अनुसन्धान : मजाक कि मिसन ?
अनुसन्धान अनुपम र अलौकिक मिसन हो, समग्र विकासको आधार हो । तर यो सस्तो मजाक बन्दैछ ।
गुणस्तरीय शिक्षा हरेक देश विकासको मेरुदण्ड हो। शिक्षा स्वयंको गुणस्तर मापनको एउटा सूचकांक चाहिँ अनुसन्धान हो। तर केही अनुसन्धानकर्ताले सघन र गम्भीर विषय तथा ज्ञानको विराट महासागरलाई धमिल्याई रहेछन्।
गुणस्तरीय शिक्षा हरेक देश विकासको मेरुदण्ड हो । जति देशहरू सफल, सबल र दैनानुदिन प्रगतिमा अब्बल अनि अनुकरणीय छन् । तिनमा गुणस्तरीय शिक्षाको स्तर निक्कै उचो रहेको तथ्यांकहरूले पुष्टि गर्छन् । हाम्रो सरकारले पनि तुलनात्मक रूपमा धेरै (झन्डै ११ प्रतिशत) बजेट शिक्षामा विनियोजन गरेको छ । जापानले द्वितीय विश्वयुद्घपश्चात् केही वर्ष लगभग ४९ प्रतिशत बजेट शिक्षामा लगाएको थियो भनिन्छ । डा. जगदीश गान्धीले भारतको शिक्षा प्रणालीमा सम्पूर्ण गुणस्तर व्यवस्थापन (टोटल क्वालिटी म्यानेजमेन्ट)को अवधारणालाई अनुसरण गराए ।
शिक्षा स्वयंको गुणस्तर मापनको एउटा सूचकांक चाहिँ अनुसन्धान हो । श्रीकान्त अधिकारी प्रतिष्ठानको प्रकाशन विशेषांक २०८० ‘चेतनाको मुहान’ले यही तर्क गर्छ । तर आजकाल अनुसन्धान गतिविधि मिसन कम र मजाक बढी बन्दैछन् । केही महिनापहिले क्षेत्रीयस्तरको कार्यक्रममा आमन्त्रित एक विशिष्ट वक्ताले भने, ‘आज आधा घण्टा रिसर्च गरें र केही कुरा पत्ता लगाएँ ।’ त्यहाँ कार्यपत्र प्रस्तोता रहेको यो पंक्तिकारको दिमागले ठम्याउन सकेन कि अनुसन्धान कुनै आधा घण्टामा सकिने कार्य हो कि होइन ? अर्को दिन प्राज्ञिक पहिचानका एक व्यक्तिले मोबाइल फोन खेलाउँदै गरेको फोटो फेसबुकमा राखेर केही गम्भीर रिसर्च गर्दै भन्ने क्याप्सन लेखे । के अनुसन्धान अब ‘मोबाइल वर्क’मा सीमित भयो ? फेसबुक चलाउन जान्ने सबैले आफूलाई रिसर्चर सम्झिए हुन्छ त ?
केही अन्तरालपछि पंक्तिकारको इमेलमा एक विद्यावारिधि अनुसन्धानकर्ताको इमेल आयो । निजी अस्पतालमा उपचार गर्न गएका बिरामीको अस्पतालप्रतिको धारणा मापन गर्न प्रश्नावली पठाएका रहेछन् । पंक्तिकारसँग बिरामी कुर्न, सद्भाव प्रकट गर्न तथा अन्य छलफल वा भेटघाटसमेतका कामहरूमा निजी अस्पताल गएको अनुभवबाहेक आफ्नै उपचारलाई गएको अनुभव थिएन । इमेलकर्तालाई सुनाउँदा उनले भने, ‘होइन, मिलाएर राम्रो लागेको विकल्पमा टिक लगाइदिनु न, भइहाल्छ’ । यी प्रतिनिधि घटनामात्र हुन् जसले अनुसन्धान जस्तो सघन र गम्भीर विषय तथा ज्ञानको विराट महासागरलाई धमिल्याई रहेछन् ।
अनुसन्धान प्राज्ञिक जीवनको बलियो आधार र सुशोभनको स्तम्भ हो । औपचारिक शिक्षाको क्रममा स्नातकोत्तर गरेका सबै व्यक्तिले कम्तीमा एक अनुसन्धान अनिवार्य गर्नैपर्छ । धेरैले अनुसन्धानको औपचारिक यात्रालाई यहीँबाट थाल्छन्, कहाँसम्म लाने आफ्नो अभिरुचि हो । लडाइँ नलड्नेलाई सैन्य, बहस नगर्नेलाई कानुन, नाफा नकमाउनेलाई वाणिज्य र अनुसन्धान नगर्नेलाई प्राज्ञिक क्षेत्रको संलग्नता चाहिँ बर्जित गर्नु नै राम्रो हुन्छ । यद्यपि पछिल्ला प्राज्ञिक अनुसन्धानहरूमा विशुद्घताभन्दा विकृतिहरूको घनत्व निक्कै फराकिलो बन्दैछ ।
एउटै शीर्षकमा हजारौं हुबहु अनुसन्धानप्रतिहरू प्राज्ञिक वृत्तमा देखिनु लज्जाबोधक हो । अनुसन्धानकर्ताको विस्तृत अध्ययन र गहन परिश्रम नपरेका ‘तयारी एवं होम डेलिभरी भएका’ अनुसन्धानको बिगबिगी पेचिलो बन्दैछ । यदाकदा शोधार्थीबाट यस्ता अनुसन्धानसमेत हात पर्छन् कि अविवाहित शोधार्थीको धन्यवाद ज्ञापनमा मिल्ने साथीका श्रीमान्÷श्रीमतीलाई आफ्नै श्रीमान्/श्रीमती भनेर दाबीसहित सहयोगका लागि आभार व्यक्त गरिएका भेटिन्छन् । कुनै पृष्ठमा यस्तो पनि लेखिएको हुन्छ ‘मलाई यो अनुसन्धान गर्ने क्रममा निरन्तर सहयोग, सल्लाह, सुझाव दिई आवश्यक पृष्ठपोषणसहित अनवरत हौसला र उत्प्रेरणा प्रदान गर्नु भएकोमा सुपरिवेक्षकप्रति अधिक कृतज्ञ छु’ । यति धेरै आदरभावसहित कृतज्ञता व्यक्त गरे पनि एक पटक पनि देखाएको भने हुँदैन । यत्तिखेर हाँस्ने कि रुने ?
