थ्रीस्टार विराट गोल्डकप च्याम्पियन
विराटनगर : ‘लिग लिडर’ चर्च ब्वाइज युनाइटेडमाथि २–० गोल अन्तरले हाबी हुँदै थ्रीस्टार नवौं संस्करणको विराट गोल्डकप च्याम्पियन बनेको छ।
विराटनगरको सहिद रंगशालामा बुधबार राति सम्पन्न फाइनल खेलमा थ्रीस्टारसँग सहिद स्मारक ‘ए’ डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज निराश बन्यो। रोमाञ्चक खेलमा थ्रीस्टारका खेमराज श्रेष्ठ र दिपेश घलेले समान १–१ गोल गरे। थ्रीस्टारले सुरुवाती ५ मिनेटमै गोल गरेपछि चर्च ब्वाइज दबाबमा पर्यो।
नवीन लामाको सहयोगमा खेमराजले चलाखीपूर्ण ढंगले बललाई पोस्टको दिशा दिँदा चर्च ब्वाइजलाई सम्हालिन गाह्रो भयो। ६३ औं मिनेटमा दिपेश घले ‘वान भर्सेस वान’को अवस्थामा सफल भए। चर्च ब्वाइजका गोलरक्षक टीकेन्द्र थापालाई लागेर फर्किएको बललाई उनले जाली चुमाए।
उपाधिसँगै थ्रीस्टारले नगद ११ लाख रूपैयाँ र ट्राफी प्राप्त गर्यो। उपविजेतामा खुम्चिएको चर्च ब्वाइज ५ लाख रूपैयाँमा चित्त बुझाउन बाध्य भयो। योसँगै थ्रीस्टार दोस्रोपटक विराट गोल्डकप विजेता बनेको छ। यसअघि पाँचौं संस्करणको उपाधि जित्दा उसले विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० गोलको फराकिलो अन्तरले पराजित गरेको थियो।
थ्रीस्टारको चुनौती पन्छाउन नसक्दा पहिलोपटक विराट गोल्डकपको उपाधि जित्ने चर्च ब्वाइजको लक्ष्य पूरा भएन। मैदानमा आक्रामक बने पनि विपक्षी बार भत्काउन नसक्दा चर्च ब्वाइज अभागी ठहरियो। पटकपटकको अवसर खेर जानु उसका लागि दुर्भाग्यपूर्ण बन्यो।
प्रतियोगिताको ‘म्यान अफ दी म्याच’ चर्चका कप्तान एकराज बुढाथोकी घोषित भए। उनले नगद ११ हजार पाए। उपाधि विजेता थ्रीस्टारले विधागत पुरस्कारमा पनि वर्चश्व जमाएको छ। उत्कृष्ट प्रशिक्षकमा थ्रीस्टारका गणेश खड्का, उत्कृष्ट गोलरक्षकमा थ्रीस्टारकै विवेक मगर र सर्वाधिक गोलकर्तामा थ्रीस्टारका दिपेश घले घोषित भए। घलेले प्रतियोगिताभरि २ गोल गरेका थिए।
उनीहरूले जनही नगद १५ हजार पाएका छन्। सर्वोत्कृष्ट खेलाडी थ्रीस्टारका खेमराज श्रेष्ठ घोषित भए। उनले पुरस्कारबापत नगद ५१ हजार रूपैयाँ प्राप्त गरे।
उपाधिनजिक पुग्ने क्रममा थ्रीस्टारले मच्छिन्द्रलाई २–१ र विभागीय टोली त्रिभुवन आर्मीलाई ३–२ अन्तरले हराएको हो। चर्च ब्वाइजले उपाधि होडमा पुग्नुअघि एनआरटीलाई २–० र विभागीय टिम नेपाल पुलिस क्लबलाई १–० गोल अन्तरले पाखा लगाएको थियो।
गोल्डकप फागुन १९ गतेबाट सुरु भएको थियो। प्रतियोगितामा भारतीय २ र ३ विभागीसहित नेपालका ८ गरेर १० वटा टिम सहभागी भए। विजेता टिम र खेलाडीलाई कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रदेशसभा सदस्य भीम पराजुली, विराटनगर महानगरपालिका मेयर नागेश कोइराला, विराट गोल्डकपका संयोजक नवीन रिजालगायतले पुरस्कार वितरण गरेका थिए।
प्रतिक्रिया दिनुहोस !