रोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
रोल्पा : रोल्पा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा भएको छ। रोल्पा जिल्लालाई शनिबार सदरमुकाम लिबाङमा विशेष कार्यक्रमसहित पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको हो।
लुम्बिनी प्रदेश खोप समन्वय समितिकी अध्यक्ष दुर्गा लक्ष्मी श्रेष्ठले रोल्पालाई पूर्ण खोप सुनिश्चित र दिगोपना प्रमाणीकरणको घोषणा गरेकी हुन्। घोषणा सभाका प्रमुख अतिथि समेत रहेकी श्रेष्ठले जिल्ला खोप समन्वय समितिका अध्यक्ष एवं जिल्ला समन्वय समिति रोल्पाका प्रमुख सीता आचार्य र स्वास्थ्य कार्यालयकी निमित्त प्रमुख सीता कुँवरलाई पूर्ण खोप सुनिश्चितताको प्रमाणपत्र प्रदान गरिन्। प्रमुख अतिथि श्रेष्ठले पूर्ण खोप सुनिश्चित गरेको र दिगोपनामा समेत अहम भूमिका खेलेको भन्दै प्रशंसा समेत गरिन्।
जिल्लाका एक नगरपालिका र नौवटा गाउँपालिका सबै पूर्ण खोप सुनिश्चित भएपछि जिल्लालाई पनि घोषणा गरिएको हो। आर्थिक वर्ष २०८०/०८१ मा रोल्पाका १६ देखि २३ महिनाभित्रका सबै बालबालिकालाई १५ महिनाको उमेरभित्र पूर्ण खोप पाएको सुनिश्चितता गरिएपछि लुम्बिनी प्रदेश सरकार पूर्ण खोप समन्वय समितिको सचिवालयले प्रमाणपत्र दिएको हो। बाजागाजासहित बजार परिक्रमा गरी उद्योग वाणिज्य संघका हलमा घोषणा कार्यक्रम आयोजना गरियो। राष्ट्रिय खोप तालिका अनुसार यहाँका बालबालिकाले पाउने सबै खोपहरू पाएको स्वास्थ्य कार्यालयले जनाएको छ।
जिल्ला स्वास्थ्य कार्यालयका अनुसार जिल्लाभर १५ महिना भित्रका ४ हजार ८ सय ४७ बालबालिकाले खोप लगाइरहेका छन्। १६ देखि ५९ महिनाका १४ हजार ३ सय ३ बालबालिकाले पूर्ण खोप पाएका छन्। महिलाहरूको पाठेघरको क्यान्सर विरुद्धको एचपीभी खोप १२ हजार ८ सय २ जनाले पाएका छन्। जिल्लामा २ सय २० खोप केन्द्रबाट प्रत्येक महिना २ सय २४ खोप सेवा निरन्तर चलिरहेको समेत जनाइएको छ।
२०६७ सालदेखि नेपाल सरकारले खोप सेवा प्रभावकारी बनाई पूर्ण खोप घोषणाको अवधारणा अघि सारेको थियो। सरकारको नीति बमोजिम रोल्पा २०७५ माघ २५ गते पहिलो पटक पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा गरिएको थियो।
प्रतिक्रिया दिनुहोस !