आजकल अनुसन्धान अनिवार्य रूपमा प्रारम्भिक तथ्यांकमा आधारित हुनुपर्छ भन्ने पूर्वाग्रह निक्कै व्याप्त छ । विशेषज्ञ विचार (एक्सपर्ट ओनियिन) चाहिँ हुँदैन, रोस्पोन्डेन्ट चाहिँ हुन्छ भन्ने मत बढी जाहेर गरिन्छ । यद्यपि रेस्पोन्डेन्टको वैधता, सहभागिता अनि इमान्दारिता हेरिँदैन । प्रश्नावली निर्माण ढाँचाले तथ्यांकमा आधारितभन्दा विचार आधारित विकल्प संकलन गरिरहेको हुन्छ । अनुसन्धान निर्वाचन हैन, धेरैले जो भन्यो त्यो विकल्प सत्य र विजयी हुने । जसलाई पनि भेला पारेर सहमत/असहमत भन्ने प्रश्नावली सोधेर आएका उत्तरको विश्लेषणका आधारमा ज्ञानको सत्य स्थापित हुँदैन । विचार नै संकलन गर्ने भए विषयअनुसार व्यक्ति कि विज्ञबाट भन्ने पक्ष फरक हुन सक्छ । कुनै विशेष प्रकारको राजनीतिक प्रणाली वा निर्वाचन प्रणालीको उपादेयता के हुन्छ भनेर अनुसन्धान गर्दा बाटोमा जो भेटायो त्यसलाई सोधेर धेरै व्यक्तिले के भने भन्नेमा निचोड निकाल्न मिल्छ र ?
पुस्तकालयमा बसेर धेरै विज्ञ लेखकको मत, अघिल्ला अनुसन्धानको निष्कर्ष र अन्य देशका अभ्यासको तुलनात्मक अध्ययनको निचोड चाहिँ बलियो हुन्छ र ? पुष्पराज जोशीको पुस्तक ‘अनुसन्धान पद्घति’ले अनुसन्धानमा तुलनात्मक र विश्लेषणात्मक स्व–अध्ययनको अंश बढी हुनुपर्छ भन्छ । तर विश्वविद्यालय अनुदान आयोग र विश्वविद्यालयहरूले समेत डेस्क अध्ययनलाई अनुसन्धान कार्यको रूपमा बुझ्न आनाकानी गर्छन् । अझ अनुदान आयोगले त तथ्यांक संकलन गर्न फिल्डमा दौडिए चाहिँ अनुसन्धानको लागि व्यतित समयको मूल्यलाई अनुदान पाउन योग्य ठान्छ । तर विज्ञहरूका अभिव्यक्ति र निष्कर्षका आधारमा सघन तुलनात्मक अध्ययनबाट निचोड निकाल्ने पद्घतिमा लागेको शोधकर्ताको समयको मूल्यलाई चाहिँ अनुदानमा अस्वीकार गर्छ ।
जे/जसरी होस्, अनुसन्धान सम्पन्न भएपछि त्यसलाई प्रकाशनमार्पmत सार्वजनिक गर्नुसमेत वाञ्छनीय मानिन्छ । पछिल्लो चोटि उच्च फेसनमा रहेका र्याङ्कड भनिएका विदेशी जर्नलहरू अधिक शुल्क लिन्छन् र यस्ता अनुसन्धानहरू छाप्छन् । विश्वविद्यालयहरूले अनुसन्धान जर्नललाई श्रेणीगत गर्ने क्रममा प्रकाशनका लागि सामान्य साझेदारी वा सहयोग खोज्नेलाई ‘प्रिडेटोरी’ भनेर दुत्कार्छन् । तर पश्चिमा देशबाट प्रशस्त डलर शुल्क लिएर छापिने विभिन्न फेसनवाल नामका जर्नललाई चाहिँ विश्वव्यापी स्तरीकृत ‘क्यु–फोर’देखि ‘क्यु–वान’सम्मको श्रेणी दिएका छन् । हुन त अधिकांश परियोजना दाता आधारित नै छन्, अनुसन्धान प्रकाशनको गुणस्तर मापनसमेत यसैको सिकार भएको होला । साझेदारी र सहयोगभन्दा व्यापारलाई मान्यता दिनु र नाफा कुम्ल्याउनु उसको आशय पनि होला ।
