स्तन, पाठेघर र सभाइकल क्यान्सरको निःशुल्क परीक्षण गर्न काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता
काठमाडौं : स्तन तथा पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सुरु गरेको परीक्षण अभियानमा काठमाडौं महानगरले सहकार्य गरेको छ।
अब महानगरसँगको सहकार्यमा वीर अस्पतालमा स्तन, पाठेघर तथा सभाइकल क्यान्सरको नियमित निःशुल्क परीक्षण हुने भएको छ। यससम्बन्धमा मंगलबार काठमाडौं महानगर र वीर अस्पतालबीच सम्झौता भएको । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र महानगर उपप्रमुख सुनिता डंगोलको उपस्थितिमा दुवै पक्षबीच नागरिकको निःशुल्क परीक्षणसम्बन्धी सम्झौता भएको हो।
स्वास्थ्य तथा जनसंख्या मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सरविरुद्ध सजगताका लागि देशैभर फागुन महिनाभर निःशुल्क परीक्षणको निर्णय गरेर कार्यान्वयनमा ल्याएका थिए। उनले रोगको उपचारात्मक सेवामा सुधारसँगै रोग लाग्न नदिन सचतेतताका लागि यो कार्यक्रम आवश्यक रहेको भन्दै सहकार्यका लागि काठमाडौं महानगरप्रति आभार प्रकट गरे।
काठमाडौं महानगर उपप्रमुख सुनिता डंगोलले स्तन तथा पाठेघरको मुखको क्यान्सर महिलाका लागि ठूलो समस्या बनिरहेको अवस्थामा यस सहकार्यले महिलाहरुको जीवनरक्षा हुने विश्वास व्यक्त गरिन्। निर्देशक डा. दिलिप शर्माका अनुसार सबै नागरिकका लागि निःशुल्क रहने सुविधा उपलब्ध गराउन काठमाडौं महानगरले आर्थिक सहयोग गर्नेछ भने वीर अस्पतालले अंकोलोजी वार्डमार्फत जनशक्ति व्यवस्थापन गर्नेछ।
प्रतिक्रिया दिनुहोस !