विराट गोल्डकप : उपाधिका लागि चर्च ब्वाइज र थ्रीस्टार भिड्दै
विराटनगर : विराट गोल्डकप फुटबल प्रतियोगिताको नवौं संस्करणको फाइनलमा चर्च ब्वाइज युनाइटेड र थ्रीस्टार क्लबबीच बुधबार प्रतिस्पर्धा हुँदैछ।
दुवै टोली विराटनगरको सहिद रंगशालाबाट उपाधि उचालेर प्रतियोगिताको नवौं संस्करण सुखद् हिसाबले समापन भएको सन्देश दिन चाहन्छन्। सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज पहिलोपटक विराट गोल्डकपको फाइनलमा पुगेको हो। ‘लिग लिडर’ चर्च ब्वाइज सेमिफाइनलमा विभागीय टोली नेपाल पुलिस क्लबमाथि १–० गोल अन्तरले हाबी हुँदै उपाधि होडमा पुग्न सफल भएको हो। पहिलोपटक उपाधि जित्ने लक्ष्यमा रहेको उसले क्वाटरफाइनलमा एनआरटीलाई २–० ले निराश बनाएको थियो।
थ्रीस्टार दोस्रोपटक विराट गोल्डकपको उपाधि उचाल्ने योजनामा छ। थ्रीस्टार पनि सेमिफाइनलमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–२ गोल अन्तरले पाखा लगाउँदै उपाधिनजिक पुगेको टिम हो। थ्रीस्टारले क्वाटरफाइनलमा मच्छिन्द्र क्लबलाई २–१ गोल अन्तरले स्तब्ध बनाएको थियो।
प्रतियोगिताको अन्तिम प्रतिस्पर्धाका लागि मैदानमा उत्रने तयारीमा रहेका दुवै टोली उपाधि हत्याउन भने आत्मविश्वासी देखिएका छन्। गोल्डकपको फाइनल खेल बुधबार साँझ ६:३० बजेपछि सुरु हुने आयोजकले जनाएको छ। दुवै टिम यो सिजनमा उपाधि रक्षाका लागि पहिलोपटक आमनेसामने हुन लागेका हुन्।
चर्च ब्वाइज त्यसै पनि लिग विजेता टिम हो। विराट गोल्डकपमा एनआरटी र पुलिस क्लबजस्ता सशक्त टिमको चुनौती पन्छाउँदै अघि बढेको चर्चका खेलाडीको मनोबल उच्च देखिन्छ। मच्छिन्द्र र आर्मीलाई पाखा लगाएर अघि बढेको थ्रीस्टारका खेलाडी पनि दोस्रोपटक गोल्डकप उचालेर इतिहास रच्ने दाउमा छन्। थ्रीस्टार पाँचौं संस्करणको विराट गोल्डकप विजेता हो। त्यतिबेला आर्मीलाई ३–० गोल अन्तरले हराउँदै गोल्डकप च्याम्पियन बनेको थियो।
सिजनका ४ वटा गोल्डकपको उपाधि जित्ने योजनासाथ चर्च ब्वाइज विराट गोल्डकपको फाइनलमा मैदान प्रवेश गर्दै छ। सिजनमा ९ वटा प्रतियोगितामा भाग लिएको चर्च ब्वाइजले ६ वटाको फाइनल खेलिसकेको छ। ३ वटाको उपाधि उचाल्न सफल हुँदा ३ वटाको उपविजेतामा सीमित भयो। चर्च ब्वाइजले सिजनमा पाँचथरको फागुनन्द, झापा कप र बागमती गोल्डकपको उपाधि जितेको हो।
थ्रीस्टार भने सिजनका आहारारा र बागमती गोल्डकप तथा केपी ओली कप लगायतका ५ वटा प्रतियोगितामा मात्रै सहभागी बन्यो। तर, सेमिफाइनलबाटै बाहिरियो। कुनै पनि प्रतियोगितामा फाइनल पुग्न सकेन। थ्रीस्टार विराट गोल्डकपमा सिजनकै पहिलोपटक फाइनल यात्रा तय गर्न सफल भएको हो।
