सुरक्षित कारोबार विधेयक प्रतिनिधिसभाबाट पारित
काठमाडौं : सुरक्षित कारोबार (पहिलो संशोधन) विधेयक, २०८१ प्रतिनिधिसभाबाट सर्वसम्मत पारित भएको छ। सोमबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधेयक पारितसम्बन्धी प्रस्ताव सर्वसम्मत पारित भएको हो।
त्यसअघि विधेयकमाथिको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिँदै अर्थमन्त्री पौडेलले विधेयकमा भएका व्यवस्थाहरूको कार्यान्वयनबाट चल सम्पत्तिको धितोमा हुने कारोबार सुरक्षित र व्यवस्थित भइ चल सम्पत्ति उपरको दायित्व परिपालना हुने विश्वास व्यक्त गरे। त्यस्तै चल सम्पत्तिको धितोमा हुने आर्थिक क्रियाकलाप बढोत्तरी हुने अपेक्षा लिइएको उनले बताए। उनले विधेयकमा भएका व्यवस्थालाई कार्यान्वयन गर्न सरकार प्रतिबद्ध रहेको समेत उल्लेख गरे।
बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीका तर्फबाट सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले प्राकृतिक स्रोत तथा वित्त आयोगको वार्षिक प्रतिवेदन २०८०/०८१ पेस गरेका थिए। प्रतिनिधिसभाको अर्को बैठक मंगलबार बोलाइएको छ।
प्रतिक्रिया दिनुहोस !