सरकारले बोलाएको वार्तामा बस्न शिक्षकहरूले गरे अस्वीकार
काठमाडौं : नेपाल शिक्षक महासंघले सरकारले बोलाएको वार्तामा बस्न अस्वीकार गरेको छ। वार्ताका लागि सिंहदरबारमा बोलाए पनि महासंघ वार्तामा उपस्थित नभएपछि शुक्रबार शिक्षकसँग छलफल गर्ने सरकारको प्रयास असफलसमेत भएको छ।
शिक्षकहरूसँग छलफल गर्नका लागि फोनका साथै औपचारिक पत्र पठाए पनि शिक्षक महासंघ वार्तामा उपस्थित नभएको शिक्षामन्त्री विद्या भट्टराईले जानकारी दिइन्। महासंघलाई पत्र पठाएपछि कार्यवाहक प्रधानमन्त्री प्रकाशमान सिंह, शिक्षामन्त्री भट्टराई शहरी विकास मन्त्रालयमा पुगेर वार्ताको तयारी गरेका थिए। तर, शिक्षकहरूको उपस्थिति नभएपछि वार्ता हाललाई स्थगित गरिएको मन्त्री भट्टराईले बताइन्। उनले शिक्षकहरूको मागलाई सम्बोधन गर्दै विद्यालय शिक्षा विधेयकलाई अघि बढाउन सरकार तयार रहेको उल्लेख गरिन्।
यता महासंघले भने विद्यालय शिक्षा विधेयकलाई छिटो अघि बढाउने एकमात्र मुद्दा रहेकाले वार्तामा बस्न आवश्यक नरहेको जनाएको छ। महासंघले वार्ताभन्दा पनि ऐनलाई अघि बढाउन सरकारलाई सुझाव दिएको छ। विद्यालय शिक्षा विधेयकलाई छिटो निष्कर्षमा पुर्याउनुपर्ने भन्दै देशभरका शिक्षकहरू काठमाडौंमा भेला भएर आन्दोलन गरिरहेका छन्।
प्रतिक्रिया दिनुहोस !