एमालेसँग एकताको च्याप्टर क्लोज भएको छैन : वामदेव गौतम
काठमाडौं : कम्युनिष्ट पार्टी एकता राष्ट्रिय अभियानका संयोजक वामदेव गौतमले एमालेसँगको एकताको च्याप्टर क्लोज भइनसकेको बताएका छन्।
शुक्रबार संसद भवनमा सञ्चारकर्मीसँग कुरा गर्दै गौतमले एमाले अध्यक्ष केपी ओलीले बोलाए आफू वार्ता गर्न जाने भन्दै एकताको च्याप्टर क्लोज भइनसकेको बताए। एमाले केन्द्रीय कमिटीले निर्णय गरेर एकता गर्ने निर्णय गरे आफू एमालेमा जाने उनले बताए। त्यसका लागि सम्मानजनक जिम्मेवारी दिनुपर्ने उनको भनाइ छ।
उनले नेपालको कम्युनिष्ट पार्टीहरूलाई एकता गर्ने आफ्नो अभियानलाई निरन्तर अघि बढाउने उल्लेख गरे। आफ्नो अभियानमा रहेका सदस्यहरूले एमालेमा समाहित हुन इच्छा देखाएकाले आफूले त्यहीअनुसार छलफलमात्रै गरेको उनले बताए। गौतमले केही समयअघि माधव नेपालसँग पनि छलफल भएको तर एकताबारे भने कुनै निर्णय नभएको जानकारी दिए।
प्रतिक्रिया दिनुहोस !