मेरी मनकी रानी रारा
हरेक वर्षको वैशाख २६ गते कानुन दिवस हो। अन्य वर्षमा झैं २०७५ वैशाख २६ गते पनि अदालत बिदा हुने नै भयो। जुन बिदामा सर्वोच्च अदालतले अदालतकै प्रांगणमा स्वागत कार्यक्रमको आयोजना गर्ने कर्मकाण्डी चलन छ। अन्य दूरगामी प्रभाव छोड्ने कुनै कार्यक्रम नगर्ने भएकाले यस बिदामा सर्वोच्च अदालतको कार्यक्रममा जानुभन्दा अन्य काममा यो बिदा उपयोग गर्न मेरो मनले अह्राउँछ। अनि रारा भ्रमणमा हामी जोडी नै जाने भनेर सल्लाहमा जुट्छौं।
साथ दिन मेरा धुलिखेले मित्र धीरन्द्र घोलिजू श्रेष्ठको जोडी पनि तयार हुन्छ। काठमाडौंबाट यात्रा प्रारम्भ गरेकै दिन रारा पुग्नेगरी यात्राको चाँजोपाँजो मिलाउँछौं। हाकेताकेको पुग्दै जाँदा काठमाडौंबाट नेपालगन्ज र नेपालगन्जबाट मुगुको ताल्चा विमानस्थल पुग्न सफल भयौं। वैशाख २६ गतेकै अपराह्नको उत्तराद्र्धमा हामी चढेको समिट एअरको ट्विनअटर जातको चिलगाडीले हामीसमेत १७ जनालाई पेटमा राखेर उडान भर्छ।
करिब ३५ मिनेटको समयपछि यात्रुको मनमा भयका तरंगहरू पैदा गराउँदै गिद्धको भाले उडेर बसे झैं गरी आफ्नो जीउ हल्लाउँदै पाइला बिसाउन पुग्छ। काठमाडौंबाट हिँडेदेखि नै राराले पटक पटक मेरो ध्यान तानेकी हुन्छिन्। उनको कल्पनामा अनेकौं भावहरू जहाजको उडानसँगै कल्पनाको आकाशमा विचरण गर्न पुग्छन्। मेरा आँखा रारालाई देख्न छटपटाइरहन्छन्। हामी विमानबाट बाहिर निस्केर केही समयसम्म सामान बुझ्ने प्रतीक्षामा रहेका बखत हिउँले अग्लिएका डाँडा र हिउँ ओढेका सल्लाका रुखहरूको दृष्टिपान गर्दै समय कटाउँछौं। त्यसबखतसम्म सामान बोक्न उपस्थित भएका स्थानीय किशोरहरू त्यहाँ झुरुप्प हुन्छन्। हामी उनीहरूलाई झोलाहरू बोक्न दिई गाडी चढेर रारानजिक पुग्ने बाटोतर्फ लाग्छौं। त्यहाँ प्रेम खत्री नामका व्यक्तिले सञ्चालन गरेको एउटा होटलमा पुग्छौं। खाएर हिँड्ने सल्लाह हुन्छ। बस्ने भनिएको होटल हेरिटेजको स्वामित्वको गाडीलाई २५ सय रुपैयाँ भाडा तिर्छौं र मिलिचउरको पल्लो छेउसम्म पुग्छौं। त्यसपछि पैदलको बाटो लाग्छौं, रारा हेर्ने उमंगका साथ।
बाटो छिचोल्दै जाँदा सल्लाघारीको बीचबाट मानिस हिँड्ने र घोडाहरू कुदाउने प्रयोजनका लागि निर्धारित बाटोलाई पछ्याउँछौं। केहीबेर हिँडेपछि सल्लाका रुखका हाँगाका पातला पातका बीचबाट छिर्ने आँखाका दृष्टिहरूले झल्याकझुलुक पानीको नीलो दृश्य देख्न थाल्छ। रारासँग जोडिएको त्यो चउरमा रारासँग लठ्ठिएका यात्रुहरूलाई सहयोग गरेर पैसा कमाउने ध्येय लिएर घोडा चराइरहेका केही युवायुवती पनि देखिन्छन्।
तर त्यो चउर र चउरका घोडाहरूले हाम्रा आँखाका दृष्टि धेरै बेर रोक्न सक्दैनन्। हाम्रा आँखाहरू अनायसै राराको अर्धशरीरभरि छरिएर पोखिन पुग्छन्। रारासँग रतिएर ठोक्किने चिसो हावाले दिएको ठक्करबाट चल्मलाएका राराका तरंगहरूसँगै हाम्रा नजरहरू तरंगित हुन्छन्। ती तरंगमा सूर्यका आकर्षित किरणहरूले चुम्बन गर्दा उत्पन्न हुने चहक र चमकलाई देख्दा लाग्थ्यो, त्यहाँ चाँदीका टुक्राहरू नाचिरहेका छन्।