पछिल्लो तथ्यांक हेर्दा हाम्रो देशका चिकित्सा क्षेत्रका सात वटामात्र जर्नल त्यस खालका स्व : प्रभुत्ववादी डलर शुल्कवाला स्वघोषित समूहमा सूचीकृत छन् । अरू कुनै विषय, विधा र प्रकाशनका जर्नल त्यहाँ सूचीकृत छैनन् । प्राकृतिक विज्ञानबाहेक सामाजिक विज्ञानका विषयमा पश्चिमाको पूर्वाग्रही सोच र उपनिवेशिक आत्मरतिलाई बढावा दिने खालका प्रकाशनलाई यस्तो सूचीमा सूचीकृत गरिएको देखिन्छ । हाम्रा देशका विश्वविद्यालयहरूले स्वदेशी प्राज्ञिकताको मूल्यांकनमा अरू देशको पूर्वाग्रही मापदण्ड लगाउनुपर्ने निर्लज्ज लघुताभास कहिलेसम्म देखाउने ? विदेशी हुनु नै अन्तर्राष्ट्रिय स्तर हो भन्ने भ्रम कहिले चिर्ने ? अन्तर्राष्ट्रिय भनेको सिमानाले निर्धारण गर्छ कि स्तरले ?
हाँसो त यसमा पनि मान्नुपर्छ, हाम्रा विश्वविद्यालयहरू र विश्वविद्यालय अनुदान आयोग स्वयंका पनि प्रकाशन उक्त हावादारी र्याङ्किङको सूचीमा छैनन् । हुन आवश्यक पनि छैन । तर प्राज्ञिकताको मूल्यांकन गर्न अरू देशको व्यापार लक्षित पूर्वाग्रही जर्नलहरूको प्रकाशनलाई अधार बनाई आफैंलाई प्राज्ञिक उपनिवेशनमा राख्नु मुर्खता होइन ? आफ्नो चाहिँ अनुसन्धान प्रकाशन खासै नभएका तर अरूलाई सघन सुझाव दिने र उच्च पण्डित्याइँ छाट्ने विद्वान्हरूको त यहाँ कमी नै छैन । अरूका अनुसन्धानका मूल्यांकन गर्न आउनेहरूको विरोधाभासपूर्ण सुझाव अर्को टिठलाग्दो पक्ष हो । आन्तरिक र बाह्य परीक्षक भएर विभिन्न अनुसन्धानका स्रोतव्यक्तिको भूमिकामा आउने अधिकांश विद्वान् निकै सतही र अनुसन्धानका साधारण मान्यताका विपरीत बोल्छन् ।
आफ्नै अघिल्ला/अघिल्ला सुझावका विपरीत प्रस्तुति दिएको पनि पंक्तिकारले प्रशस्तै देखे÷भोगेको छ । गरेको मिलेन भन्ने तर के मिलेन र कसरी मिलाउन सकिन्छ भन्ने स्पष्ट नखुलाउने स्रोतव्यक्ति त यहाँ बाक्लै छन् । यस्ता विकृतिले अनुसन्धानको मर्मलाई निकै प्रताडित गर्दछ । आपूmलाई अनुसन्धानमा उग्र रुचि र अधिक कौशल भएको बताउने एक मित्रले केही दिन पहिले भने, ‘अब त रिसर्च आर्टिकल लेख्न मिहेनत नै गर्नु पर्दैन । केही स्पस्ट प्रम्प्ट अथवा खाका र बुँदा दिएर च्याट जीपीटीलाई भन्यो भने एकैछिनमा तयार गरेर दिन्छ । अनि जहाँ चाहियो, त्यही बुझायो ।’
अलि/अलि बँचे खुचेको उत्साह र लगावसमेत क्षणभंगुर हुन्छन् यस्ता वाक्यले । अनुसन्धानकर्ता र नियामक निकायका अनेकन निष्फिक्रिपनाले सच्चा अनुसन्धान उपासना निरुत्साहित बन्नुपर्ने भयो । अनुसन्धान एक अनुपम र अलौकिक मिसन हो । जसका आधारमा देशको समग्र विकास हुन्छ । दुर्भाग्य, सस्तो मजाक बन्दै गयो ।
प्रतिक्रिया दिनुहोस !