समानता कि सम्मान ?
नेपालमा कुल जनसंख्याको आधाभन्दा बढी हिस्सा महिलाले ओगटेका छन्। नारी शक्ति एउटा त्यस्तो बहुरूप र शक्तिशाली स्वरूप हो, जसको माध्यमबाट सिंगो संसारको सृष्टि चलेको छ। अहिलेको नयाँ युगमा नारी पुरुषमा कुनै किसिमको विभेद हुनु हुँदैन भनेर अधिकारकर्मीहरूले भनिरहेका छन्। महिलाहरू चुलोचौकामा मात्र सीमित रहनुपर्ने बाध्यात्मक अवस्था अन्त्य भएको छ। यति हुँदाहुँदै पनि समाजले सकारात्मक रूपमा नारीलाई ग्रहण गर्ने सामथ्र्य भने राख्न सकेको छैन। विश्वभर फैलिएको नारी अस्तित्व र पहिचानको संघर्षको फलस्वरूप हाम्रो समाजमा पनि नारीसम्बन्धी पुरातन मान्यतामा परिवर्तन आएको छ। त्यसैले अबको पहिचानको खोजी समानताको होइन, सम्मानको हुनुपर्छ।
हिन्दु धर्मको प्रमुख ग्रन्थ वेदमा पनि महिलालाई भेदभाव हुने किसिमको कुनै कुरा उल्लेख गरिएको पाइँदैन। वैदिक कालमा महिलालाई पनि पुरुषसरह समान अधिकार प्राप्त थियो। उतिबेलाको समाजमा वेदविज्ञ महिलाहरूलाई ब्रह्मवादिनी भनिन्थ्यो। जहाँ नारीहरूको पूजा हुन्छ, त्यहाँ देवताहरू पनि रमाउँछन् भनेर शास्त्रहरूले पनि नारीको महिमा गाएका छन्। तर मध्ययुगमा सामन्ती प्रथाको उत्पति भएसँगै जसरी छुवाछुत प्रथाको सुरुआत भयो। त्यसैगरी, नारीप्रति पनि विभेद गरिन थालियो। धर्मशास्त्रको गलत व्याख्या गरी महिलाप्रतिको दृष्टिकोण नकरात्मक भएको भेदभाव मध्ययुगदेखि चलिआएको पाइन्छ। महिलाले पतिको मृत्युपछि सती जानुपर्ने, पुरुषले अर्की श्रीमती ल्याउन पाउने, महिलालाई सन्तान पैदा गर्ने साधनको रूपमा मात्रै लिने गरेको पाइन्छ। अझ छाउपडी प्रथा, अचल सम्पत्ति जायजेथा आदि पुरुषको नाममा मात्रै दर्ता हुने, छोरालाई स्कूलमा पठाउने तर छोरीलाई घरको काममा लगाउने, छोरीको विवाह गर्दा केटा पक्षले मागेजतिको दाइजो दिनैपर्ने बाध्यता, दिन नसके ज्यानै गुमाउनु पर्नेसम्मको पीडा आदि सबै मध्ययुगमा सामन्ती प्रथाको झल्को छँदै छ। यसकारण नारीलाई सम्मानको आवश्यकता छ। अबको समाज पहिलाको जस्तो हुनुहुँदैन। नारी–पुरुष उस्तै छन्, पुरुषले गर्ने काम महिलाले पनि गरेका छन्। महिला केवल घरधन्दामा मात्र सीमित छैनन्। नेपालको संविधानको धारा १७ मा स्वतन्त्रताको हकको व्यवस्था गरिएको छ तर अझै पनि कैयौं निर्दोष बालिका, किशोरी तथा महिला समाजमा हिंसाको सिकार भइरहनुपरेको छ।
महिलामाथि हत्या, बलात्कार, यौन दुव्र्यवहार, अपहरण, बेचबिखन, कुटपिट, आगो लगाउने, विष खुवाउने, एसिड खन्याएर कुरूप बनाउने, दैनिक घरव्यवहारमा भेदभाव गर्ने, अधिकारबाट वञ्चित गर्ने–गराउने र आत्मसम्मानमा चोट पुर्याउनेजस्ता घटना भइरहेका छन्। हाम्रो समाजमा छोरीलाई पटक–पटक नैतिकताको पाठ पढाइन्छ तर छोरालाई भने ‘छोरो मान्छे हो’ भन्ने परिपाटी कायमै छ। महिला महिलाको ठाउँमा र पुरुष पुरुषको ठाउँमा उत्तिकै महत्वपूर्ण छन्। यस्तो विभेदलाई समाजले नै निर्माण गरेको हो। महिलाहरू कार्यकौशलमा पुरुषको तुलनामा कम होइन, बढी नै देखिन्छ। महिलाहरूले घरभित्र र बाहिरको दोहोरो जिम्मेवारी कुशलतापूर्वक पूरा गरिरहेका छन् । यतिमात्र होइन, कतिपय महिला त सामाजिक जीवनका विशिष्ट स्थानमा पनि पुगेका छन् ।
