गीतसंगीत, मन र मेडिसिन
मानव मस्तिष्कलाई विभिन्न भागमा छुट्टाछुट्टै नामकरण गरिएको छ। मस्तिष्कको अगाडिको भाग फ्रोन्टल लोब र कानभन्दा माथि साइडको भाग टेम्पोरल लोब हुन्। फ्रोन्टल लोब र टेम्पोरल लोब दायाँ र बायाँ गरेर दुईदुई वटा हुन्छन्।
मस्तिष्कको सबैभन्दा पछाडि र केही तलतिरको भागलाई सेरेबेलम भनिन्छ। मस्तिष्कको करिबकरिब बीचको भागलाई हाइपोथेलायस रहेको हुन्छ। जुन आकारमा सानो भए पनि धेरै नै महत्वपूर्ण अंग मानिन्छ। मस्तिष्कको कोषहरूलाई न्युरोन्स भनिन्छ। मानव मस्तिष्कमा एक सय अर्बभन्दा बढी कोषहरू हुन्छन्। यी कोषहरू ससाना नसाहरूले एकआपसमा जोडिएका हुन्छन्। न्युरो ट्रान्समिटरले मस्तिष्कको एक ठाउँबाट अर्को ठाउँमा सूचना वा सन्देश यिनै कनेक्सनबाट प्रवाह गर्छन्। गायकले गीत गाउँदा जुनजुन न्युरोन्सहरू सक्रिय हुन्छन, तिनीहरूबीचको आपसमा बलियो सम्बन्ध रहेको हुन्छ। यो सम्बन्ध जति बलियो हुन्छ, त्यति नै ती गीतहरू सजिलै गाउन सकिन्छ।
जति बढी अभ्यास ग¥यो त्यति गाउन सजिलो हुँदै जान्छ। गीत, संगीत, कला, साहित्यमा दाहिनेतर्फको मस्तिष्क बढी सक्रिय हुन्छ। त्यस्तै भाषा, विचार, बोली, गणितमा बायाँ मस्तिष्क चलायमान हुन्छ।
तनाव, चिन्तालगायत कतिपय अन्य मानसिक समस्याको उपचारका लागि पश्चिमी मुलुकहरूमा विभिन्न उपचारात्मक थेरापीको उपयोग हुँदै आएको छ। काउन्सेलिङ, साइको थेरापी, म्युजिक थेरापी, डान्स थेरापी, कग्निटिभ थेरापीलगायत विभिन्न किसिमका थेरापीको अपनाउन सकिन्छ। विभिन्न किसिमका थेरापीहरूले औषधिको प्रयोग नगरिकन पनि रोग निको पार्न सक्छन्।
म्युजिक थेरापी : मीठो संगीत सुनिरहेको व्यक्तिको डोपामिन भन्ने न्युरोट्रान्समिटर मस्तिष्कमा बढ्छ। डोपामिनको कार्य आनन्दको अनुभूति गराउने हो। एउटा अर्को हर्मोन अक्सिटोसिन पनि निस्कन्छ। यसलाई लभ हर्मोन पनि भनिन्छ। समूहमा बसेर गीत गाउँदा यही हर्मोन उत्पन्न हुन्छ। आधा घण्टा जति आफूलाई मनपर्ने गीतसंगीत ध्यान दिएर सुन्ने हो भने पनि मन प्रफुल्लित हुन्छ। 
रिल्याक्स गर्ने औषधि सेवन गरे बराबर काम गर्न सक्छ। यसमा पनि शास्त्रीय संगीत (क्लासिकल म्युजिक) ले अझ राम्रो प्रभाव पार्न सक्छ। शास्त्रीय संगीतसुन्दा रक्तचाप, मुटुको गति र शरीरको दुखाइ विस्तारै घट्छ। डिप्रेसनका बिरामीलाई म्युजिक थेरापीले फाइदा पुग्छ। संगीत सुन्ने बानीले डिप्रेसन कम हुन्छ। सकारात्मक सोंच आउँछ। मन आनन्दित हुन्छ। मस्तिष्कमा संगीतसँग सम्बन्धित भागहरूमा रक्तसञ्चारको सुधार हुन्छ।
डान्स थेरापी : डान्स थेरापीले शारीरिक व्यायामको लागि भरपूर सहयोग पुर्याउँछ। वजन घटाउन र फुर्तिलो बनाउन सहयोग पुग्छ। मनमा आनन्द दिने केही रासायनिक तत्त्वहरू पनि मस्तिष्कबाट उत्पन्न हुन्छ। मन रिल्याक्स हुन्छ। रोगसँग लड्ने क्षमतामा वृद्धि हुन्छ। मांसपेशी मजबुत हुन्छ।
प्रतिक्रिया दिनुहोस !