लन्डन : विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला परेको इतिहासलाई सम्झिँदै लन्डनमा माउन्ट एभरेस्ट डे मनाइएको छ।लन्डनको ब्ल्याकहिथस्थित रेस्टुरेन्ट एभरेस्ट इन्मा नेपालप्रेमी बेलायती र नेपाली समुदायका विशिष्ट व्यक्तित्वसमेतको उपस्थिति रहेको कार्यक्रममा प्रमुख आकर्षण थिए, कीर्तिमानी पर्वतारोही पूर्वगोर्खा सैनिक हरि बुढामगर।
बेलायती सेनामा सेवाका क्रममा सन् २०१० मा अफगानिस्तानमा एम्बुसमा परी दुवै खुट्टा गुमाएका हरिले सन् २०२३ मा सगरमाथाको सफल आरोहण गरे। दुवै खुट्टाबिना सगरमाथा सफल आरोहण गर्ने दुर्लभ विश्व कीर्तिमान उनले बनाए। हरिले आफ्नो अदम्य साहस र हिम्मतका कथाहरू सुनाइरहँदा उनको सम्मान कार्यक्रममा सहभागीहरूले बजाइरहेका ताली रोकिएनन्।
जीवनमा आरोह, अवरोहरू भइरहन्छन्। बाधा र चुनौतीहरू पनि आउँछन्। अब त सबै सिद्धियो कि भन्ने मोडहरूसम्म पनि आउन सक्छन्। तर जति नै कठिन समयमा पनि अगाडि बढ्ने बाटो पूर्ण बन्द हुँदैन। ‘आफूभित्र विश्वास, हिम्मत र सकारात्मक ऊर्जा राख्न सकियो भने अवश्य पनि चाहेको ठाउँसम्म पुग्न र देखेको सपना पूरा गर्न सकिन्छ’, हरिले आफ्नो जीवन भोगाइको महŒवपूर्ण सिकाइलाई सारांशमा सुनाए।
विगतमा अचानक दुवै खुट्टा गुमाउँदा स्वीकार गर्नै नसकेकोदेखि तनाव र चिन्ता भगाउन अल्कोहोलिक बनेको र निराशाको उत्कर्षमा जीवन नै त्याग्ने सोचसम्म पुगेको क्षणहरू बुढामगरले सम्झिएका थिए। कठिन समयमा पनि आफूलाई सम्हालेर अगाडि बढ्दा असम्भव कार्यसमेत सम्भव पार्न सकिने अनुभव उनले सुनाए।
आफ्नो सबै कर्मलाई अपांगताको क्षेत्रमा जागरण ल्याउनमा समर्पित गरेका हरिले विभिन्न पाँच महादेशका सर्वोच्च हिमालहरूको आरोहण पूरा गरिसकेका छन् र अब बाँकी दुई महादेशका सर्वोच्च हिमाल पनि आरोहणको तयारीमा छन्।
कार्यक्रममा स्थानीय लुइसम बरोकी मेयर ब्रेन्डा डेक्रेसले हरि बुढामगरको जीवनकथाले जस्तोसुकै चुनौतीहरू आए पनि त्यसलाई सामना गर्न सम्भव छ भन्ने प्रेरणा दिएको बताइन्।
लुइसम बरोकी स्पिकर अफ ज्याक पासकडले सामन्यतः हरेक क्षेत्रमा फरक क्षमता हुनेहरूलाई थप चुनौतीहरू आइपर्ने बताउँदै पूर्व गोर्खा बुढामगरले तीनै चुनौतीहरू सामना गर्दै सगरमाथाको सफल आरोहण गर्न सकेकोमा खुसी व्यक्त गरिन्।
बेलायती राजा चाल्र्स तृतीयका लागि किङ्स गार्ड पूर्वगोर्खा लेफ्टिनेन्ट कर्णेल टोलबहादुर खाम्चाले हरि बुढामगरलाई सम्पूर्ण गोर्खा तथा नेपालीहरूको गौरवका रूपमा प्रशंसा गरे।
एभरेस्ट इन्का निर्देशक यादव भण्डारीले कार्यक्रममा सहभागिताका लागि हरि बुढामगरसहित सबै विशिष्ट अतिथिलाई धन्यवाद दिए। खाना, संस्कृति र सामुदायिक कार्यहरूमार्फत बेलायतमा नेपाललाई प्रवद्र्धन गर्ने कोसिसमा एभरेस्ट इन् ग्रुपले दीपावली, एभरेस्ट डे, नेपाली नयाँ वर्षसहितका थुप्रै अवसरलाई बेलायती समुदायको सहभागितामा मनाउँदै आएको उनले सुनाए। बेलायत तथा नेपाल दुवैतिर स्थानीय समुदायहरूको सहयोगमा विभिन्न परोपकारी कार्यहरूसमेत सञ्चालन गरिँदै आएको भण्डारीले बताए।
सन् १९५३ को मे २९ तारिखमा संसारको सर्वोच्च शिखर सगरमाथामा पहिलोपटक मानव पाइला पुग्यो। नेपालका तेन्जिङ शेर्पा र न्युजिल्यान्डका सर एडमन्ड हिलारीले संयुक्त रूपमा रचेको सोही इतिहासलाई सम्झिँदै हरेक वर्ष मे २९ लाई माउन्ट एभरेस्ट डेका रूपमा मनाइने गरिन्छ।
बेलायतमा एभरेस्ट इन् ग्रुपले पनि विगत डेढ दशकदेखि आफ्ना सबै शाखामा माउन्ट एभरेस्ट डे विशेष कार्यक्रम गरेर नेपालको पर्यटन प्रवद्र्धन गर्दै आएको छ। एभरेस्ट इन्कै पहलमा हालसम्म झन्डै पाँच सय बेलायतीहरूले नेपाल भ्रमण गरिसकेको निर्देशक यादव भण्डारी सम्झिन्छन्। उनीहरूमध्ये कतिले हिमाल आरोहण नै गरेका छन् भने धेरै विभिन्न मनोरम क्षेत्रहरू घुम्ने र पदयात्रामा रमाउने गरेका छन्। बेलायतीहरूलाई आकर्षित गर्ने मनशायले रेस्टुरेन्ट परिसरमा पनि नेपालको प्राकृतिक सुन्दरता झल्काउने तस्बिर, पेन्टिङ र काष्ठकलाहरू सजाइएको छ।
प्रतिक्रिया दिनुहोस !