अराजकताको अन्त्य कसरी ?
हमीले कस्तो समाज निर्माण गरिरहेका छौं ? सामाजिक सञ्जालले पुष्टि गरिरहेका छन्। समाजमा देखिएका विकृतिहरू, दुःख पीडाहरू हटाउनेभन्दा तिनलाई प्रोत्साहन गर्ने, मलजल गर्ने काम भइरहेको छ। कतिपय व्यक्तिको त सामाजिक सञ्जालमा ट्रोल नै बनाइन्छ।
स्वाभाविक रूपमा समाजमा बसेपछि मान्छेका सामान्य गल्ती, कमजोरीहरू हुन सक्छन्। ती सामान्य गल्ती, कमजोरी गर्ने मान्छेहरूलाई समेत सामाजिक सञ्जालले सुधार्नेतर्फ भन्दा हतोत्साहित गरेर बदनामी गराउने मात्र होइन जिन्दगीभर पीडा खपेर बाँच्नुपर्ने अवस्था सिर्जना गराई दिन्छन्। जसले गर्दा समाजमा केही गरौं भन्ने भावना भएका मान्छेहरूसमेत अगाडि बढ्न चाहँदैनन्। यो वर्तमान समाजको यथार्थ हो।
समाजमा देखिएका गल्ती कमजोरीहरू सत्य र तथ्यले होइन विचार र आस्थाको आधारसमेत मूल्यांकन गरिन्छन्। विचार मिल्नेका ठूलै गल्ती, कमजोरी सामान्य देखिन्छन् भने फरक विचार हुनेका सामान्य गल्ती, कमजोरीलाई ठूलै अपराधको रूपमा हेरिन्छ। यो अवस्था वर्तमान राजनीतिको नकारात्मक परिणाम हो। मिलेर बसेको समाजलाई विचार होस, जात होस् वा कुनै क्षेत्रीयताको विषय होस् तिनहरूबीच भएका हुने गरेका सामान्य विषय प्रसंगहरूलाई नकारात्मक बनाएर आमजनताबीच उत्तेजना बनाउने काम गरिन्छ यो सामाजिक सञ्जालको दुरुपयोग हो। यसले समाजलाई अगाडि होइन पछाडि धकेलिरहेको छ यसमा समाज गम्भीर हुन जरुरी छ।
राजनैतिक दलहरूका आआफ्ना विचार हुन्छन् देश बनाउने आआफ्ना दृष्टिकोण, योजना, मार्ग चित्र हुन्छन्। ती विचारहरू निर्वाचनले जनअनुमोदित भए ती दलहरूले राज्य सञ्चालन गर्छन्। नेपालमा २०४६ सालपछि हेर्ने हो भने कुनै एउटा दललाई दुई पटक जनताले अनुमोदन गरे अर्थात् बहुमत दिए तर ती जनताको अभिमत कदर भएन संसद् पूरा अवधि चल्न सकेनन्। गठबन्धन गरेका दललाई राज्य सञ्चालन गर्न अनुमोदन गरे ती गठबन्धन पनि पूरा अवधि टिक्न सकेनन्। चुनावमा एउटा गठबन्धन एउटा प्रतिबद्धता सरकार सञ्चालनमा अर्को गठबन्धन अर्को प्रतिबद्धता गर्ने काम भयो। जनचाहना तथा विश्वासको कुनै कदर भएन। वर्तमान विकृति, विसंगतिहरूको जड नै यही अस्थिर राजनैतिक अवस्था हो भन्नुमा अन्यथा नहोला।
दलका नेताहरू जनताको, राष्ट्रको भावना होइन पार्टी तथा कार्यकर्ताको चाहनाअनुसार चले। जनप्रिय काम गरेर जनताको बीच लोकप्रिय हुनेभन्दा काम गर्न खोज्नेलाई विभिन्न आरोप, प्रत्यारोप गरेर हतोत्साह गर्ने, विपक्षीहरूलाई टुटाउन, फुटाउने बदनामी गरेर सिध्याउने खेल खेल्न थाले। सामाजिक सञ्जालको चरम दुरुपयोग गर्दै मानवीय संवेदना बाहिर गरेर विरोधीहरूको बारे विभिन्न पोस्ट गर्ने, सेयर गर्ने कमेन्टहरू त पढ्नै नसक्ने हुन थाले। विचार फरक हुनासाथ जस्तोसुकै कामको पनि विरोध गर्नैपर्छ भन्ने मानसिकता कार्यकर्ताहरूमा तयार भएको देखिन्छ। यो एकदमै आत्मघाती खेल हो जुनसुकै बेला जहाँ जसलाई पनि प्रहार हुन सक्छ भन्ने कुरा नेता कार्यकर्ताहरूले बुझ्नै सकेका छैनन्।
