प्लास्टिक प्रदूषणको चपेटा
आजको वातावरण दिवस त एउटा छेको मात्रै हो, वातावरण जोगाउने र प्लास्टिक प्रदूषण कम गर्ने काम हामीले दिनदिनै गर्न जरुरी छ ।
आज विश्व वातावरण दिवस । यस वर्षको नारा प्लास्टिक प्रदूषणलाई जितौं छ । वातावरणको प्रसंगमा अनेकथरी सन्दर्भहरू सतहमा देखिन्छन्, बेवास्ता गरिएको र लापरवाहीपूर्ण तरिकाले प्रयोग आएको प्लास्टिकले वातावरणमा पु¥याएको क्षतिचाहिँ अत्यधिक छ ।
विश्वमा प्रत्येक वर्ष ४६ करोड टन प्लास्टिक उत्पादन हुन्छ । र आर्थिक सहकार्य तथा विकास संगठनले प्लास्टिक उत्पादन अचेल आएर अर्ब टनमा पुगेको अनुमान लगाएको छ । त्यसमध्ये केवल ९ प्रतिशत पुनप्र्रयोग हुन्छ । २२ प्रतिशतको गलत व्यवस्थापन भई वातावरण विनाशका लागि गलत योगदान गर्छ । १२ प्रतिशतभन्दा बढी प्लास्टिक जलाइन्छ र थप प्रदूषण उत्पन्न हुन्छ । प्लास्टिकको प्रदूषण चपेटाले नछोएको धर्तीको कुनै भाग छैन ।
समुद्रको पिँधदेखि हिमालको चुचुरासम्म प्लास्टिक प्रदूषण व्याप्त छ । पानीमात्रै होइन हावा पनि प्लास्टिकको अदृश्य कणले प्रदूषित छ । समुद्रका माछामात्रै होइन, समुद्री पन्छीहरू पनि प्लास्टिक प्रदूषणको चपेटामा छन् । समुद्रका माछाको पेटमा मात्रै होइन हावाका माध्यमबाट मानिसको शरीरभित्रै पुग्ने गरेको राष्ट्रसंघीय वातावरण कार्यक्रमले जनाएको छ । यो भनेको निकै भयावह अवस्था हो । त्यही भएर हुनुपर्छ सन् २०१८ कै वातावरण दिवसको नारामा समेटिएको प्लास्टिक प्रदूषणको चिन्ता यसपालि पनि दोहोरियो ।
हामीले प्रयोग गर्ने हरेकजसो वस्तु प्लास्टिकले बनेका वा उपभोग्य वस्तुको झोला वा खोलसम्म प्लास्टिककै हुन्छ । यो यति सर्वसुलभ भइदियो कि प्लास्टिकबिनाको दिनचर्या असम्भवप्रायः देखिन्छ । तर यसले वातावरण विनाशमा ठूलो क्षति पु¥याइरहेको छ । एक त प्लास्टिक उत्पादनकै कारण पनि जलवायु परिवर्तनमा असर गरिरहेको हुन्छ । एक अध्ययनका अनुसार सन् २०१९ मा प्लास्टिक उत्पादनकै कारण १ दशमलव ८ अर्ब टन कार्बन उत्सर्जन भएको थियो । यो क्रम बर्सेनि बढेकै छ ।
प्लास्टिकले मानिसलाई क्यान्सरलगायत रोगको जोखिममा पारेकै छ, वातावरण विनाशका कारण जलवायु परिवर्तनलाई बढावा दिएर पृथ्वीको पारिस्थितिकीय प्रणालीलाई धक्का पुर्याएको छ । खाद्य सन्तुलन खल्बल्याइरहेको छ । यसले निम्त्याउने संकट अनेक छन् । निश्चित मोटाइभन्दा पातलो खालको प्लास्टिक पुनर्प्रयोग पनि हुँदैन र खालि प्रदूषणको कारक बन्छ । तसर्थ मापदण्ड बनाएर त्यस्तो प्लास्टिकमा प्रतिबन्धै लगाउनुपर्छ । यसपालि सरकारले बजेटमार्फत त्यस्तो घोषणा पनि गरेको छ । तर व्यवहारमा उसले के गर्छ ? यसै भन्न सकिन्न ।
नेपाल सरकारको कथनी र करणीमा शंकै गर्नुपर्छ, आजसम्मका व्यवहारका आधारमा । भनेअनुसार उसले कार्यान्वयन गर्ने हो भने पक्कै पनि प्रदूषण कम हुन्छ । र, नागरिकले पनि प्रदूषण हुने खाले प्लास्टिकको प्रयोगलाई घटाएर वातावरण जोगाउन योगदान गर्नुपर्छ । विश्वमै अभियानका रूपमा चलाउनुपर्ने प्लास्टिक प्रदूषण विरुद्धको जागरणलाई नेपालले नमुनाकै रूपमा कार्यान्वयन गर्न सक्दा उत्तम हुन्छ । यसै पनि नेपाल जलवायु परिवर्तनको जोखिमको देश हो । यस्तो राष्ट्रले कार्बन उत्सर्जन र वातावरण प्रदूषणमा भूमिका नखेलेको उदाहरण आफैंंबाट दिएर विश्वमा सन्देश छर्न सक्नुपर्छ । आजको वातावरण दिवस त एउटा छेको मात्रै हो, वातावरण जोगाउने र प्लास्टिक प्रदूषण कम गर्ने काम हामीले दिनदिनै गर्न जरुरी छ ।
प्रतिक्रिया दिनुहोस !