पार्टीको सांगठनिक बहस
एमाले सचिवालयको बैठक बस्दै, विधान महाधिवेशनको तयारीसहित के छन् एजेण्डा ?
विधान संशोधनको प्रस्तावका खाकाहरू आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन्।
काठमाडौं : नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक आज बस्ने भएको छ। प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा आज दिउँसो १ बजे केन्द्रीय कार्यालय च्यासलमा बैठक बस्ने प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौत्मले जानकारी दिए।
उनकाअनुसार बैठकमा सरकारको एक वर्षे कार्यकालको समीक्षा, विधान महाधिवेशनको तयारी र समसामयिक राजनीतिक विषयहरुमा छलफल र निर्णयहरू हुनेछन्। खासगरी विधान संशोधनको प्रस्तावका खाकाहरू आजको बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नेछन्। पौडेललाई यस अघि नै विधान संशोधन समितिको संयोजक तोकिएको थियो। आजको बैठकमा अध्यक्ष ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिवले शंकर पोखरेलले प्रस्तुत गर्ने सांगठनिक प्रतिवेदनका विषयमा पनि छलफल हुने गौतमले जानकारी दिए।
आजको बैठकले शुक्रबार बस्ने पार्टी पोलिटव्यूरो र साउन ५ गते बस्ने केन्द्रीय कमिटीका कार्यसूची पनि तय गर्ने छ। पोलिटब्यूरो र केन्द्रीय कमिटी बैठकमा विधान महाधिवेशनमा पेश गर्ने मस्यौदाको विषयमा छलफल हुनेछ। एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गते सनराइज हल गोदावरीमा गर्ने निर्णय भएको छ। विधान महाधिवेशनमा तीन वटा दस्तावेज प्रस्तुत हुनेछन्। राजनीतिक प्रस्ताव पार्टी अध्यक्ष केपी शर्मा ओली, विधान मस्यौदाको प्रस्ताव उपाध्यक्ष विष्णु पौडेल र संगठनात्मक प्रस्ताव महासचिव शंकर पोखरेलले प्रस्तुत गर्नेछन्।
प्रतिक्रिया दिनुहोस !