अनुसन्धान : मजाक कि मिसन ?

अनुसन्धान : मजाक कि मिसन ?

अनुसन्धान अनुपम र अलौकिक मिसन हो, समग्र विकासको आधार हो । तर यो सस्तो मजाक बन्दैछ ।

गुणस्तरीय शिक्षा हरेक देश विकासको मेरुदण्ड हो। शिक्षा स्वयंको गुणस्तर मापनको एउटा सूचकांक चाहिँ अनुसन्धान हो। तर केही अनुसन्धानकर्ताले सघन र गम्भीर विषय तथा ज्ञानको विराट महासागरलाई धमिल्याई रहेछन्।

गुणस्तरीय शिक्षा हरेक देश विकासको मेरुदण्ड हो । जति देशहरू सफल, सबल र दैनानुदिन प्रगतिमा अब्बल अनि अनुकरणीय छन् । तिनमा गुणस्तरीय शिक्षाको स्तर निक्कै उचो रहेको तथ्यांकहरूले पुष्टि गर्छन् । हाम्रो सरकारले पनि तुलनात्मक रूपमा धेरै (झन्डै ११ प्रतिशत) बजेट शिक्षामा विनियोजन गरेको छ । जापानले द्वितीय विश्वयुद्घपश्चात् केही वर्ष लगभग ४९ प्रतिशत बजेट शिक्षामा लगाएको थियो भनिन्छ । डा. जगदीश गान्धीले भारतको शिक्षा प्रणालीमा सम्पूर्ण गुणस्तर व्यवस्थापन (टोटल क्वालिटी म्यानेजमेन्ट)को अवधारणालाई अनुसरण गराए ।

शिक्षा स्वयंको गुणस्तर मापनको एउटा सूचकांक चाहिँ अनुसन्धान हो । श्रीकान्त अधिकारी प्रतिष्ठानको प्रकाशन विशेषांक २०८० ‘चेतनाको मुहान’ले यही तर्क गर्छ । तर आजकाल अनुसन्धान गतिविधि मिसन कम र मजाक बढी बन्दैछन् । केही महिनापहिले क्षेत्रीयस्तरको कार्यक्रममा आमन्त्रित एक विशिष्ट वक्ताले भने, ‘आज आधा घण्टा रिसर्च गरें र केही कुरा पत्ता लगाएँ ।’ त्यहाँ कार्यपत्र प्रस्तोता रहेको यो पंक्तिकारको दिमागले ठम्याउन सकेन कि अनुसन्धान कुनै आधा घण्टामा सकिने कार्य हो कि होइन ? अर्को दिन प्राज्ञिक पहिचानका एक व्यक्तिले मोबाइल फोन खेलाउँदै गरेको फोटो फेसबुकमा राखेर केही गम्भीर रिसर्च गर्दै भन्ने क्याप्सन लेखे । के अनुसन्धान अब ‘मोबाइल वर्क’मा सीमित भयो ? फेसबुक चलाउन जान्ने सबैले आफूलाई रिसर्चर सम्झिए हुन्छ त ?

केही अन्तरालपछि पंक्तिकारको इमेलमा एक विद्यावारिधि अनुसन्धानकर्ताको इमेल आयो । निजी अस्पतालमा उपचार गर्न गएका बिरामीको अस्पतालप्रतिको धारणा मापन गर्न प्रश्नावली पठाएका रहेछन् । पंक्तिकारसँग बिरामी कुर्न, सद्भाव प्रकट गर्न तथा अन्य छलफल वा भेटघाटसमेतका कामहरूमा निजी अस्पताल गएको अनुभवबाहेक आफ्नै उपचारलाई गएको अनुभव थिएन । इमेलकर्तालाई सुनाउँदा उनले भने, ‘होइन, मिलाएर राम्रो लागेको विकल्पमा टिक लगाइदिनु न, भइहाल्छ’ । यी प्रतिनिधि घटनामात्र हुन् जसले अनुसन्धान जस्तो सघन र गम्भीर विषय तथा ज्ञानको विराट महासागरलाई धमिल्याई रहेछन् ।

अनुसन्धान प्राज्ञिक जीवनको बलियो आधार र सुशोभनको स्तम्भ हो । औपचारिक शिक्षाको क्रममा स्नातकोत्तर गरेका सबै व्यक्तिले कम्तीमा एक अनुसन्धान अनिवार्य गर्नैपर्छ । धेरैले अनुसन्धानको औपचारिक यात्रालाई यहीँबाट थाल्छन्, कहाँसम्म लाने आफ्नो अभिरुचि हो । लडाइँ नलड्नेलाई सैन्य, बहस नगर्नेलाई कानुन, नाफा नकमाउनेलाई वाणिज्य र अनुसन्धान नगर्नेलाई प्राज्ञिक क्षेत्रको संलग्नता चाहिँ बर्जित गर्नु नै राम्रो हुन्छ । यद्यपि पछिल्ला प्राज्ञिक अनुसन्धानहरूमा विशुद्घताभन्दा विकृतिहरूको घनत्व निक्कै फराकिलो बन्दैछ ।

