राजा सलबलाउँदै गर्दा के भन्थे जननेता मदन भण्डारी? (अडियोसहित)

राजा सलबलाउँदै गर्दा के भन्थे जननेता मदन भण्डारी? (अडियोसहित)

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाहको गतिविधिले यतिबेला नेपालको राजनीति तरंगित बनेको छ। पूर्वराजाका समर्थकहरूले आइतबार काठमाडौंमा गरेको शक्ति प्रदर्शनले नेपालको राजनीति थप तरंगित बनाएको हो। 

पूर्वराजाको गतिविधि देखेर राजनीतिक दलका शीर्ष नेताहरूले विरोध गर्न थालेका छन्। उनीहरूले संसद र संसद बाहिर पनि राजाका विषयमा बोल्न थालेका हुन्। प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र ब्युँतने सपना नदेख्न आग्रह गरेका थिए। उनले मुलुकमा अब राजतन्त्र नफर्कने राजा पनि संविधानअनुसार चल्नुपर्ने बताएका थिए।

विपक्षी दलका नेतासमेत रहेका माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भने राजतन्त्रलाई प्रेतको संज्ञा दिएका थिए। नेपाली जनताको बलबाट गलहत्याइए सामन्ती प्रेतहरूले टाउको उठाउने प्रयास गरे जनताकै बलबाट समाप्त हुने चेतावनी उनले दिएका थिए।

माओवादीकाे एक महिने हुलाकी राजमार्ग केन्द्रित अभियान पनि यही कारण स्थगित भएकाे विश्लेषकहरू बताउँछन्। माओवादीले गत फागुन १२ गतेदेखि झापाको कचनकवलबाट उक्त अभियानको सुरु गरेको थियो। हुलाकी राजमार्ग केन्द्रित अभियान कञ्चनपुरमा गएर समापन हुने तय गरिएको थियो। तर, रौतहटको गरुडामा पुगेर माओवादीको उक्त अभियान स्थगित भएको थियो।

राजतन्त्रका बारेमा चर्को बहस भइरहेका बेला कम्युनिस्ट एवं जननेता स्वर्गीय मदन भण्डारीको अभिव्यक्ति सान्दर्भिक हुनसक्छ। उनले त्यतिबेलाका राजालाई श्रीपेच उतारेर राजनीतिक मैदानमा उत्रिन आह्वान गरेका थिए। उनले राजालाई आफूहरूसँग प्रतिस्पर्धा गर्न सुझाएका थिए।

यस्तो थियो मदन भण्डारीको वक्तव्य
राजा एउटा शक्ति हो र कम्युनिष्ट अर्को शक्ति हो । अनि त्यसमा के त्यस्तै नियतिले निश्चित गरेको छ कि हामीले नै राजाप्रति जम्लाहा हात गरेर उभिनु परोस् र राजाले चाहिँ हामीसँग जम्लाहा हात गर्नु नपरोस्। त्यसो हुँदा यो पारस्परिक सवाल हो। अहिले त राजाले पनि हामीलाई समाप्त पार्न चाहेका थिए, सकेनन्। सकेको भए राजाले हामीलाई यस ढंगले मैदानमा आउन दिने थिएनन्। धेरै त उनले समाप्त पनि पारे र कुनै पनि फटाहाले राजाको अनुकम्पाद्वारा यो प्रजातन्त्र आएको छ भनेर प्रचार गर्छ भने गर्दै रहोस्। चैत २७ गते गिरिजाबाबुको पनि त्यस्तै भनाइ थियो।

तर पनि दुनियाँलाई थाहा छ कि२०४६ साल फागुन ७ गतेदेखि चैत २६ गतेसम्म यहाँ सयौं आन्दोलनकारीहरू जुन हताहत हुनुपर्‍यो, त्यो अरू कसैको आदेशले होइन, त्यो मरिचमानको कुनै त्यस्तो बुता थिएन कि मान्छे मार्न आँट गरोस् त्यसले। त्यो त महाराजाको कृपा हो भन, यत्रो घोडामा सवार भएर, मदले मात्तिएर, आँखा चिम्लिएर तीस हजारभन्दा बढ्ता मान्छेहरू मारेर भए पनि पञ्चायतलाई जोगाउनुपर्छ भनेर भन्ने महाराज र महारानीहरू घोडाबाट ओर्लिएर आन्दोलनकारीहरूसँग सम्झैता गर्न आउनुपर्‍यो। महाराजले, बादशाहले घोडाबाट ओर्लिएर जम्लाहा हात गर्नुपर्‍यो। 

त्यसो हुँदा यो अनुकम्पाले आएको प्रजातन्त्र होइन र अब पनि यो थाहा पाएर केही बिग्रिँदैन। तर मैले भन्न खोजेको कुरा के हो भने यो बाध्यताको कुरा हो की हामीले यसबेला राजासँग सम्झौता गर्नुपर्‍यो र अब यो बाध्यतापूर्वक नै सम्झौता गरिए, भए पनि हामी फेरि वचनबद्धताप्रति इमानदार भएर उभिन चाहन्छौं। 

मान-सम्मानलाई उपभोग गर्दै किनारामा बसिबक्स्योस् महाराज। हात नलम्काइबक्स्योस्। आँखा नचम्काइबक्स्योस्। आफ्ना सण्डमुण्डहरूलाई नचलाइबक्स्योस्। र, यदि सण्डमुण्डहरूलाई नै चलाउने हो भने, यदि सण्डमुण्डहरूलाई नै अगाडि लिएर आउने हो भने महाराजले पनि श्रीपेच उतारेर, सिंहासनमा राखेर, मैदानमा नेता भएर आउनुपर्‍यो ताकि प्रतिद्वन्द्विता गर्न सकियोस्। यसो भएको हुनाले यो त बाध्यताको कुरा हो र यदि अघि मैले अनुरोध गरें, यहाँहरूसँग कि राजासँग प्रश्न गर्ने हो भने मलाई लाग्छ, शायद राजाले पनि भन्नेछन् कि यो त एउटा बाध्यताको कुरा हो, म त कहाँ कम्युनिष्ट मान्छु र? यसो हुनाले यो पारस्परिक कुरा हो।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.