प्रवासी नेपालीहरूको सीप र स्रोतलाई नेपालको विकासमा लगाउनुपर्छ : शेखर कोइराला
लन्डन : नेपाली कांग्रेसका वरिष्ठ नेता शेखर कोइरालाले गैर आवासीय नेपाली नागरिकतामा देखिएको समस्या छिट्टै समाधान गर्नुपर्ने बताएका छन्। नेपाली दूतावासद्वारा शुक्रबार आयोजित अन्तर्क्रियालाई सम्बोधन गर्दै नेता कोइरालाले 'एनआरएन नागरिकता' कागजको खोस्टो भएको भन्दै बताए।
उनले भूतपूर्व गोर्खा सैनिकहरूको पेन्सनको विषयमा ब्रिटिश मन्त्रीहरूसँग छलफल गर्ने बताए। नेता कोइरालाले बेलायत नेपालको सबैभन्दा पुरानो मित्र भएकाले नेपालको वस्तुस्थिति क्षेत्रीय तथा विश्व रंगमञ्चमा उठाउन बेलायतलाई आग्रह गर्नुपर्ने बताए। उनले जलवायु परिवर्तनका कारण नेपालले व्यहोर्नु परिरहेको समस्यामा सहयोग गर्न पनि बेलायतलाई आग्रह गर्नुपर्ने बनाए।
उनले प्रवासमा रहेका नेपालीहरूलाई आफूसँग रहेको सीप र स्रोत नेपालको विकासमा लगाउन पनि गरे। त्यस्तै बेलायतका लागि कार्यवाहक नेपाली राजदूत बिपिन दुवाडीले बेलायतको नेपाली डायस्पोरा बलियो, शिक्षित र गौरव गर्न लायकको भएको बताएका थिए। उनले यहाँ बसोबास गरिरहेका नेपालीहरू नेपालको कुनै पनि विषयमा योगदान गर्न इच्छुक रहेको आफूले पाएको बनाए।
जनसम्पर्क समिति बेलायत तथा सोसाइटी अफ नेप्लिज प्रोफेसनल्स युकेद्वारा आयोजित कार्यक्रमका लागि कोइराला यहाँ आएका हुन्। बेलायतका उद्योग व्यापार राज्य मन्त्री ग्यारेथ थोमस तथा परराष्ट्र सहायक मन्त्री क्याथराइन वेष्टद्वारा आयोजित उक्त बैठकमा बेलायतस्थित नेपाली समुदायका अगुवाहरूलाई पनि आमन्त्रण गरिएको छ।