आफूमाथिका लोभी नजरलाई विकर्षण गर्न राराको किनारमा धर्ना दिइरहेका स–साना रंगीन माछाहरूले हाम्रो ध्यान एकछिन ताने पनि राराको रूपमा मोहित हाम्रा आँखाहरू नजर गाड्न छोड्दैनन्। राराको सुन्दरता र मादकतामा रमेका रारावरिपरिका सल्लाका रुखहरू रारालाई आफूतिर आकर्षित गर्न हावामा सुसेली हालेर बोलाउँछन्। रारालाई लोभ्याउन कहिले दायाँतर्फ र कहिले बायाँतर्फका हाँगाहरूलाई नचाउँदै कुशल नर्तकीले प्रदर्शन गर्ने नृत्यको दृश्य हामीलाई देखाइरहेका हुन्छन्। सौन्दर्यमा म यतिसारो लठ्ठिएको यो नै पहिलो घटना हो।
जति हेरे पनि रहर नमेटिने, रारालाई नजरले चुम्ने तिर्खा कहिल्यै नमेटिने। आफैंभित्र राखेर उनलाई चुमिरहूँ जस्तो। उनलाई पछ्याइरहूँ जस्तो। उनका बारेमा लेखिरहूँ जस्तो। उनको रूपको बयान गरिरहूँ जस्तो। उनको सुन्दरतामा मन्त्रमुग्ध बनिरहूँ जस्तो। उनले छरेको मादकतामा लठ्ठ परिरहूँ जस्तो। उनलाई स्मरणमा बाँधिरहूँ जस्तो। मेरा मनमस्तिष्कमा उद्वेलित भएका यिनै भावनाका लहरहरू अनि कल्पनाका छालहरूले यी हरफ सिर्जना हुन पुग्छन्।
कस्तो अचम्म ? सुर्खेतका पहाडदेखि कालीकोट, जुम्ला र मुगु हुँदै लहराएको कच्ची धुलौटे बाटोले चढाइ गर्ने सुक्खा र उराठलाग्दा पहाडहरूको उचाइलाई नाघेपछि घुम्टो उघार्ने रारा प्रकृतिको विशेष वरदान जस्तो लाग्छ। रारावरिपरिको सल्लाघारीलाई छिचोलेर आउने स–साना खोल्सीहरूले रारालाई जीवन्त बनाएका रहेछन्। खोल्सीहरूले अविरलरूपमा थप्ने पानीको निकास जाने मार्गमा हालेको पहेँलो फलामे पुलले राराको करिब आधा अंगको मापन गर्दोरहेछ।
आफूभित्रै निलेर राखेकी राराले देखाउने छेउछाउका किनारका सल्लाका बोटका प्रतिच्छायाँ अनि त्यसभन्दा माथि देखिने काले–झुले गोरुको डँडाल्नुजस्तो आकारमा प्रस्तुत हुने आंशिक हिउँ परेको हिमालको दृश्य पानीभित्र देखाउँदा रारासँग मोहित नहुने कुन मनुवा होला र ? बिहानको उदाउँदो सूर्यले छर्ने रक्तिम किरणसँग रंगिएकी रारा पनि रातै देखिन्छिन्। बीच भागमा नजर लगाउँदा उनी लाजले नीलो–कालो हुन्छिन्। छेउमा आफूतर्फ आकर्षित गर्न हरियो भएर प्रस्तुत हुन्छिन्। उनको यो बहुरूपी शरीर देखेर लठ्ठिएको कुनै मनुवाले उनको सर्वांग हेर्दै शरीरको नापजोख गरेछ। अनि ५ किलोमिटर लम्बाइ, ४ किलोमिटर चौडाइ र १६५ मिटर गहिराइ भनेर नापजोख गरिएछ। उनको शरीरलाई त्यसरी नापे पनि उनको सौन्दर्यको मापन गर्ने सबैका आ–आफ्ना विधि रहेछन्। कसैले उनलाई अप्सरा भने त कसैले बैंसालु भने। कसैले उनको सौन्दर्यलाई बुझ्नै नसकेर तालमात्र भने। रारालाई काखमा राखेर बसेको मुगु जिल्लाले चाहिँ रारालाई कति बुझेको होला ?