एउटै शीर्षकमा हजारौं हुबहु अनुसन्धानप्रतिहरू प्राज्ञिक वृत्तमा देखिनु लज्जाबोधक हो । अनुसन्धानकर्ताको विस्तृत अध्ययन र गहन परिश्रम नपरेका ‘तयारी एवं होम डेलिभरी भएका’ अनुसन्धानको बिगबिगी पेचिलो बन्दैछ । यदाकदा शोधार्थीबाट यस्ता अनुसन्धानसमेत हात पर्छन् कि अविवाहित शोधार्थीको धन्यवाद ज्ञापनमा मिल्ने साथीका श्रीमान्÷श्रीमतीलाई आफ्नै श्रीमान्/श्रीमती भनेर दाबीसहित सहयोगका लागि आभार व्यक्त गरिएका भेटिन्छन् । कुनै पृष्ठमा यस्तो पनि लेखिएको हुन्छ ‘मलाई यो अनुसन्धान गर्ने क्रममा निरन्तर सहयोग, सल्लाह, सुझाव दिई आवश्यक पृष्ठपोषणसहित अनवरत हौसला र उत्प्रेरणा प्रदान गर्नु भएकोमा सुपरिवेक्षकप्रति अधिक कृतज्ञ छु’ । यति धेरै आदरभावसहित कृतज्ञता व्यक्त गरे पनि एक पटक पनि देखाएको भने हुँदैन । यत्तिखेर हाँस्ने कि रुने ?

आजकल अनुसन्धान अनिवार्य रूपमा प्रारम्भिक तथ्यांकमा आधारित हुनुपर्छ भन्ने पूर्वाग्रह निक्कै व्याप्त छ । विशेषज्ञ विचार (एक्सपर्ट ओनियिन) चाहिँ हुँदैन, रोस्पोन्डेन्ट चाहिँ हुन्छ भन्ने मत बढी जाहेर गरिन्छ । यद्यपि रेस्पोन्डेन्टको वैधता, सहभागिता अनि इमान्दारिता हेरिँदैन । प्रश्नावली निर्माण ढाँचाले तथ्यांकमा आधारितभन्दा विचार आधारित विकल्प संकलन गरिरहेको हुन्छ । अनुसन्धान निर्वाचन हैन, धेरैले जो भन्यो त्यो विकल्प सत्य र विजयी हुने । जसलाई पनि भेला पारेर सहमत/असहमत भन्ने प्रश्नावली सोधेर आएका उत्तरको विश्लेषणका आधारमा ज्ञानको सत्य स्थापित हुँदैन । विचार नै संकलन गर्ने भए विषयअनुसार व्यक्ति कि विज्ञबाट भन्ने पक्ष फरक हुन सक्छ । कुनै विशेष प्रकारको राजनीतिक प्रणाली वा निर्वाचन प्रणालीको उपादेयता के हुन्छ भनेर अनुसन्धान गर्दा बाटोमा जो भेटायो त्यसलाई सोधेर धेरै व्यक्तिले के भने भन्नेमा निचोड निकाल्न मिल्छ र ?

पुस्तकालयमा बसेर धेरै विज्ञ लेखकको मत, अघिल्ला अनुसन्धानको निष्कर्ष र अन्य देशका अभ्यासको तुलनात्मक अध्ययनको निचोड चाहिँ बलियो हुन्छ र ? पुष्पराज जोशीको पुस्तक ‘अनुसन्धान पद्घति’ले अनुसन्धानमा तुलनात्मक र विश्लेषणात्मक स्व–अध्ययनको अंश बढी हुनुपर्छ भन्छ । तर विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूले समेत डेस्क अध्ययनलाई अनुसन्धान कार्यको रूपमा बुझ्न आनाकानी गर्छन् । अझ अनुदान आयोगले त तथ्यांक संकलन गर्न फिल्डमा दौडिए चाहिँ अनुसन्धानको लागि व्यतित समयको मूल्यलाई अनुदान पाउन योग्य ठान्छ । तर विज्ञहरूका अभिव्यक्ति र निष्कर्षका आधारमा सघन तुलनात्मक अध्ययनबाट निचोड निकाल्ने पद्घतिमा लागेको शोधकर्ताको समयको मूल्यलाई चाहिँ अनुदानमा अस्वीकार गर्छ ।

