अन्नपूर्णमा भएको आक्रमणको निन्दा गर्दै कांग्रेस नेता महरले भने- पूर्वराजालाई पनि कारबाहीको भागिदार बनाउनुपर्छ
काठमाडौं : नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले अन्नपूर्ण मिडिया नेटवर्कमा भएको आक्रमणको निन्दा गरेका छन्। शनिबार तीनकुनेस्थित अन्नपूर्ण मिडिया नेटवर्कको कार्यालय निरीक्षण गर्दै कांग्रेस नेता महरले घटनामा संलग्नमाथि कानुनी कारबाही गर्न सरकारसँग माग गरे।
उनले यस घटनामा पूर्वराजा ज्ञानेन्द्र शाहलाई पनि कारबाहीको भागिदार बनाउन माग गरे। 'राजावादीका नाममा तीनकुनेमा जुन हर्कत भएको छ। अन्नपूर्ण पोस्ट्सहित मिडियामाथि भएको प्रहार, निजी सम्पत्तिमाथि गरिएको क्षति गर्ने काम भएको छ। यसले लामो समयपछि नेपाली समाजलाई भड्काउने काम गरेको छ। यस घटनामा पूर्वराजालाई पनि अनुसन्धानको दायरामा ल्याउनुपर्छ। सरकारले दिएको सेवासुविधा पनि सरकारले खोस्नुपर्छ। एउटा आम नेपालीसरह उनीमाथि पनि अनुसन्धान गर्न जरुरी छ,' नेता महरले भने।
उनले लोकतन्त्रमा कुनै दल वा व्यक्तिको विकल्प हुनसक्ने तर व्यवस्था नै परिवर्तन असम्भव रहेको बताए। उनले अहिले युवा र प्रवासी नेपालीहरू पनि तानाशाहको पक्षमा नरहेको बताए। नेता महरलाई अन्नपूर्ण मिडिया नेटवर्कमा भएको क्षतिबारे महाप्रबन्धक मनोज बस्नेतले जानकारी गराएका थिए।
प्रतिक्रिया दिनुहोस !