अझ भन्ने हो भने महिला र पुरुष समान हुन्छन् भन्ने मान्यता नै कतै गलत त होइन ? महिला पुरुषभन्दा धेरै अगाडि छन्। सन्तान जन्माउने, हुर्काउनेदेखि, कति कठिनाइ झेलेर घरपरिवार व्यवस्थापन गर्ने अनि आफ्नो कार्यक्षेत्रमा दरो तरिकाले उत्रिएका र आफ्नो पेसामा सधैं अगाडि नै हुने महिला पनि छन्। राज्यले पनि कानुनी, नीतिगत एवं कार्यान्वयनमा संरचनागत व्यवस्था गरेको छ। महिला हिंसा नियन्त्रण गर्ने पहल कदमी थालेको छ। तर उच्च तह र तहमा महिलाको प्रतिनिधित्व सुनिश्चित गर्ने समाजमा महिलाको स्तर र जीवनयापनमा सुख एवं सुरक्षित अनुभूति गर्न सकिनेगरी समाज र परिस्थितिले काँचुली फेर्न भने सकेको छैन। त्यसैले आजको आवश्यक्ता सम्मानको हो।
नारी सम्मान त्यतिखेर हुन्छ, जतिबेला नारीले स्वतन्त्र र स्वाधीन भएर बाँच्न सक्छिन्। नारी अस्मिता र पहिचानको खोजी गर्दै आफ्नो क्षमता र श्रमको व्यापार गर्न सक्छन्। समाजमा पुँजीवादी अर्थतन्त्र कायम नै छ। विज्ञापनका नाममा कतिपय परिवेशमा नारीलाई वस्तुका रूपमा प्रदर्शन र व्यापार गर्दै आइरहेको अवस्था पनि छ। महिला उपभोक्ता नै नभएका र महिलाको सम्बन्ध नै नभएका वस्तुको प्रचारका लागि पनि महिलाले स्वेच्छाले वा बाध्यताले आफ्नो सौन्दर्य प्रदर्शन गर्नुले पनि नारी अस्मिता र पहिचानको खोजीमा बाधा पर्ने अवस्था आउन सक्छ। नारीहरूले आफ्नो क्षमता र श्रमको व्यापार गर्नुपर्छ तर शरीर र सौन्दर्यको होइन। त्यसैले सभ्रान्तवादी महिलाले अझै महिला बेचबिखन तथा विज्ञापन र अश्लील सामग्रीहरूमा उनीहरूको प्रयोगको खुलेर विरोध गर्न सकून्। देहव्यापार तथा देह प्रदर्शनको पुँजीवादी संस्कृतिबाट मुक्त हुने प्रयास महिला स्वयंबाटै हुन सकोस् अनि नारी सम्मानको सुरुआत मानिन्छ। आर्थिक आधार र स्वावलम्बनको अभाव नै आज आम महिलाको समस्या बनिरहेको छ। तापनि यसप्रतिको सचेतना भने कमै महिलामा मात्र देखिन्छ। तसर्थ हरेक मान्छे आफ्नो जीवनयापनका लागि सक्षम हुन्छ भन्ने चेतनाको विकास नै समानता हो। त्यसैले अबका दिनमा समानताको मात्र नभएर सम्मानको खोजी गर्नु जरुरी छ।
अब नारी सम्मान केलाई भन्ने त ? महिला भएकै कारण सांस्कृतिक, आर्थिक, शारीरिक एवं मानसिक रूपमा विभेद एवं प्रतिबन्ध खेप्न बाध्य नभएको अवस्था नारी सम्मान हो। महिलाको हक अधिकारको संरक्षण गर्दै नीतिगत कानुनी एवं व्यवहारगत सुधार गरिनु, हरेक क्षेत्रमा महिलाको सहभागिता सुनिश्चित गर्दै निर्णायक तहमा महिलाको स्थान सुरक्षित गरिनु, क्रूर यौनहिंसाका घटना समाजमा अन्त्य गरिनु, हरेक महिलाले सुरक्षित साथ यो समाजमा जीवन जिउने वातावरण सिर्जना हुनु नारी सम्मान हो। राज्यका हरेक पक्षमा सामाजिक, आर्थिक, शैक्षिक, राजनीतिक, प्रशासनिक लगायतका सबै क्षेत्रमा महिलाको पहँुच उच्च हुनुपर्छ।
अझै बाँकी रहेका परम्परागत रूपमा जातपातको भेदभाव, चाँडो विवाह, छोराको महत्व, मातृत्व गुणका आधारमा महिलामाथि हुने उत्पीडन जस्ता विकृत पक्षको अन्त्य हुनुपर्छ। समाजमा घट्ने विभिन्न घटनाहरू महिलाले आफ्नो इज्जत, डर, प्रतिष्ठा र धम्कीको कारण लुकाइछिपाइ राख्न नपरोस्। खुलेर सार्वजनिक गर्न सक्ने वातावरण तयार होस्। ग्रामीण परिवेश र शिक्षाको उज्यालोबाट वञ्चित नारीमाझ महिला हिंसाविरुद्धको आवाज एकीकरण गर्न सकियोस् अनि नारी सम्मान हुन्छ। सम्मान गर्न कुनै प्रकारको पुरस्कार दिनुपर्ने होइन, महिलाका कामको प्रोत्साहन होस्। महिलालाई अगाडि बढ्न हौसला मिलोस्, आत्मसम्मानमा ठेस नपुग्नेगरी काम गर्ने वातावरण सिर्जना होस् अनि सम्मान हुन्छ। त्यसैले अबको आवश्यकता समानताका मात्र होइन, सम्मानको पनि हो।
प्रतिक्रिया दिनुहोस !