कोसेढुंगो बनोस् अन्तरिम सरकार

कोसेढुंगो बनोस् अन्तरिम सरकार

सरकारी संयन्त्रमा ‘काम’ कहिल्यै प्राथमिकतामा परेको देखिँदैन । अब यस्तो परम्पराले चल्दैन । चल्नु दिन पनि हुँदैन ।

जेन—जी आन्दोलन साम्य भयो । यो पंक्ति लेख्दासम्म ७३ नागरिकले ज्यान गुमाएका छन् । संयौंको संख्यामा घाइते छन् । आन्दोलनका क्रममा भौतिक सम्पत्तिको कति नोक्सान भयो ? त्यसको लेखाजोखा हुन सकेको छैन । आर्थिक क्षेत्रमा पुगेको क्षति अत्यन्तै विकराल छ । पर्यटनका क्षेत्रमा गम्भीर धक्का लागेको छ । नागरिक स्वतन्त्रताका पर्याय मानिने सञ्चार गृहमाथि आगजनी गरिएका छन् । निजी क्षेत्रका प्रतिष्ठित होटल, रिसोर्ट, रेस्टुरेन्ट, सुपरस्टोर, उद्योगधन्दामा कति नोक्सान भयो त्यसको पूरै तथ्यांक आउन अझै केही समय लाग्नेछ ।

सरकारका प्रमुख अंग संसद्, अदालत र प्रधानमन्त्रीको कार्यालयलगायत क्षति नभएका कुनै मन्त्रालय बाँकी छैनन्् । देशभरका सयौं सरकारी कार्यालयमा आगजनी गरिएको छ । सुरक्षा निकायका सशस्त्र प्रहरी र नेपाल प्रहरीमाथि गम्भीर हमला भएको छ । हजारौं कैदीहरू जेल तोडेर बाहिरिएका छन् । त्यसका कारण हुन सक्ने आपराधिक घटनाले समाजलाई व्याकुल बनाएको छ । त्यसमाथि अझै सुरक्षाकर्मीबाट खुल्लमखुला हतियार खोसेका भिडियो र तस्बिरले आम नागरिकमा सुरक्षा चुनौती थपिएको छ । यस घटनाले सुरक्षा निकायको मनोबल कमजोर हुने गरी तहसनहस बनाइएको छ ।

सरकारी कार्यालयमा न बस्ने कुर्सी छन्, न कोठा छन् । खरानीको थुप्रोमा बसेर काम गर्नुपर्ने स्थिति छ । तर, सुरुवात कसरी गर्ने भन्ने गम्भीर समस्या खडा भएको छ । नेपालमा भएका अहिलेसम्मका राजनीतिक आन्दोलनमध्ये यो यस्तो आन्दोलन भयो जसले २७ घण्टामा सरकारमात्र ढालेन, आन्दोलनको हुरीले खर्बांै रुपैयाँबराबरको भौतिक सम्पत्ति खरानी बनायो । सरकारी दस्तावेज, कागजपत्रको आगजनीले पारेको समस्या जटिल हुने निश्चित प्रायः छ । सरकारी कार्यालयमाथि भएको यति भयानक आक्रमण यसअघि कहिल्यै भएको थिएन । अप्रत्याशित रूपमा भएको यो विशाल धनजनको क्षतिबाट नेपाललाई कसरी सम्हाल्ने भन्ने चिन्ता थपिएको छ ।

आन्दोलनले पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई नागरिक सरकारको प्रधानमन्त्रीका रूपमा चुनेको छ । नवनियुक्त प्रधानमन्त्री कार्कीले आफ्नो कार्यभार आरम्भ गरेसँगै अब बन्ने मन्त्रिपरिषद्का सामु चुनौतीका पहाडहरू तेर्सिएका छन् । एकातिर आन्दोलनको राप र तापको भुंग्रो छ भने अर्कोतर्फ ६ महिनाभित्र प्रतिनिधिसभाको चुनाव गर्नुपर्ने बाध्यता छ । राजनीतिक संक्रमणको यो दुष्चक्रबाट नेपाललाई जसरी पनि पार लगाउन सरकारमात्र होइन, हामी सबैको दायित्व हुन आउँछ । कति काम गर्न सम्भव होला नहोला त्यो अर्को कुरा हो । तर, इमान्दार प्रयत्न भएमा आगामी दिनमा केही सकारात्मक कामको सुरुवात गर्न यो सरकार कोसेढुंगो बन्न सक्नेछ ।

