सांसद यादवले सरकारलाई भने- तिनकुने घटना नियोजित ढंगले गराएको देखियो,दोषीमाथि कारवाही गर्नुपर्छ
काठमाडौं : जनता समाजवादी पार्टीका सांसद राजकिशोर यादवले तिनकुनेमा राजावादीको हिंस्रक घटनाका दोषीहरूलाई कानुनी दायरामा ल्याउनुपर्ने माग गरेका छन्। सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद यादवले दोषी जो कोही भएपनि कारवाहीको दायरामा ल्याउनुपर्ने बताए। उनले राजावादीको आन्दोलन नियोजित ढंगबाट भएको दावी गरे।
'तिनकुने घटना नियोजित ढंगले भएको हो। अराजकता,व्यक्तिको सम्पत्तिमा क्षति पुर्याउने र लुट्ने मनसायबाट गरिएको विकृति हो, 'उनले भने,' दोषी सबैलाई कानुनी दायरामा ल्याएर कारवाही गर्नुपर्छ।'
तिनकुने अति संवेदनशील क्षेत्र भन्दै राजावादीहरूले घटना घटाउनकै निम्ति उक्त स्थान रोजेको उनको दावी छ। 'राजावादीहरूले तिनकुनेमा जुन ठाउँ चयन गरेका थिए। त्यो उचित थिएन। अन्नपूर्ण टावरमाथि आक्रमण भएको छ। त्यहाँ अगाडि पेट्रोल पम्प छ। त्यो पेट्रोल पम्पमा आगलागी भएको भए ठूलो क्षति हुने थियो। त्यहाँ पर अन्तर्राष्ट्रिय एयरपोर्ट छ। त्यहाँ पनि फ्युलको डिपो छ। प्राधिकरणको कार्यालयमा आगो लगाइएको छ। पार्टी कार्यालयमा आगो लगाइएको छ। विजनेस कम्प्लेक्स भाटभटेनीमा लुटपाट गरिएको छ,'उनले भने,'यो सबै नियोजित छ।
उनले तिनकुने घटनामा सरकारको पनि लापरवाही र उदाशिनता देखिएको बताए। सरकारले सुरक्षा दिन नसक्दा उक्त घटना घटेको उनको जिकिर छ। उनले भने,'दुईवटा प्रमुख शक्ति भनाउँदाहरूलाई कार्यक्रम गर्ने अनुमति कसले दियो ? किन दिइयो? आन्दोलनको दिन फरक पारेको थियो भने घटना हुने थिएन।'
राजावादीको आन्दोलनमा भएको आगजनीमा परी एकजना पत्रकारसहित दुईजनाले ज्यान गुमाएका छन्। आगलागीमा जलेर एभिन्युजका पत्रकार सुरेश रजक र प्रहरीको गोली लागेर कीर्तिपुरका सविन महर्जनको मृत्यु भएको छ।
राजावादी समर्थक आन्दोलनकारीहरूले अन्नपूर्ण पोस्ट्को कार्यालय र कान्तिपुर टेलिभिजनको कार्यालयमा तोडफोडका साथै आगजनी गरेका थिए। उनीहरूले तिनकुने,बानेश्वर,कोटेश्वरलगायत स्थानमा सरकारी तथा निजी सम्पत्तिमाथि आक्रमण गरी क्षति पुर्याएका छन्।
प्रतिक्रिया दिनुहोस !