पहिचान पक्षधरले प्रदेश सरकारसँग वार्ता नगर्ने

पहिचान पक्षधरले प्रदेश सरकारसँग वार्ता नगर्ने
सुन्नुहोस्

विराटनगर : कोशी प्रदेश सरकारसँग वार्ता नगर्ने अडान पहिचान पक्षधरको रहेको छ। पहिचानवादी मोर्चाले ताप्लेजुङको पाथीभरा क्षेत्रको विवादका विषयलाई लिएर प्रदेश सरकारसँग वार्ता नगर्ने भएको हो।
 
पाथीभरामा केबलकार निर्माण सुरु भएपछि विरोधमा रहेको पहिचान पक्षधर र प्रहरीबीच गत शनिबार झडप भएको थियो। झडपमा २१ प्रहरी र ५ जना प्रदर्शनकारीसहित १६ जना घाइते भएका थिए। घाइते प्रदर्शनकारीमध्ये २ जनालाई गोली लागेको थियो।

 
झडपपछि प्रदेश सरकारले वार्ताका लागि पहिचान पक्षधरलाई मंगलबार आह्वान गरेको थियो। तर, पहिचान पक्षधरले प्रदेश सरकारसँग वार्ता गर्नुको कुनै औचित्य नरहेको जनाएको छ। केबलकारको विषयमा वार्ता गर्दा संघीय सरकारसँग मात्रै गर्ने पहिचानवादी मोर्चाको अडान छ।
 
‘प्रदेशले वार्ताका लागि बोलाएको छ भन्ने सुन्यौं। तर, आधिकारिक रूपमा हामीलाई थाहा छैन। यो प्रदेशको तहले समाधान गर्नसक्ने विषय रहेन,’ आन्दोलनरत किराँत याक्थुङ चुम्लुङका केन्द्रीय अध्यक्ष प्रेम येक्तेनले भने, ‘सबै विषय केन्द्रसँग जोडिएको छ। यो (वार्ता) केन्द्रको कुरा (विषय) रहन् ।’ आन्दोलन र दमनको सबै विषय केन्द्रसँग जोडिएका कारण प्रदेशसँग वार्ता नगर्ने उनले बताए।
 
केबलकार निर्माणको अधिकारदेखि त्यसको विरोधमा आन्दोलन हुँदा गोली चलाउन आदेश दिने तथा मानव अधिकार उल्लंघनलगायतका विषय केन्द्रसँग जोडिएको येक्तेनले बताए। उनले केन्द्र सरकारसँग मात्रै वार्ता हुने स्पष्ट पारे।
 
‘केन्द्रले वार्ता गर्नुपर्छ। नत्र हामी सशक्त आन्दोलन गर्छौं। प्रदेश सरकारसँग अहिले वार्ता गर्न सकिएन,’ उनले भने, ‘प्रदेशबाट यो विषयमा निर्णय हुन सक्छजस्तो लागेन। हामीलाई सिफारिस तहको ‘डाइलग’ चाहिएको होइन। प्रदेशले आह्वान गरेको वार्तामा सकारात्मक हुन सकेका छैनौं।’ प्रदेशको नामकरणपछि उत्पन्न विवादलाई लिएर यसअघि पनि प्रदेश सरकारले पहिचान पक्षधरसँग वार्ता गरेको थियो।
 
प्रदेशको नाम ‘कोशी’ राखिएपछि पहिचान पक्षधर आन्दोलित छन्। प्रदेश सरकारले गत मंसिर २४ गते आर्थिक मामिला तथा योजनामन्त्री रामबहादुर रानाको संयोजकत्वमा भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राई, तत्कालीन आन्तरिक मामिला तथा कानुनमन्त्री लिलाबल्लभ अधिकारी (हालका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारी) र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव कमलबहादुर थापासहितको वार्ता टोली बनाएको थियो। 

सो टोलीले मंगलबार पहिचान पक्षधरलाई वार्तामा आउन आह्वान गरेको हो। मन्त्री भण्डारी पाथीभरा केबलकार प्रदेशभित्रको विषय भएकाले वार्ताका लागि आह्वान गरिएको बताउँछन्। केन्द्रसँग समन्वय गरेर वार्ता आह्वान गरिएको बताउँदै उनले केन्द्रले गर्नुपर्ने विषयमा प्रदेश सरकारले समन्वयन गर्ने जानकारी दिए।


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.