प्रधानमन्त्री ओलीसँगको भेटपछि माओवादीले भन्यो- टीआरसी सकारात्मक ढंगले अघि बढिरहेको पायौं
काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संक्रमणकालीन न्याय (टीआरसी)सम्बन्धी विषय सकारात्मक ढंगले अघि बढिरहेको बताएको छ।
प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच आइतबार साँझ भेटवार्ता भएपछि माओवादी उपमहासचिव वर्षमान पुनले टीआरसी सकारात्मक ढंगले अघि बढिरहेको बताए। 'टीआरसी सकारात्मक ढंगले अघि बढिरहेको पायौं। प्रधानमन्त्री केपी शर्मा ओलीज्युले पनि यस विषयमा गम्भीर भएर लाग्नुभएको छ,' उनले भने।
त्यस्तै टीआरसी टुंग्याउनका लागि बनाइएको आयोगका पदाधिकारीका विषयमा पनि छलफल भएको उनले बताए। सरकारले आह्वान गरेको आवेदकहरूको सूची सार्वजनिक भएपछि यो विषय विवादमा तानिएको छ। अहिले पीडित र सरोकारवालाले उक्त सूचीप्रति आपत्ति जनाउँदै दलका नेताहरूलाई ध्यानाकर्षण गराउँदै आएका छन्। सो विषयमा पनि छलफल भएको उपमहासचिव पुनले बताए।
'अहिले जुन सर्टलिस्ट बाहिर आएको छ। त्यसमा पीडित र सरोकारवालाले आपत्ति जनाउनुभएको छ। उहाँहरूले प्रधानमन्त्री र कांग्रेस सभापतिलाई भेटेर पनि आपत्ति जनाउनुभएको छ। भोलि अध्यक्ष प्रचण्डसँग पनि भेट्ने समय लिनुभएको छ। यस विषयमा पनि छलफल भएको छ। प्रधानमन्त्रीज्युले पनि सकारात्मक कुरा गर्नुभयो,' उनले भने।
प्रतिक्रिया दिनुहोस !