४२ हजार उपभोक्ता समितिलाई ध्यान दिएर बजेट बनाउँछौं : खानेपानी मन्त्री यादव
सिन्धुपाल्चोक : खानेपानीमन्त्री प्रदीप यादवले आगामी आर्थिक वर्षको खानेपानीको बजेट कसैको पनि दबाब, धाँधलीमा नभई खानेपानी तथा सरसफाइ उपभोक्ता समिति र नागरिकको राय सुझावमा बन्ने बताएका छन्।
सिन्धुपाल्चोक, चौतारास्थित जुगल थालखर्क होल्चे खानेपानी मूल उपभोक्ता तथा सरसफाइ समितिद्वारा सञ्चालित चौतारा खानेपानी गुणस्तर आयोजनाको नवनिर्मित भवन तथा गुणस्तरीय खानेपानी प्रशोधन केन्द्रको उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री यादवले देशभरिका करिब ४२ हजार उपभोक्ता समितिलाई ध्यान दिएर बजेट बनाउने बताए। 'कसैको धाधलीमा, दबाबमा बजेट बन्ने छैन। खानेपानीको समस्या उपभोक्ता समिति जति सकैले पनि बुझन सकेको छैन। उपभोक्ता समितिको राय, सल्लाह र सुझावमा मात्रै हामीले खानेपानीको बजेट बनाउने छौं,' उनले भने।
खानेपानी नागरिकको मौलिक हक भएकाले आम नेपाली नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु सरकारको प्रमुख जिम्मेवारी एवम् दायित्व भएकाले खानेपानीका क्षेत्रमा उपभोक्ताबाट लिइदै आएका करहरूलाई पनि अन्त गरिने उनले बताए। 'खानेपानी र सरसफाइ: हाम्रो प्राथमिक आवश्यकता हो। नागरिकलाई सुरक्षित र सुलभ खानेपानी उपलब्ध गराउनु हाम्रो जिम्मेवारी हो। हाम्रै नागरिकले प्रयोग गर्ने पानीबाट सरकारले कर लिने विषय राम्रो होइन,' उनले भने।
आगामी आर्थिक वर्षको बजेटमा सिन्धुपाल्चोक जिल्लामा खानेपानीको क्षेत्रमा राम्रो बजेट विनियोजन गराउनेसमेत मन्त्री यादवले प्रतिबद्धता जनाए। देशका हिमाल, पहाड, र तराईका विभिन्न क्षेत्रमा देखा परेका खानेपानीका समस्या समाधान गर्न आफूसहित सम्पूर्ण मन्त्रालयको टोली अहोरात्र खटिएको मन्त्री यादवले दाबी गरे। उनले भने, 'सिन्धुपोल्चोकसहित देशभरिमा रहेका खानेपानीका समस्या समाधान गर्नका लागि हाम्रो टोली अहोरात्र खटिएको छ। खानेपानी समस्या दीर्घकालीनरूपमा समाधान गर्दै शुद्ध र स्वच्छ पानी वितरण गर्नु हाम्रो प्रमुख लक्ष्य र उद्देश्य रहेको छ।'
सोही कार्यक्रममा बोल्दै मन्त्री यादवले एक वर्षभित्र २७ प्रतिशत शुद्ध खानेपानीको उपलब्धता ५७ प्रतिशतसम्म पुर्याउने लक्ष्यसहित काम भइरहेको बताए। 'दुर्गम क्षेत्रमा रहेका दाजुभाइ-दिदीबहिनीहरूले बोकेर पानी खानुपर्ने अवस्थाको अन्त्य गर्न लागि परेको छु। दातृ निकायको सहकार्यमा म यसको अन्त्य गर्छु,' उनले भने। आज उद्घाटन गरिएको उक्त आयोजनाले चौतारा साँगाचोकगढी नगरपालिका लगायत आसपासका क्षेत्रका नागरिकहरूको जीवनस्तर सुधार गर्ने एव विशेष गरी, सुरक्षित र प्रशोधित खानेपानी उपलब्ध गराएर स्वास्थ्य सरसफाइ, र समग्र जीवनस्तरमा गुणात्मक परिवर्तन ल्याउनेछ भन्ने आफ्नो दृढ विश्वास रहेको मन्त्री यादवले बताए।
प्रतिक्रिया दिनुहोस !