, प्रधानमन्त्री ओली संविधान संशोधनका कुराबाट पनि पछि हटेको कुरा आइरहेको बताउँदै अध्यक्ष नेपालले थपे, ‘त्यो कति साँचो कुरो हो ? त्यो जानकारी छैन। यदि साँचो हो भने ठीक कुरा होइन। मुलक चलाउन, जनताको सेवासुविधा विस्तारका निम्ति कठिनाइ भइरहेका ती—ती पक्षमा संविधान संशोधन हुनुपर्छ। कोही प्रत्यक्ष निर्वाचित भन्छन्, कोही पूर्ण समानुपातिक निर्वाचन प्रणाली भन्छन्। हामी पनि एउटा धारणा बनाएर छलफलमा छौं।’

नेतृत्व र व्यवस्था परिवर्तन जरुरी : अध्यक्ष लिङ्देन

सिंहदरबार बैठकमा अध्यक्ष प्रचण्ड र नेपालसँग सहभागी भएका राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले देश नबन्नुमा अहिलेको नेतृत्व र व्यवस्था दोषी रहेको टिप्पणी गरे। उनले भने, ‘संविधान त परिवर्तन हुनै पर्ने भयो। संविधानमा सुधार र परिवर्तनका कुरा हामीले पनि उठाइरहेका छौं।’


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.