प्रा. डा. उपेन्द्र देवकोटाको सपना पूरा गर्नु मेरो जिम्मेवारी

प्रा. डा. उपेन्द्र देवकोटाको सपना पूरा गर्नु मेरो जिम्मेवारी

डा. उपेन्द्र देवकोटाजस्ता अग्रणी व्यक्तिहरूको अनुभव सुनेर नयाँ पुस्ताका चिकित्सकहरू प्रेरित हुन्छन्। न्युरोकनले नेपाली चिकित्सक र अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो काम प्रस्तुत गर्ने मञ्च प्रदान गरेर उनीहरूको पहिचान र विश्वनीयता अझ बढाउँछ।

सात वर्षअगाडि आजकै दिन अर्थात् जुन १८ मा प्राध्यापक डा.उपेन्द्र देवकोटाको भौतिक शरीर अवसान भएको थियो । डा. देवकोटाको अवसानपछि उहाँकी धर्मपत्नी प्रा.डा. मधु दीक्षित देवकोटाले उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस् (न्युरो अस्पताल, बाँसबारी) को कार्यकारी अध्यक्षका रूपमा विरासत निर्वाह गरिरहनुभएको छ ।

उपेन्द्र देवकोटा फाउन्डेसनकी संस्थापक अध्यक्ष डा. मधुको भनाइ छ, ‘संस्थागत नेतृत्वको सफलता दूरदृष्टि, गुणस्तरीयताप्रतिको प्रतिबद्धता, सहकर्मीहरूप्रति सहानुभूति र सेवाप्रति समर्पणको समिश्रणले हुन्छ ।’ डाक्टर मधु देवकोटासँग गरिएको संक्षिप्त वार्ता :

आजको दिनलाई कसरी स्मरण गर्नुहुन्छ ?

सात वर्षअगाडि यसै दिन नेपालले एक देशभक्त, राष्ट्रप्रेमी, आधुनिक स्नायु शल्यचिकित्साका पितालाई गुमाएको थियो । हामीले पनि आफ्नो अभिभावक, संरक्षक र मार्गदर्शकलाई गुमायौं । आजको दिन उहाँको अमर योगदानलाई श्रद्धाञ्जलि अर्पण गर्नुका साथ–साथै उहाँको प्रेरणा र प्रतिबद्धतालाई उहाँप्रतिको समर्पणको रूपमा सम्झन चाहन्छु ।

डा.उपेन्द देवकोटाको सम्झनामा केके कार्यक्रम गर्दै हुनुहुन्छ ?
प्रा.डा.उपेन्द्र देवकोटाको योगदानलाई सम्मान गर्ने एवं उहाँको विरासतलाई निरन्तरता दिनुलाई नै मैले आफ्नो बाँकी जीवनको उद्देश्य बनाएकी छु । सो उद्देश्यले प्रेरित भई ‘उपेन्द्र देवकोटा फाउन्डेसन’ नामक गैरनाफामूलक संस्थाको स्थापना गरिएको छ । स्थापना भएकै वर्ष २०२३ मा यस संस्थाले धेरै नै सफल ‘न्युरोकन’ को आयोजना गर्‍यो । जसमा नेपाल र विदेशका धेरै स्नायु चिकित्सकहरूले भाग लिएका थिए । हामीले यस सम्मेलनलाई प्रत्येक २ वर्षमा सञ्चालन गर्ने अठोटअनुरूप यस वर्ष न्युरोकन–२ नामक स्नायु विधालाई समेटेर गर्न लागिएको सम्मेलन आजकै दिन सुरु हुँदैछ ।

नेपाली जनतालाई अन्तर्राष्ट्रिय स्तरको स्नायुरोगको उपचार देशमै मिलोस् भनेर स्थापना गर्नुभएको न्युरो अस्पतालको सञ्चालन गर्ने जिम्मेवारी पनि मेरो काँधमा रहेको छ । 

यसबाहेक फान्डेसनले देशका दुर्गम भागहरूमा विशेषज्ञ स्वास्थ्य शिविरहरू सञ्चालन गरेर स्वास्थ्य सेवामा सीमित पहुँच भएका हजारौं मानिसहरूलाई लाभान्वित तुल्याएको छ । फाउन्डेसनले स्ट्रोकको जोखिमका बारेमा जनचेतना फैलाउन र बेलामा नै यस रोगको पहिचानका लागि स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने गरेको छ । त्यस्तै, प्राथमिक विद्यालयहरूमा सम्भावित स्नायु समस्याहरूका साथ–साथै, श्रवणशक्ति र दृष्टि परीक्षणहरूका लागि स्क्रिनिङ कार्यक्रम सञ्चालन गर्ने कामले बालकालिकाको संज्ञानात्मक विकासमा असर पार्न सक्ने समस्याहरूको बेलैमा पहिचान र निरूपण गर्न मद्दत मिलेको छ ।
डा. देवकोटाले नेपाली जनतालाई अन्तर्राष्ट्रिय स्तरको स्नायुरोगको उपचार देशमै मिलोस् भनेर स्थापना गर्नुभएको न्युरो अस्पतालको सञ्चालन गर्ने जिम्मेवारी पनि मेरो काँधमा रहेको छ ।

