जनतालाई उचालेर व्यवस्थामाथि प्रहार गर्न खोजिदै छ : गगन थापा
परासी : नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अहिले नागरिकमा देखिएको असन्तुष्टि आक्रोशमा परिणत भएको बताएका छन्। राजनीतिक दलप्रति नागरिकमा असन्तुष्टिसँगै आक्रोश बढेको र त्यही आक्रोशमा घ्यू थपेर व्यवस्थामाथि नै प्रहार गर्नका लागि केहीले दिवास्वप्न देखेको बताए।
नेपाली कांग्रेस नवलपरासी क्षेत्र नम्बर २ ‘क’ को प्रदेश सभा क्षेत्रीय समितिद्वारा बुधबार सुनवलमा आयोजित सम्मेलनमा बोल्दै महामन्त्री थापाले आक्रोशको प्रमुख कारण भ्रष्टचार भएकाले त्यसतर्फ राजनीतिक दल गम्भीर हुनुपर्ने उनको भनाइ थियो।
अहिले केही तत्त्वहरूले असन्तुष्ट जनतालाई अब देश बन्दैन भनेर निरास बनाउँदै व्यवस्थामाथि नै प्रहार गर्ने दिवास्वप्न देखेकाले त्यसका लागि नागरिकसँग संवाद थाल्न आवश्यक रहेको उनले बताए।
नागरिकमा सबैभन्दा बढी आक्रोश भ्रष्टचार बढेको र भ्रष्टचारीलाई कारबाही नभएको प्रति देखिएको भन्दै नेता थापाले त्यसतर्फ राजनीतिक दल गम्भीर हुनुपर्नेमा बताए। ‘अहिले अख्तियारले पनि छानिछानी मुद्दा लगाउने कार्य गरेको छ। लामो समयसम्म त्यस्ता मुद्दा टुंगो लागेका छैनन्। यसरी जनतामा आक्रोश बढ्दै गएको छ। अब अख्तियार र सरकारसँग चित्त नबुझे छुट्टै आयोग गठन गरेर भ्रष्टचार गर्ने कसैलाई पनि नछाडौं। नागरिकको आक्रोश कम हुन्छ,' उनले भने।
देशमा भएको राजनीतिक परिवर्तनपछि विकास निर्माणदेखि जनताको जीवनस्तर सुधार हुँदै गए पनि हामीले त्यसलाई बुझाउन नसक्दा जनतामा निराशा छाउनु स्वभाविक भएको उनको भनाइ छ। ‘०६२ सालमा जन्मेको बच्चा अहिले बुझ्ने भएको छ। त्यसअघिको नेपालीहरूको अवस्था कस्तो थियो र अहिले कस्तो थियो भन्ने बारे हामीले उसलाई बुझाउन सकेनौं र उनीहरूमा अहिलेको व्यवस्थामा निराशा छाउन थालेको छ। त्यसैले पहिला हामीले नागरिकसँग संवाद गरेर उनीहरूका समस्या बुझ्ने कोसिस गरौं,’ थापाले भने।
संघर्षबाट ल्याएको व्यवस्था र संविधानलाई पनि सुधार गरेर अघि बढ्नसक्ने भएकाले युवा समूहलाई अहिले सडकमा देखिने मनोरञ्जनमा नलाग्न उनले आग्रह गरे।
प्रतिक्रिया दिनुहोस !