बेशीसहरका नागरिकलाई अब २४ घन्टा शुद्ध खानेपानी : मन्त्री यादव
लमजुङ : खानेपानीमन्त्री प्रदीप यादवले लमजुङको बेसीशहरका नागरिकको खानेपानीको समस्या तत्कालका लागि अन्त भएको बताएका छन्। लमजुङको बेसीशहरस्थित सहलगानी खानेपानी तथा सरसफाइ आयोजनाको उद्घाटन तथा हस्तान्तरण समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले बेशीसहरमा देखिएको खानेपानीको समस्या समाधान गरिनुका साथै यहाँका नागरिकले बाह्रै महिना स्वच्छ खानेपानीको प्रयोग गर्न पाउने बताए।
'कुनै पनि समाजको समृद्धि स्वस्थ जीवनशैलीको आधार स्वच्छ पानी हो। तर, विगतमा लमजुङको बेसीशहर नगरपालिकाका नागरिकहरूले खानेपानी अभावका कारण दैनिक जीवनमा कठिनाइ भोग्नुपरेको थियो। पानीको अभावका कारण यहाँको बसाइ कठिन थियो। तर आजको दिनले यहाँ नयाँ युगको सुरुवात गरेको छ,' उनले भने।
उनले संघीय सरकार, उपभोक्ता समिति र स्थानीय समुदायको साझा प्रतिबद्धता, सहकार्य र परिश्रमको फलस्वरूप आज बेसीशहरमा यो महत्त्वपूर्ण सफलता हासिल गर्न सफल भएको भन्दै खुसी व्यक्त गरे। उनले भने, 'अब बेसीशहरका हजारौं नागरिकहरू निरन्तररूपमा शुद्ध, प्रशोधित र सुरक्षित खानेपानी सेवा प्राप्त गर्न सक्षम हुनेछन्। सरकार नागरिकको आधारभूत आवश्यकतालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ।'
प्रतिक्रिया दिनुहोस !