तपाईंले यस सम्पदाको संरक्षण गर्ने अठोट कसरी गर्नुभयो ?
डा. उपेन्द्र देवकोटाको निधनपश्चात् उहाँको अधुरो सपनालाई निरन्तरता दिनु मेरा लागि भावनात्मक रूपमा गाह््रो भए तापनि यो ठूलो जिम्मेवारी थियो । मैले उहाँको सपना साकार तुल्याउन यस गहन जिम्मेवारीलाई केवल उहाँको स्मृतिको संरक्षण गर्ने पारिवारिक दायित्वको रूपमा नभई एउटा राष्ट्रिय अभिभाराको रूपमा आत्मसाथ गरेँ । संकटलाई अवसरमा रूपान्तरित गरी अगाडि बढेँ । यहाँसम्म आइपुग्दा मैले यी सम्पदाहरूको संरक्षण गर्ने मात्र होइन, संस्थागत विकासको संकल्प पनि लिएको छु र यसका लागि चाहिने मिहिनेत गर्न म प्रतिबद्ध छु ।

न्युरोकन–२ को आयोजना आजकै दिन किन गर्नुभएको हो ?
डा. देवकोटाले आजीवन नेपालका लागि उच्चस्तरीय र पहुँचयुक्त स्नायु चिकित्सा र शिक्षा सुनिश्चित गर्ने प्रयास गर्नु भएको थियो । न्युरोकनले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरूलाई एकत्रित गरेर उहाँको दर्शनअनुरूप सहकार्य, नवप्रवर्तन र निरन्तर ज्ञान अभिवृद्धि गर्ने काम गर्दछ । यस्तो पे्ररणादायी कार्यका लागि आजकै दिन सबैभन्दा उपयुक्त दिन हो, हाम्रो विचारमा ।


nullप्रा.डा. मधु देवकोटा दीक्षित
कार्यकारी अध्यक्ष, उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस् (न्युरो अस्पताल, बाँसबारी)

यस वर्षको सम्मेलनमा करिब ६० अन्तर्राष्ट्रिय र सोही संख्यामा नेपाली स्नायु वैज्ञानिक र चिकित्सकहरूको सहभागिता रहेको छ । उपेन्द्र देवकोटा फाउन्डेसन, उपेन्द्र देवकोटा मेमोरियल नेसनल इन्स्टिच्युट अफ न्युरोलोजिकल एन्ड एलाइड साइन्सेस्, न्युरो अस्पताल, बाँसबारीका साथै, नेपालको स्नायु शल्यचिकित्सकहरूको छाता संस्था नेपलीज सोसाइटी अफ न्युरोलोजिकल सर्जन (नेसान), कान, नाक, घाँटीसम्बन्धी सोसाइटी अफ अटोल्यारिङ्गो लोजिस्ट अफ नेपाल र मल्टिपल स्क्लेरोसिस सोसाइटी नेपालको सौजन्यमा यो सम्मेलन हुन लागेको हो ।

न्युरोकन सम्मेलनको उद्देश्य के हो ?
न्युरोकन जस्तो सम्मेलनले चिकित्सकहरूको विकास र स्नायुविज्ञानको प्रगतिमा महत्वपूर्ण योगदान पुर्‍याउँछ । यस्तो सम्मेलनले नेपाली चिकित्सकहरूलाई अरू देशका विशेषज्ञहरूसँग नयाँ अनुसन्धान, प्रविधि र चिकित्सकीय अभ्यासहरूबारे जानकारी हासिल गर्ने अवसर दिन्छ । प्रायोगिक कार्यशाला र व्यावहारिक सत्रहरूमार्फत उनीहरूले नयाँ शल्यक्रियाका प्रविधि र प्रविधिजन्य उपकरणहरू प्रयोग गर्न सिक्न सक्छन्, जसले उनीहरूको क्षमता बढाउँछ ।

यस्ता कार्यक्रमहरूले विभिन्न क्षेत्रका चिकित्सक, अनुसन्धनकर्ता र विद्यार्थीहरूलाई एकै मञ्चमा ल्याएर पेसागत सञ्जाल बनाउने र सहकार्य गर्ने वातावरण बनाउँछन् । साथै, चिकित्सकहरूले अन्तर्राष्ट्रिय अभ्यास र प्रणालीहरूबाट सिकेर स्थानीय स्वास्थ्य सेवामा सुधार ल्याउन सक्छन् । डा. उपेन्द्र देवकोटाजस्ता अग्रणी व्यक्तिहरूको अनुभव सुनेर नयाँ पुस्ताका चिकित्सकहरू प्रेरित हुन्छन् । न्युरोकनले नेपाली चिकित्सक र अनुसन्धानकर्तालाई अन्तर्राष्ट्रिय स्तरमा आफ्नो काम प्रस्तुत गर्ने मञ्च प्रदान गरेर उनीहरूको पहिचान र विश्वनीयता अझ बढाउँछ । यसरी, न्युरोकनले नेपालमा चिकित्सा र स्नायुविज्ञानको क्षेत्रलाई विश्वस्तरको ज्ञान र अवसरसँग जोडेर महत्वपूर्ण योगदान पुर्‍याउने मैले देखेकी छु ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.