सुप्रिम सहकारी ठगी प्रकरण : छविलाल जोशीलाई थुनामा पठाउने आदेश
भैरहवा : रुपन्देहीको बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा नेपाल प्रहरीका पूर्व डीआइजी छविलाल जोशीलाई पुर्पक्षका लागि थुनामा पठाउने अदालतले आदेश गरेको छ।
जिल्ला अदालत रुपन्देहीका न्यायाधीश वशिष्ट कुमार घिमिरेको इजलासले पूर्पक्षका लागि थुनामा पठाउने आदेश गरेको जिल्ला अदालत रुपन्देहीका श्रेष्तेदार यज्ञमूर्ति ज्ञवालीलले बताए।
‘मुद्दाका प्रतिवादी रहेका जोशी सोमबार अदालतमा उपस्थित भएका थिए’, उनले भने, 'थुनछेक बहसपछि कसुर नगरेको विश्वास गर्नुपर्ने मनसबि आधार नदेखिँदा पछि ठहरे बमोजिम हुने गरी अहिलेलाई उनलाई थुनामा पठाउने आदेश भएको छ।’
थुनछेक बहसमा वादी (पीडित)को तर्फबाट जिल्ला सरकारी वकिल कार्यालय रुपन्देहीका जिल्ला न्यायाधीवक्ता प्रेमराज पौडेल, सह न्यायधीवक्ता गोकर्ण घिमिरे र प्रतिवादीको तर्फबाट मनोजकुमार चौधरीलगायतले बहस गरेका थिए।
जिल्ला अदालत रुपन्देहीमा गोर्खा मिडिया नेटवर्कका अध्यक्ष गितेन्द्रबाबु (जिबी) राई, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं गोर्खा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशक रवि लामिछाने, पूर्व डीआईजी जोशी लगायत विरुद्ध सहकारीको रकम ठगी गरेको भन्दै अभियोग पत्र दर्ता भएको थियो।
यसअघि लामिछाने अदालतमा उपस्थित भएर थुनछेक बहस पछि आदेशअनुसार एक करोड रुपैयाँ धरौटी बुझाएर रिहा भएका थिए।
प्रतिक्रिया दिनुहोस !