पूर्वराजदूत कोइरालालाई श्रद्धाञ्जली दिन एकीकृत समाजवादीको 'हेडक्वाटर' पुगे प्रधानमन्त्री
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्वराजदूत तथा वरिष्ठ पत्रकार कमल कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका छन्। सोमबार आलोकनगरस्थित एकीकृत समाजवादीको पार्टी कार्यालय पुगेर प्रधानमन्त्री ओलीले कोइरालाप्रति श्रद्धाञ्जली अर्पण गरेका हुन्।
कोइरालाको शव अन्तिम श्रद्धाञ्जलीका लागि एकीकृत समाजवादी पार्टीको कार्यालयमा राखिएको छ।सिनामंगलस्थित केएमसी अस्पतालमा उपचाररत कोइरालाको आइतबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ। कोइराला केही दिनअघि पक्षघातका कारण अस्पताल भर्ना भएका थिए ।
उनी पूर्वप्रधानमन्त्री मातृकाप्रसाद कोइरालाका छोरा हुन्। कोइराला परिवारका एक मात्र कम्युनिस्ट नेताका रूपमा परिचित कमल पार्टी कामसँगै पत्रकारितामा पनि समानान्तर रूपमै सक्रिय थिए।

वामपन्थी राजनीतिमा सक्रिय उनी दक्षिण कोरियाका लागि राजदूत पनि बनेका थिए। उनी ०५१ सालको मध्यावधि निर्वाचनमा मोरङ ६ बाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका थिए।
उनी एमालेका पूर्वकेन्द्रीय सदस्य तथा पूर्वसल्लाहकारसमेत हुन्। पार्टी विभाजन भएपछि उनी नेकपा एकीकृत समाजवादीमा लागेका थिए ।
प्रतिक्रिया दिनुहोस !