काठमाडौं : प्रधानमन्त्री एवं एमालेका अध्यक्ष केपी शर्मा ओलीले ढुक्कका साथ सरकारको नीति तथा कार्यक्रमको प्रतिरक्षा गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन्।
शनिबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको एमाले संसदीय दलको बैठकमा ओलीले सरकारले सुशासन र सामाजिक न्यायको पक्षलाई प्राथमिकतामा राखेर नीति तथा कार्यक्रम ल्याएको भन्दै ढुक्कका साथ सदनमा प्रतिरक्षा गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका हुन्।
उनले विपक्षीको काम नै विरोध गर्ने भएकाले त्यस्ता कुरामा नअल्मिन समेत सुझाव दिए। ओलीले देश र जनतालाई सर्वोपरि राखेर सरकार अघि बढिरहेको बताए। विपक्षीहरूले सदनमा गलत बोल्ने गरेको भन्दै उनले गलत बोल्नेको कुरा पछिको पुस्ताले थाहा पाउने भएकाले रेकर्डमा राखिरहनु पर्ने उल्लेख गरे।
विपक्षीहरूले जनतामा भ्रम पार्न खोजे तत्काल खण्डन गर्न उनले निर्देशन दिए। ओलीले सदनमा चिप्लने खालको नभइ स्पष्ट रूपमा सदनमा धारणा राख्न समेत आफ्ना सांसदहरूलाई निर्देश गरे।
प्रधानमन्त्री ओलीले देशमा स्थिरता र स्थायित्व कायम राख्दै सुशासनको राम्रो प्रबन्ध गरी अर्थतन्त्रलाई तीव्र गतिमा अगाडि बढाउने सरकारले लक्ष्य लिएको स्पष्ट गरे। समाजमा वञ्चितहरूको पहुँच वृद्धि हुनुपर्छ भन्नेमा स्पष्टताका साथ सरकार अघि बढेको बताउँदै उनले राष्ट्रिय र मानवीय हितलाई केन्द्रमा राखेर छिमेक तथा अन्तर्राष्ट्रिय सम्बन्ध कायम गर्दै आएको स्मरण गरे।
प्रतिक्रिया दिनुहोस !