भ्रष्टाचार काण्डको आरोप अधिकांश नेता, उच्च पदस्थ कर्मचारीहरूलाई छ तर नेता कार्यकर्ताहरू आफ्ना विरोधीलाई भ्रष्टाचारको आरोप लगाई आफू पानीमाथि ओभानो हुन खोज्छन्। तर त्यस्ता काण्डहरूको अन्त्यमा गएर त्यसलाई छिनोफानो गरी दोषीलाई कारबाही गर्नेतर्फ साँच्चै नै अग्रसर देखिँदैनन् किनकि यस्तै काण्डहरूको नाम लिएर यसकै सहारामा कार्यकर्तामाझ विरोधीलाई बदनाम गर्न सजिलो भएको छ। कार्यकर्तालाई अल्मल्याउन सजिलो भएको छ। जसरी दौडको खेल मैदानमा जित्न कि आफैं अगाडि दौडन सक्नुपर्यो कि त आफूभन्दा अगाडि दौडी रहेकोलाई अल्झाएर लडाउनु पर्यो। अनि, बल्ल आफूले जित्न सकिन्छ। यही अल्झाएर लडाउने र जित्ने खेल नेपाली राजनीतिमा अहिले भइरहेको छ।
नेपाललाई समृद्ध हुन नदिने सायद विदेशीहरूको चाहना हुन सक्छ। त्यसलाई मलजल गर्ने वा उनीहरूको निर्देशनमा देशमा अस्थिरता रहिरहोस् भन्ने र गराउने केही संस्था तथा राजनैतिक दलको चाहना पनि हुन सक्छ। जुन कुरो स्वयं त्यसमा आबद्ध व्यक्ति वा कार्यकर्तालाई समेत थाहा नभएको हुन सक्छ। त्यसकै आडमा देशमा अराजक र अस्थिरताका बाहकहरू अहिले झनै सल्बलाइरहेका छन्। सामाजिक सञ्जाल तिनीहरूको हतियार भइरहेको छ। अहिले ठूला खेल मैदान होस् वा सार्वजनिक कार्यक्रमहरू अराजकता फैल्याउने थलोको रूपमा प्रयोग गर्न खोजिरहेका छन्। तर बुझ्नुपर्ने कुरो के हो भने भीड वा सञ्जाल प्रयोग गरेर केही समय भ्रम फैलाउन सकिएला सत्य र तथ्यलाई छोप्न कहिल्यै सकिने छैन।
यी सबै अस्थिरता र अराजकताको अन्त्य बलियो राजनैतिक व्यवस्था र तीभित्रका सबल राजनैतिक शक्ति नै हुन्। हामीले व्यवस्था त बलियो ल्यायौं तर त्यसका सञ्चालनकर्तालाई बलियो बनाउन सकेनौं यो हाम्रो कमजोरी नै हो। अब यही कमजोरीलाई सुधार गर्न जनता सचेत हुनैपर्छ। आवश्यक परे संविधान कानुनहरूमा सुधार गरेर भए पनि राजनैतिक शक्ति बलियो हुनुपर्छ। राजनैतिक दलहरूका नेताहरूले पनि आफ्नो संघर्ष बलिदानलाई स्मरण गरेर भ्रम र अफवाहको भन्दा सत्य र तथ्यको बाटो समाएर हिँड्न जरुरी छ। आवश्यक परे दलहरूबीच नेतृत्व परिवर्तन, एक आपसमा ध्रुवीकरण, एकीकरण गरी बलिया दुई शक्ति निर्माण गर्नै पर्छ।
देश खत्तम भयो अब बन्दैन भनेर नैराश्यता फैंल्याउने काम पनि धेरै भएको छ। तर देशमा केही नभएको भने होइन हिजोभन्दा धेरै भएको छ। अपेक्षित नहोला तर केही भएको छ। हामीले जापान, अमेरिका, बेलायतसँग तुलना गर्छौं। ती देश आज होइन धेरै पहिले बनेका हुन्। तिनको इतिहास र नेपालको इतिहास हेरौं फरक छ। विश्वमा दुईचार देशले छोटो समयमै देश विकास गरेका छन् नगरेका होइनन् तर सबैले गर्न सक्दैनन्। देशको भौगोलिक अवस्थाले पनि विकासमा धेरै प्रभाव पार्न सक्छ। स्विट्जरल्यान्ड बन्यो नेपाल किन बन्दैन भन्ने पनि प्रश्न होला तर त्यहाँ कसरी बन्यो राजनैतिक अवस्था कस्तो थियो भन्ने पनि हेर्नुपर्छ। त्यसैले कसैले काम गर्न खोजिरहेको छ भने गर्न दिऊ। शंकैशंका, अफवाह तथा भ्रम फैलाउने काम बन्द गरौं। सामाजिक सञ्जालको दुरुपयोग नगरौं। परिणाम हेरेर वस्तुगत रूपमा आलोचना गरौं। विरोध गरौं। जनतालाई सचेत गराऔं।
प्रतिक्रिया दिनुहोस !