जलवायु परिवर्तनको असर कम गर्न सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री

जलवायु परिवर्तनको असर कम गर्न सामूहिक सहकार्य आवश्यक छ : परराष्ट्रमन्त्री
सुन्नुहोस्

काठमाडौं : परराष्ट्रमन्त्री आरजु राणा देउवाले जलवायु परिवर्तनले पारेको असरलाई गम्भीररूपमा लिएर यसको न्यूनीकरणका लागि सामूहिक सहकार्य गर्नुपर्ने बताएकी छन्। भारतको विदेश मन्त्रालयले नयाँ दिल्लीमा आयोजना गरेको राइसिना डायलगको जलवायु परिवर्तनसम्बन्धी सत्रलाई सम्बोधन गर्दै उनले विकासशील राष्ट्रहरूले जलवायु परिवर्तनको अकल्पनीय प्रभावहरूको अनुभव गरिरहेका र नेपाल यसको अग्रपंक्तिमा नै रहेको बताइन्।

मन्त्री राणाले जलवायु परिवर्तनको वर्तमान अवस्था र यसका कारण नेपालमा परेको असरका बारेमा आफ्नो अवस्था दर्शाउँदै यसकारण नेपालले जलवायु न्याय (क्लाइमेट जस्टिस) को मागलाई अन्तर्राष्ट्रियरूपमा उठाउँदै आएको पनि स्पष्ट गरिन्। उनले जलवायु परिवर्तनको असरले नेपालजस्ता हिमाल तथा पहाड भएका देशलाई मात्र नभएर सिंगो विश्वलाई नै असर गर्ने भएकाले सबै देशहरूले साझा एजेण्डाका साथ सामूहिक सहकार्य गर्नुपर्नेमा जोड दिइन्।

उनले जलवायु न्यायअन्तर्गत क्षतिपूर्तिको पक्षमा नेपाल रहेको बताउँदै उनले यसका लागि आवश्यक क्लाइमेट फाइनान्सिङका विषयमा अब ब्यापक मात्रामा छलफल हुनुपर्ने बताइन्। गत वर्षको सेप्टेम्बरमा जलवायु परिवर्तनको सबैभन्दा नराम्रो परिणामको नेपालले सामना गर्नुपरेको र भीषण वर्षाका कारण २५० भन्दा बढी मानिसको ज्यान जानुका साथै करिब ४५ अर्ब रुपैयाँ बराबरको क्षति ब्यहोर्नुपरेको उनको भनाइ थियो।

सो भीषण वर्षा र बाढीले पिउने पानी, सडक, ऊर्जा, सिँचाइ, पूर्वाधारहरू तथा कृषिसम्बन्धी पूर्वाधारमा ठूलो क्षति पुगेको मन्त्री राणाले बताइन्। उनले क्लाइमेट फाइनान्सिङका क्षेत्रमा अब नयाँ स्वरुपले सोच्नुपर्ने धारणा राखिन्। उनले भनिन्, 'अहिले विश्व नयाँ ढंगले अघि बढिरहेको छ। मलाई लाग्छ, अब परम्परागत दाताहरूबाट त्यसैगरी अनुदान तथा सहयोग नआउन पनि सक्छ। त्यसैले अब नयाँ ढंगले सोच्नुपर्ने बेला आएको छ।’

उनले यसका लागि राष्ट्रहरूले निजी क्षेत्रसँग पनि सहकार्य गरेर अघि बढ्न सकिने बताइन्। नेपालले विश्वको अन्य क्षेत्रको तुलनामा जलवायु परिवर्तनको असर अकल्पनीय रूपमा अनुभव गरिरहेको दृष्टान्त पेस गर्दै उनले नेपालका लागि थप क्षतिपूर्ति आवश्यक रहेको बताइन्। नेपाललाई वर्षा, बाढी पहिरो तथा अन्य प्राकृतिक प्रकोपको पूर्व सूचना आदिका क्षेत्रमा प्राविधिक सहयोग आवश्यक रहेको उनको भनाइ थियो। 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.