कहाँ अल्झियो केयू उपकुलपति चयन ?

कहाँ अल्झियो केयू उपकुलपति चयन ?
सुन्नुहोस्

काठमाडौं : काठमाडौं विश्वविद्यालयको उपकुलपति चयन प्रक्रिया सकसमा परेको छ। निवर्तमान उपकुलपति प्रा.डा.भोला थापाको पहिलो चारवर्षे कार्यकाल माघ ६ गते सकिएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीले नै अघिल्लो कार्यकालमा २०७७ साल माघ ७ गते थापालाई उपकुलपति नियुक्त गरेका थिए।

यसका लागि मंसिर २९ गते सरकारले काठमाडौं विश्वविद्यालयका संस्थापक उपकुलपति प्रा.डा. सुरेशराज शर्माको नेतृत्वमा छनोट समिति बनाएको थियो। समितिमा प्रा.डा. अर्जुन कार्की र पूर्वशिक्षासचिव जनार्दन नेपाल सदस्य छन्। तर अढाई महिनासम्म पनि यो समितिले उपकुलपति चयन गर्न सकेको छैन। रिक्त भएको डेढ महिना हुन लागिसकेको छ।

उपकुलपतिमा इच्छा जाहेर गर्दै १७ जनाले आवेदन दिएकामा १६ जनाको नाम स्वीकृत भएको छ। छनोट समितिले त्यसबाट तीन जनाको नाम सिफारिस गर्नुपर्नेमा सकस परिरहेको हो।

यसमा ढिलाइ भएकामा तीमध्ये ८ जनाले प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीलाई गुहार्दै प्रक्रिया यथाशीघ्र टुंग्याउन आग्रह गरेका छन्। सरकार गुहार्ने उपकुलपतिका उम्मेदवारमा प्रा.डा. बालचन्द्र लुइँटेल, प्रा.डा.हरिप्रसाद न्यौपाने, प्रा.डा.कन्हैया झा, प्रा.डा. विभूतिरञ्जन झा,  प्रा.डा. वेदमणि दाहाल, प्रा.डा.श्यामनारायण लाभ, प्रा.डा. बिमप्रसाद श्रेष्ठ, प्रा.डा. धीरज गिरी छन्।

त्यस्तै, विश्वविद्यालयका १३ पदाधिकारीले संयुक्त रूपमा पत्र पठाएर उपकुलपति सिफारिस प्रक्रिया छिटो टुंग्याउन माग गरेका छन्। पत्र पठाउनेहरूमा स्कुल अफ एजुकेसनका डिन प्रा.डा. बालचन्द्र लुइँटेल, एसोसिएट डिनद्वय प्रा.डा. प्रकाशचन्द्र भट्टराई र प्रा.डा. हेमराज काफ्ले, स्कुल अफ आर्टस्का कायममुकायम डिन एक्कुमाया पुन, एसोसिएट डिन डा. उद्धव प्याकुरेल, स्कुल अफ म्यानेजमेन्टका डिन प्रा.डा. विजय केसी, एसोसिएट डिन डा. खगेन्द्र आचार्य छन्। पत्रमा स्कुल अफ मेडिकल साइन्सेज डिन प्रा.डा. मनोज हुमागाईं, स्कुल अफ साइन्सका कायममुकायम डिन प्रा.डा. उज्ज्वलमान जोशी, स्कुल अफ लका डिन प्रा.डा. ऋशिकेश वाग्ले, एसोसिएट डिन डा. शिवकुमार गिरी र स्कुल अफ इन्जिनियरिङका एसोसिएट डिनद्वय डा. श्यामसुन्दर खड्का र प्रा.डा. बालकृष्ण बलको पनि हस्ताक्षर छ। उनीहरूले समिति आफैंले स्वीकृत गरेको प्रक्रिया र मापदण्डमा आधारित भई तीन जनाको नाम यथाशीघ्र सिफारिस हुनेमा आशा देखाएका छन्।

काठमाडौं विश्वविद्यालय स्थापनाको ३३ वर्ष पूरा भएको छ। संस्थापक उपकुलपति शर्मा लगातार चार कार्यकाल र डा. रामकण्ठ माकाजू लगातार दुई कार्यकाल उपकुलपति भएका थिए। डा. थापा एक कार्यकाल उपकुलपति भए। हाल कामु उपकुलपतिका रूपमा रजिस्टार डा. अच्युत वाग्ले छन्। डा. थापा र डा. वाग्ले पनि उपकुलपतिको प्रतिस्पर्धामा छन्।
 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.