जे/जसरी होस्, अनुसन्धान सम्पन्न भएपछि त्यसलाई प्रकाशनमार्पmत सार्वजनिक गर्नुसमेत वाञ्छनीय मानिन्छ । पछिल्लो चोटि उच्च फेसनमा रहेका र्‍याङ्कड भनिएका विदेशी जर्नलहरू अधिक शुल्क लिन्छन् र यस्ता अनुसन्धानहरू छाप्छन् । विश्वविद्यालयहरूले अनुसन्धान जर्नललाई श्रेणीगत गर्ने क्रममा प्रकाशनका लागि सामान्य साझेदारी वा सहयोग खोज्नेलाई ‘प्रिडेटोरी’ भनेर दुत्कार्छन् । तर पश्चिमा देशबाट प्रशस्त डलर शुल्क लिएर छापिने विभिन्न फेसनवाल नामका जर्नललाई चाहिँ विश्वव्यापी स्तरीकृत ‘क्यु–फोर’देखि ‘क्यु–वान’सम्मको श्रेणी दिएका छन् । हुन त अधिकांश परियोजना दाता आधारित नै छन्, अनुसन्धान प्रकाशनको गुणस्तर मापनसमेत यसैको सिकार भएको होला । साझेदारी र सहयोगभन्दा व्यापारलाई मान्यता दिनु र नाफा कुम्ल्याउनु उसको आशय पनि होला ।

पछिल्लो तथ्यांक हेर्दा हाम्रो देशका चिकित्सा क्षेत्रका सात वटामात्र जर्नल त्यस खालका स्व : प्रभुत्ववादी डलर शुल्कवाला स्वघोषित समूहमा सूचीकृत छन् । अरू कुनै विषय, विधा र प्रकाशनका जर्नल त्यहाँ सूचीकृत छैनन् । प्राकृतिक विज्ञानबाहेक सामाजिक विज्ञानका विषयमा पश्चिमाको पूर्वाग्रही सोच र उपनिवेशिक आत्मरतिलाई बढावा दिने खालका प्रकाशनलाई यस्तो सूचीमा सूचीकृत गरिएको देखिन्छ । हाम्रा देशका विश्वविद्यालयहरूले स्वदेशी प्राज्ञिकताको मूल्यांकनमा अरू देशको पूर्वाग्रही मापदण्ड लगाउनुपर्ने निर्लज्ज लघुताभास कहिलेसम्म देखाउने ? विदेशी हुनु नै अन्तर्राष्ट्रिय स्तर हो भन्ने भ्रम कहिले चिर्ने ? अन्तर्राष्ट्रिय भनेको सिमानाले निर्धारण गर्छ कि स्तरले ?

हाँसो त यसमा पनि मान्नुपर्छ, हाम्रा विश्वविद्यालयहरू र विश्वविद्यालय अनुदान आयोग स्वयंका पनि प्रकाशन उक्त हावादारी र्‍याङ्किङको सूचीमा छैनन् । हुन आवश्यक पनि छैन । तर प्राज्ञिकताको मूल्यांकन गर्न अरू देशको व्यापार लक्षित पूर्वाग्रही जर्नलहरूको प्रकाशनलाई अधार बनाई आफैंलाई प्राज्ञिक उपनिवेशनमा राख्नु मुर्खता होइन ? आफ्नो चाहिँ अनुसन्धान प्रकाशन खासै नभएका तर अरूलाई सघन सुझाव दिने र उच्च पण्डित्याइँ छाट्ने विद्वान्हरूको त यहाँ कमी नै छैन । अरूका अनुसन्धानका मूल्यांकन गर्न आउनेहरूको विरोधाभासपूर्ण सुझाव अर्को टिठलाग्दो पक्ष हो । आन्तरिक र बाह्य परीक्षक भएर विभिन्न अनुसन्धानका स्रोतव्यक्तिको भूमिकामा आउने अधिकांश विद्वान् निकै सतही र अनुसन्धानका साधारण मान्यताका विपरीत बोल्छन् ।

आफ्नै अघिल्ला/अघिल्ला सुझावका विपरीत प्रस्तुति दिएको पनि पंक्तिकारले प्रशस्तै देखे÷भोगेको छ । गरेको मिलेन भन्ने तर के मिलेन र कसरी मिलाउन सकिन्छ भन्ने स्पष्ट नखुलाउने स्रोतव्यक्ति त यहाँ बाक्लै छन् । यस्ता विकृतिले अनुसन्धानको मर्मलाई निकै प्रताडित गर्दछ । आपूmलाई अनुसन्धानमा उग्र रुचि र अधिक कौशल भएको बताउने एक मित्रले केही दिन पहिले भने, ‘अब त रिसर्च आर्टिकल लेख्न मिहेनत नै गर्नु पर्दैन । केही स्पस्ट प्रम्प्ट अथवा खाका र बुँदा दिएर च्याट जीपीटीलाई भन्यो भने एकैछिनमा तयार गरेर दिन्छ । अनि जहाँ चाहियो, त्यही बुझायो ।’

अलि/अलि बँचे खुचेको उत्साह र लगावसमेत क्षणभंगुर हुन्छन् यस्ता वाक्यले । अनुसन्धानकर्ता र नियामक निकायका अनेकन निष्फिक्रिपनाले सच्चा अनुसन्धान उपासना निरुत्साहित बन्नुपर्ने भयो । अनुसन्धान एक अनुपम र अलौकिक मिसन हो । जसका आधारमा देशको समग्र विकास हुन्छ । दुर्भाग्य, सस्तो मजाक बन्दै गयो ।

 

 


 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.