फूलमा भमरा लठ्ठिए झैं रारासँग मोहित भएका मानिसले राराको कौमार्यमा आँच ल्याउँलान् कि ? यस्तै शंकाले राराकै छेउमा ब्यारेक बनाई बसेका नेपाली सेनाका मानिस चौबिसैघण्टा रारामाथि नजर लगाउँदा रहेछन्। राराले उपहार दिएका माछाहरू पनि हेर्नमात्र रहेछन्, खान होइन। फेरि माछा पनि बाहिरबाट ल्याएका होइनन्। राराले नै उत्पन्न गरेका मात्र राखिएका।
पानी धेरै परेका बेला राराका माछाहरू रारामा मिसिने खोल्सीहरूकै माध्यमबाट उल्टो बेग मारेर माथि डाँडाहरूसम्म, जंगलसम्म पुग्छन् रे ! त्यसबेला भने त्यहाँका स्थानीयवासीले त्यसरी राराबाट निस्किएका माछालाई पक्रन सक्छन् रे ! माछा त्यसरी बोके, टिपे जस्तै रारा पनि बोक्न, टिप्न, समात्न, पक्रन सकिने अवस्थामा भएकी भए ! कदाचित् त्यसो भए कोही रावणहरू सीता हरण गर्न तत्पर भए झैं रारा हरण गर्न तम्सिन्थे होलान्। पूर्व–पश्चिम लम्बाइ र उत्तर–दक्षिण चौडाइ गरेर फैलिएकी रारा न मानिसलाई लोभ्याएर अघाउँछिन्, न मानिस उनलाई हेरेर अघाउँछन्। सबैलाई पागल–प्रेमी बनाउन उद्यत् छिन् रारा। कसैले उत्तर–पूर्वी किनारबाट परिक्रमा गर्न सुरु गर्छन् रे ताल्चाबाट जाँदा। कसैले मिलिचउरबाट गएर करिब दक्षिणतर्फको बीचभागबाट पश्चिम हुँदै घुमेर पूर्वपट्टि रहेका होटलसम्म पुग्दा दक्षिण–पश्चिमपट्टिको आधा फन्को मार्दा रहेछन्।
हामी भने रारासँग दक्षिण पश्चिम तर्फबाट पूर्वतिर फन्को मार्दै घुम्दा र खेल्दाखेल्दै राराले यशोदा र मलाई उचाइको विराम लाग्ने बनाइन्। त्यसरी टाउको दुखेर बिरामी हुँदा पनि हामी उनको सौन्दर्यमा मन्त्रमुग्ध हुन छाडेका थिएनौं। पैदल हिँड्ने पनि उनैतिर नजर लगाउँछन्। झन् नौका विहार गर्नेहरू त नौकाबाहिर हात फैलाएर रारालाई चुम्बन गर्छन्। १६५ मिटर गहिरो भनेर उनको भयंकर रूप देखाए पनि सौन्दर्यमा डुब्नेहरू बरु रारामै डुब्न तयार हुन्छन्, नौका विहार गर्न डराउँदैनन्।
राराले मुगुवासीहरूलाई माया गरेकी छन्। रारालाई देखाएर मुगुवासी आफ्नो जीविका चलाउँदै छन्। बाटोको दुःख नसम्झी रारालाई हेर्न विश्वकै मानिसहरू ओइरो लाग्दा रै’छन्। कति मानिस रारा पुगे। कति मानिस राराबाट फर्के। कतिले कथा, कविता र निबन्ध लेखे। रारा भने सधैं सौम्य, सुन्दर र गम्भीर छिन्। धीर छिन्। मोहनीरूप प्रदर्शन गरिरहेकी छिन्।
बरु नदेख्दा ढुक्क, देखेपछि पटक–पटक देखिरहूँ जस्तो, उनैलाई चुम्बन गरिरहूँ जस्तो। उनको सौन्दर्यले मानिसलाई पारेको छापबारे सायद मानिसले पूरापूर बयान गर्नै सक्दैन। भाषाले सौन्दर्यलाई बोक्नै सक्दैन। भावहरू सबै अक्षरमा बाँधिनै सक्दैनन्। बुझ्न नसकिने, प्रकट गर्न नसकिने, देखाउन नसकिने अनि बुझाउन नसकिने उनको सौन्दर्यको कथा लेख्ने हो भने धेरै लामो हुनसक्छ। कथाहरू समेटेर काव्य र महाकाव्य बनाउन सकिन्छ। तर पनि काव्य र महाकाव्यभित्र राराको सौन्दर्य अटाउन सकिँदैन। उनी बारेका पुस्तक पढेर, कविता, कथा र निबन्ध पढेर रारालाई चिन्न, बुझ्न र आत्मसात् गर्न पर्याप्त हुँदैन। उनलाई राम्ररी चिन्न रारालाई नै भेट्नु पर्छ। रारासँगै खेल्न र रारासँगै विहार गर्न पुग्नु पर्छ। रारालाई छोडेर आए पनि मेरो प्रेमपूर्ण स्पर्श अविरल छ। हत्केले चुम्बन पठाइरहेछु उनै रारालाई। सम्झनाको अविरल कोसेली पस्किरहेकै छु मोहिनी रारालाई।
प्रतिक्रिया दिनुहोस !