हामी सधैं यो भएन, त्यो भएन मात्र भनिरहेका हुन्छौं । तर, के गर्दा राम्रो हुन सक्छ भन्ने दृष्टिकोण राख्दैनौं । कहिलेकाहीँ हाम्रा साना प्रयासले पनि राम्रा काम हुन सक्छन् । कैंयौं हामीले सोचेका योजना पूरा भएनन् होला । हुन नसकेको कुरा त जगजाहेर भइगयो, अब कसरी राम्रो बनाउने भन्ने दृष्टिकोणलाई प्राथमिकताका साथ बहस, छलफल गर्नु सान्दर्भिक हुनेछ । यसै सन्दर्भमा नेपालमा काम चलाउ नै सही, जेन–जीको आन्दोलनको उभारले बनेको नयाँ सरकारले अलि नयाँ तरिकाबाट काम गर्ने प्रयास ग¥यो भने यसले दीर्घकालीन रूपमा सहज बनाउनेछ । त्यस्तै, एउटा सानो प्रयासको रूपमा सरकारले तत्काल ‘मर्मत तथा पुनर्निर्माण मन्त्रालय’ बनाएर कार्यारम्भ गर्दा उचित हुनेछ । हुन त उस्तै प्रकृतिको भौतिक योजना मन्त्रालय छ । तर, भौतिक योजना मन्त्रालयको तुलनामा ‘मर्मत तथा पुनर्निर्माण मन्त्रालय’ को काम अलि फरक हुनेछ ।

‘मर्मत मन्त्रालय’का माध्यमबाट अहिले भएको भौतिक संरचनाको पुनर्निर्माण त प्रमुख काम हुने नै भयो । यो बाहेक पनि उस्तै खालका योजनामा हुने डुप्लिकेसनलाई पनि यो मन्त्रालयका माध्यमबाट नियन्त्रण गर्न सकिनेछ । जस्तो कि सडकमा यो महिना पिच हुन्छ, दुई महिनापछि पिच भत्काएर ढल बनाइन्छ । बल्लतल्ल ढल बनिसक्छ फेरि अर्को महिना बिजुलीको पोल सारिन्छ । यो हेर्दाहेर्दा हाम्रो पुस्ता बुढो हुन थालेको छ । अब यसरी भएन । यसका लागि सबै खाले ठूला पूर्वाधार निर्माण गर्न र मर्मत गर्न आवश्यक पूर्वाधारको ‘प्याकेज’ बनाउँ । प्याकेजको ग्लोबल टेन्डर गर्नु उचित हुन्छ । एउटै मन्त्रालयबाट मात्र गर्ने हो भने सबैजसो काम योजना अनुसार छिटो सम्पन्न हुनेछ । अझ यसो गर्दा गुणस्तरका हिसाबले पनि राम्रो बन्न सक्छ ।

सहरी क्षेत्रका खानेपानी, ढल, सडक, बिजुली र टेलिफोन इन्टरनेटसँग सम्बद्ध पूर्वाधारलाई एकै बास्केटका माध्यमबाट निर्माण गर्न सकिए देशको ठूलो रकम जथाभावी खर्च हुनबाट जोगिनेछ । यस्तै, पुराना संरचनाहरू समेत एकीकृत परियोजनाका माध्यमबाट निर्माण गर्दा अझै प्रभावकारी हुनेछ । जस्तोकि, सडकको पिच उप्कियो भने हाम्रो सडक विभागले कालोपत्रले मर्मत गर्नुको सट्टा माटोले पुरेर सडक मर्मत गर्ने गरेको छ । अब यसरी भएन । हामीले अलिअलि पिच उप्किन लाग्यो भने, बिजुलीको पोल सार्न, खानेपानीको पाइप मर्मत गर्न ‘मर्मत सम्भार टिम’ बनाउँ । यो टिममा एउटा ‘पूर्वाधार एम्बुलेन्स’ राखौं । यो एम्बुलेन्सले मर्मत गर्नुपर्ने ठाउँमा तत्काल गएर मर्मत गरोस् । जसरी बिरामी हुँदा बोलाएको ठाउँमा एम्बुलेन्स पुग्छ, त्यस्तै होस् यो सेवा ।

