भारत सरकारद्वारा निर्मित विद्यालय भवनको उद्घाटन
काठमाडौं : भारत सरकारको सहयोगमा निर्मित मकवानपुरको जनकल्याण माध्यमिक विद्यालय भवनको उद्घाटन गरिएको छ।
‘नेपाल-भारत विकास सहयोग अन्तर्गत भारत सरकारको ३ करोड आर्थिक सहायतामा निर्मित नयाँ भवनको जिल्ला समन्वय समितिका प्रमुख ललितबहादुर घलान र काठमाडौंस्थित भारतीय राजदूतावासका प्रथम सचिव बशिष्ट नन्दनले संयुक्तरूपमा उद्घाटन गरे। विद्यालय भवन र अन्य सम्बद्ध सुविधाहरू थप गरिएको भारतीय दूतावासले जनाएको छ।
यो परियोजनालाई उच्च प्रभाव सामुदायिक विकास परियोजना (एचआइसीडीपी) को रूपमा लिइएको थियो र मकवानपुरको जिल्ला समन्वय समिति मार्फत कार्यान्वयन गरिएको दूतावासको भनाइ छ। कार्यक्रममा राजनीतिक प्रतिनिधिहरू, सरकारी अधिकारीहरू, सामाजिक कार्यकर्ता र विद्यालयका शिक्षकहरू उपस्थित थिए।
उनीहरूले भारत सरकारले गरिरहेको विकास सहयोगको प्रशंसा गरेका थिए। उनीहरूले निर्माण गरिएको पूर्वाधारले मकवानपुरको जन कल्याण माध्यमिक विद्यालयको विद्यार्थीहरूलाई राम्रो शिक्षा प्रदान गर्न उपयोगी हुने विश्वास व्यक्त गरेका थिए।
प्रतिक्रिया दिनुहोस !