आगलागीले हिथ्रोमा १,३५१ उडान रद्द

आगलागीले हिथ्रोमा १,३५१ उडान रद्द
सुन्नुहोस्

लन्डन : संसारकै व्यस्त लन्डनस्थित हिथ्रो विमानस्थल आगलागीका कारण बन्द भएपछि हजारौं यात्रु प्रभावित भएका छन्। 

विमानस्थल नजिकैको एक इलेक्ट्रिकल सबस्टेसनमा आगलागी भएर विद्युत् आपूर्ति विच्छेद भएपछि शुक्रबार विमानस्थल पूर्णरूपमा बन्द गरियो। फ्लाइट ट्र्याकिङ वेबसाइटका अनुसार शुक्रबार हिथ्रो विमानस्थल बन्द हुँदा कम्तीमा १ हजार ३ सय ५१ उडान रद्द भए। विमानस्थल बन्द गरिने घोषणा गर्दा १ सय २० वटा जहाज आकाशमा अवतरणको तयारीमा रहेको जनाइएको छ।

हिथ्रो विमानस्थलले शुक्रबार एक वक्तव्य जारी गर्दै कम्तीमा दिनभर विमानस्थल बन्द रहने जानकारी गराएको थियो। विमानस्थल फेरि सञ्चालनमा आउन कति समय लाग्छ भन्ने यकिन भइसकेको छैन। विमानस्थल सुचारु भएकै अवस्थामा पनि थप केही दिनसम्म सेवा आंशिक रूपमा प्रभावित हुन सक्नेतर्फ हिथ्रोले सचेत गराएको छ। 

विमानस्थलका प्रवक्ताले एक विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘हाम्रा यात्रु र सहकर्मीहरूको सुरक्षा कायम राख्न हिथ्रोलाई २१ मार्च राति २३:५९ बजेसम्म बन्द राखिनेछ। हामीलाई थाहा छ यो यात्रुहरूका लागि पक्कै पनि निराशाजनक अवस्था हुनेछ। 

तर हामी यो परिस्थिति समाधान गर्न भरपूर प्रयास गरिरहेका छौं र यात्रुहरूलाई विमानस्थल नजान पनि आग्रह छ।’

विमानस्थलबाट करिब डेढ माइलको दूरीमा रहेको वेस्ट लन्डन हेजस्थित इलेक्ट्रिकल सबस्टेसनमा शुक्रबार राति आगलागी भएपछि विमानस्थलमा विद्युत् आपूर्ति विच्छेद भएको थियो।  

विद्युत् आपूर्ति विच्छेद भएर विमानस्थल पूर्ण रूपमा बन्द भएपछि हिथ्रोको पावर ब्याकअप सिस्टमबारे प्रश्न उठेको छ। तर अधिकारीहरूले विमानस्थलसँग ब्याकअप सिस्टम रहेको र त्यसलाई सञ्चालन गर्नकै लागि निश्चित समय लाग्ने भएकाले विमानस्थल बन्द गर्नु परेको बताएका छन्। 

विद्युत् आपूर्ति सुचारु भइसकेको अवस्थामा पनि कयौं सिस्टमहरू रिबुट गर्न र ती राम्रोसँग सञ्चालन भएको पक्का गर्न थप समय लाने उनीहरूको भनाइ छ। 

सबस्टेसनमा भएको आगलागीका कारण आसपासका झन्डै ५ हजार घर शुक्रबारसम्म विद्युतवहीन बनेका छन्।  बढी जोखिममा रहेका डेढ सय मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। विद्युत् आपूर्तिकर्ता स्कटिस एन्ड साउदर्न इलेक्ट्रिसिटी नेटवक्र्सले दिएको जानकारीअनुसार आगलागीका कारण १६ हजार बढी घरमा विद्युत् आपूर्ति बन्द भएको थियो।

संसारकै व्यस्त लन्डन हिथ्रो यूकेको सबैभन्दा ठूलो एयरपोर्ट हो। हिथ्रोमा प्रतिदिन १ हजार ३ सयभन्दा बढी उडान हुने गर्छन्। पछिल्लो तथ्यांकअनुसार गत एक वर्षमा मात्रै ८ करोड बढी यात्रुले विमानस्थल प्रयोग गरेका थिए।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.