प्लास्टिक प्रदूषणको चपेटा

प्लास्टिक प्रदूषणको चपेटा

आजको वातावरण दिवस त एउटा छेको मात्रै हो, वातावरण जोगाउने र प्लास्टिक प्रदूषण कम गर्ने काम हामीले दिनदिनै गर्न जरुरी छ ।

 आज विश्व वातावरण दिवस । यस वर्षको नारा प्लास्टिक प्रदूषणलाई जितौं छ । वातावरणको प्रसंगमा अनेकथरी सन्दर्भहरू सतहमा देखिन्छन्, बेवास्ता गरिएको र लापरवाहीपूर्ण तरिकाले प्रयोग आएको प्लास्टिकले वातावरणमा पु¥याएको क्षतिचाहिँ अत्यधिक छ ।

विश्वमा प्रत्येक वर्ष ४६ करोड टन प्लास्टिक उत्पादन हुन्छ । र आर्थिक सहकार्य तथा विकास संगठनले प्लास्टिक उत्पादन अचेल आएर अर्ब टनमा पुगेको अनुमान लगाएको छ । त्यसमध्ये केवल ९ प्रतिशत पुनप्र्रयोग हुन्छ । २२ प्रतिशतको गलत व्यवस्थापन भई वातावरण विनाशका लागि गलत योगदान गर्छ । १२ प्रतिशतभन्दा बढी प्लास्टिक जलाइन्छ र थप प्रदूषण उत्पन्न हुन्छ । प्लास्टिकको प्रदूषण चपेटाले नछोएको धर्तीको कुनै भाग छैन ।

समुद्रको पिँधदेखि हिमालको चुचुरासम्म प्लास्टिक प्रदूषण व्याप्त छ । पानीमात्रै होइन हावा पनि प्लास्टिकको अदृश्य कणले प्रदूषित छ । समुद्रका माछामात्रै होइन, समुद्री पन्छीहरू पनि प्लास्टिक प्रदूषणको चपेटामा छन् । समुद्रका माछाको पेटमा मात्रै होइन हावाका माध्यमबाट मानिसको शरीरभित्रै पुग्ने गरेको राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ । यो भनेको निकै भयावह अवस्था हो । त्यही भएर हुनुपर्छ सन् २०१८ कै वातावरण दिवसको नारामा समेटिएको प्लास्टिक प्रदूषणको चिन्ता यसपालि पनि दोहोरियो । 

हामीले प्रयोग गर्ने हरेकजसो वस्तु प्लास्टिकले बनेका वा उपभोग्य वस्तुको झोला वा खोलसम्म प्लास्टिककै हुन्छ । यो यति सर्वसुलभ भइदियो कि प्लास्टिकबिनाको दिनचर्या असम्भवप्रायः देखिन्छ । तर यसले वातावरण विनाशमा ठूलो क्षति पु¥याइरहेको छ । एक त प्लास्टिक उत्पादनकै कारण पनि जलवायु परिवर्तनमा असर गरिरहेको हुन्छ । एक अध्ययनका अनुसार सन् २०१९ मा प्लास्टिक उत्पादनकै कारण १ दशमलव ८ अर्ब टन कार्बन उत्सर्जन भएको थियो । यो क्रम बर्सेनि बढेकै छ ।

प्लास्टिकले मानिसलाई क्यान्सरलगायत रोगको जोखिममा पारेकै छ, वातावरण विनाशका कारण जलवायु परिवर्तनलाई बढावा दिएर पृथ्वीको पारिस्थितिकीय प्रणालीलाई धक्का पुर्‍याएको छ । खाद्य सन्तुलन खल्बल्याइरहेको छ । यसले निम्त्याउने संकट अनेक छन् । निश्चित मोटाइभन्दा पातलो खालको प्लास्टिक पुनर्प्रयोग पनि हुँदैन र खालि प्रदूषणको कारक बन्छ । तसर्थ मापदण्ड बनाएर त्यस्तो प्लास्टिकमा प्रतिबन्धै लगाउनुपर्छ । यसपालि सरकारले बजेटमार्फत त्यस्तो घोषणा पनि गरेको छ । तर व्यवहारमा उसले के गर्छ ? यसै भन्न सकिन्न ।

नेपाल सरकारको कथनी र करणीमा शंकै गर्नुपर्छ, आजसम्मका व्यवहारका आधारमा । भनेअनुसार उसले कार्यान्वयन गर्ने हो भने पक्कै पनि प्रदूषण कम हुन्छ । र, नागरिकले पनि प्रदूषण हुने खाले प्लास्टिकको प्रयोगलाई घटाएर वातावरण जोगाउन योगदान गर्नुपर्छ । विश्वमै अभियानका रूपमा चलाउनुपर्ने प्लास्टिक प्रदूषण विरुद्धको जागरणलाई नेपालले नमुनाकै रूपमा कार्यान्वयन गर्न सक्दा उत्तम हुन्छ । यसै पनि नेपाल जलवायु परिवर्तनको जोखिमको देश हो । यस्तो राष्ट्रले कार्बन उत्सर्जन र वातावरण प्रदूषणमा भूमिका नखेलेको उदाहरण आफैंंबाट दिएर विश्वमा सन्देश छर्न सक्नुपर्छ । आजको वातावरण दिवस त एउटा छेको मात्रै हो, वातावरण जोगाउने र प्लास्टिक प्रदूषण कम गर्ने काम हामीले दिनदिनै गर्न जरुरी छ ।
 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.