देशलाई यतिबेला आर्थिक संकट छ। भौतिक संरचना पुनर्निर्माणका लागि खर्बौ रुपैयाँ आवश्यक परेको छ। त्यसैले राष्ट्रको फजुल खर्च कम गर्ने विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता छ।

तराई र पहाडी क्षेत्रका गाउँ इलाकामा कृषिका लागि आवश्यक बीउबिजन, मल तथा सिँचाइको प्रणाली एकै मन्त्रालयबाट गर्न सकिन्छ । नेपालको कुन रैथाने जातको बीउबिजन हो, कुन फलफूल वा तरकारीको उत्पादन कसरी गर्ने भन्ने हाम्रो वैज्ञानिक प्रणाली अत्यन्तै कमजोरमात्र छैन । पूरापूर कामचोरसमेत छ । अब यो प्रणालीलाई व्यावसायिक र समसामयिक विश्व बजारमा हाम्रा उत्पादन पु¥याउन सक्ने बनाउन जरुरी छ । थोरै नै किन नहोस् सरकारी सहयोगबिना दोलखाको भीमेश्वर नगरपालिकामा उत्पादन भएको अकबरे खुर्सानी यूएईमा निर्यात भइरहेको छ । सरकारले राम्रो नीति बनाउन सके नेपालको कृषि उत्पादन खाडी मुलुक निर्यात गर्न सकिने सम्भावना भीमेश्वरका किसानले देखाएका छन् ।

हाम्रोजस्तो थोरै जनसंख्या भएको देशका लागि धेरै मन्त्रालयको आवश्यकता पर्दैन । थोरै मन्त्रालय बनाउने तर प्रभावकारी काम गर्नका लागि मन्त्रालयका सचिवभन्दा तल एकजना ‘सीईओ’को संरचना बनाउँदा बेस होला । सीईओको भूमिका आफू मातहत भएका वा हुने कामको योजना, रिपोर्टिङ र छरितो शैलीको दैनिक कार्यादेश । यो संरचनाबाट आज हुने काम त्यहीदिन सक्ने र त्यही दिन रिपोर्टिङ गर्ने गरी काम गर्न सकिएमा ‘सरकारी काम कहिले जाला घाम’ भन्ने मानसिकताबाट मुक्ति पाउन सकिन्छ ।

यदि ‘सीईओ’ राख्न प्रशासनिक झमेला भए सहसचिवमध्येको वरिष्ठ र विज्ञलाई जिम्मेवारी दिन सकिन्छ । यति हो, हाम्रो संयन्त्रमा ‘काम’ कहिल्यै प्राथमिकतामा परेको छैन । अब यस्तो परम्पराले चल्दैन । चल्नु हुँदैन । प्रक्रियाका दृष्टिकोणले कुनै पनि योजना पूरा गर्न निकै लामो समय लिने गरिएको छ । टेन्डर प्रक्रिया झन्झटिलो छ । खरिद प्रक्रिया त्यस्तै छ । मन्त्रालयमात्रै होइन, सरकारी कार्यालयका लेखापाल, लेखा अधिकृत सबै बिचौलियाको जालोमा छन् । तिनलाई चिर्न खरिद प्रक्रियालाई पारदर्शी बनाउन जरुरी छ । देशलाई यतिबेला आर्थिक संकट छ । भौतिक संरचना पुनर्निर्माणका लागि खर्बौ रुपैयाँ आवश्यक परेको छ ।

त्यसैले राष्ट्रको फजुल खर्च कम गर्ने विषयमा पनि चनाखो हुनुपर्ने आवश्यकता छ । यतिबेला हामी उठौं, आफ्नो आफ्नो ठाउँबाट उठौं । पुनर्निर्माणमा जुटौं । देशलाई हामी सबैको खाँचो छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.