सहिद रंगशालमा मंगलबार भएको ‘प्री–म्याच कन्फ्रेन्स’मा दुवै टिमका प्रशिक्षक र कप्तानले उपाधि जित्नकै लागि खेल्ने बताए। चर्च ब्वाइजका प्रशिक्षक सुमन श्रेष्ठले विराट गोल्डकपमा पहिलोपटक फाइनलमा पुगेको बताउँदै टिमको लक्ष्य उपाधि जित्नु रहेको उल्लेख गरे।
‘यो सिजनमा हामीले मोफसलमा भएको ३ वटा गोल्डकपको उपाधि जितेका छौं। विराट गोल्डकपको फाइनलमा पुगेका छौं। उपाधि उचालेर इतिहास रच्ने हाम्रो लक्ष्य छ। विराट गोल्डकपसहित सिजनमा ४ वटाको उपाधि भित्र्याउन चाहन्छौं। जसरी पनि जित्ने गरी खेल्छौं,’ प्रशिक्षक श्रेष्ठले भने।
चर्च ब्वाइजका कप्तान एकराज बुढाथोकीले घरेलु दर्शकको साथ र हौसलाले उपाधि जित्ने दाबी गरे। पहिलोपटक फाइनलमा पुग्नु उपलब्धि भएको भन्दै उनले उपाधि जित्ने विश्वास व्यक्त गरे। ‘थ्रीस्टार पनि राम्रो टिम हो। उपाधि कब्जा गर्ने एक मात्रै लक्ष्यसाथ फाइनलमा हामी ‘टेक्निकल’ खेल प्रदर्शन गर्नेछौं,’ बुढाथोकीले भने।
थ्रीस्टारका प्रशिक्षक गणेश खड्काले मोफसलमा हुने प्रतिष्ठित विराट गोल्डकपको उपाधि उचाल्न फाइनलमा उत्कृष्ट प्रदर्शन गरिने बताए। तर, थ्रीस्टारका लागि मैदानमा कप्तान योगेश गुरुङको अभाव खड्किने छ। यसअघि २ वटा पहेंलो कार्ड पाएका कारण गुरुङले फाइनल खेल गुमाउने छन्। कसको कप्तानीमा मैदानमा जाने भनेर थ्रीस्टारले सार्वजनिक गरेको छैन।
‘फाइनलमा हामीले कप्तान योगेश गुरुङलाई धेरै ‘मिस’ गर्नेछौं। ‘डबल यल्लो कार्ड’ पाएकाले फाइनलमा योगेशको खेल हेर्न पाउने छैनौं। तर, पनि हामी उत्कृष्ट खेलाडी ल्याउनेछौं,’ प्रशिक्षक खड्काले भने। उनले भने, ‘अहिले हामी ‘टिम वर्क’ र छलफलमा छौं। कप्तानको विषय खेलअघि मात्रै थाहा हुन्छ। अहिल्यै टुंगो लागिसकेको छैन।’
कप्तान गुरुङ फाइनलमा आफूले मैदान प्रवेश गर्न नपाए पनि राम्रो ‘टिम वर्क’का कारण उपाधि थ्रीस्टारले जित्ने दाबी गर्छन्। प्रतिस्पर्धी टिम बलियो भए पनि रणनीति अनुरूप खेल्दै टिमले उपाधि जित्नेमा ढुक्क रहेको उनले बताए।
फागुन १९ गतेबाट सुरु भएको गोल्डकपमा २ विदेशीसहित १० टिमको सहभागिता रहेको थियो। प्रतियोगितामा पुरस्कारबापत विजेताले ११ लाख र उपविजेताले ५ लाख रुपैयाँ नगद पाउने छन्। सर्वोत्कृष्ट खेलाडीलाई ५१ हजार तथा उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्तालाई १५/१५ हजार रुपैयाँ दिइने छ। दैनिक भएको खेलमा उत्कृष्ट खेलाडीले नगद ११ हजार पाएका थिए।
प्रतिक्रिया दिनुहोस !