मिडिया भर्सेस सामाजिक सञ्जाल
समाज परिवर्तनशील छ। अहिले सामाजिक सञ्जालले मिडियालाई गाइड गरिरहेको जस्तो देखिन्छ। राज्यका तीनवटै अंगहरूलाई चेक एण्ड ब्यालेन्स गर्ने भएकाले मिडियालाई चौथो अंगको मान्यता दिइएको हो, यसका मूल्य तथा मान्यताहरू पनि समयअनुसार परिवर्तित हुँदै जान्छन्। कुनै बेलामा अघिल्लो दिनको समाचार भोलिपल्ट मात्रै पढ्न पाउने समय थियो। हामी राजधानीभन्दा बाहिरकाहरूले त २/३ दिनमा मात्रै पत्रिका पढ्न पाउँथ्यौं। त्यतिबेला घटनाक्रम पुराना भइसकेका हुन्थे। समाचार बासी भइसकेका हुन्थे।
समाचारका विश्वसनीय स्रोतहरू तीनै पत्रपत्रिका थिए। त्यस्तै रेडियो नेपाल र नेपाल टेलिभिजन समाचार र मनोरञ्जनका माध्यम थिए। सीमित माध्यमबाट मात्रै सूचना र मनोरञ्जन प्राप्त गर्न सकिन्थ्यो तर आजकाल सामाजिक सञ्जालका कारण लाइक, भ्युज र कमेन्टका आधारमा त्यसको मानक गरिने समय आएको छ। कुन मूलधारका मिडिया? कुन विश्वसनीय स्रोत? कुन सामाजिक सञ्जाल? यसको भेउ पाउन साँच्चै नै मुस्किल भइसकेको छ। सामाजिक सञ्जालमा के गर्दा भ्यूज पाउन सकिन्छ? त्यो कन्टेन्ट क्रियटरले राम्रोसँग बुझेका छन्। अहिले सभ्यभन्दा पनि असभ्य कन्टेन्टले राम्रो अडियन्स पाएका छन् भन्दा फरक पर्दैन। अलिक उत्तेजित कन्टेन्ट दिएकाहरू रातारात हिट भएका उदाहरण प्रशस्तै छन्। मिडियाले पस्कने विषयवस्तु समाजमा भ्युज पाउने भन्दा पनि समाजप्रति जिम्मेवार र उत्तरदायी हुनुपर्छ। एकाएक हिट हुने भन्दा पनि समय र परिस्थिति अनुसार फिट हुने अनि सरकारलाई सचेत बनाउँदै नागरिकप्रति उत्तरदायी हुनुपर्छ।
मिडियाले समाजका कुरा सुन्नुपर्छ। बुझ्नुपर्छ। यदि समाज विपरीत गयो भने मिडियाले पूर्णरूपमा आफ्नो धर्म निभाउन सक्दैन। त्यसोभए समाजले हेर्न र सुन्न रुचाइरहेको कुरामात्रै मिडियाले प्रस्तुत गर्ने हो? अब मुख्य प्रश्न यहीँ आउँछ। सामाजिक सञ्जालहरू व्यक्तिका निजी विषयवस्तु पस्किने माध्यम हुन् भने सार्वजनिक चासोका विषय पनि नउठ्ने भने होइनन्। यी माध्यमहरूमा आएका सबै कन्टेन्ट वैधानिक नहुन पनि सक्छन्। कतिपय अनुमान र अन्दाजका भरमा मानिसहरूले आफ्ना विचार राखिरहेका हुन्छन्। यसलाई प्रजातन्त्रको सुन्दर पक्षका रूपमा लिन सकिन्छ। विचार अभिव्यक्ति स्वतन्त्रताको अधिकारलाई हाम्रो संविधानले सुनिश्चित गरेको छ। तर, मिडियाले सत्यतथ्य विषयलाई मात्रै उजागर गर्नुपर्छ। यो मिडियाको धर्म हो। धर्म पालना गर्नमा यो क्षेत्र कति चुकेको छ? वा, इमान्दार छ? त्यो फेरि समाजले छुट्याउने विषय भयो।
अब कुरा गरौं सामाजिक सञ्जालको। आजकाल सूचनाको तत्कालै पहुँच हुन्छ। यसका लागि सेकेण्ड नै काफी छ। कुनै विषयबस्तुलाई नियाल्ने, विश्लेषण गर्ने समय छैन। न त अध्ययनमा नै रुची छ। ५ सेकेण्डका भिडियोहरू हेरेर धारणा बनाउने समय आइसक्यो। जति बढी कराउन सक्यो, जति चर्को स्वरमा भाषण दिन जान्यो, जति अरुको विरोध गर्यो, त्यति नै सफल हुने संस्कार बस्दै गइरहेको छ। प्रजातान्त्रिक पद्धतिमा प्रश्न गर्न पाइन्छ र पाउनुपर्छ। गलतलाई गलत भन्न पाइन्छ, पाउनुपर्छ? तर, के प्रश्नका ठेलीहरूरुले मात्रै हाम्रा समस्याको समाधान निकाल्न सक्छन्?
हाम्रा नेताहरूप्रति आम मानिसको वितृष्णा थियो। यो केही समय अगाडिदेखि उठ्दै आएका विषयहरू उनीहरूले नजर अन्दाज नै गरे। जेनजीहरूले उठाएका मागहरू अत्यन्तै जायज थिए। सरकारले सामाजिक सञ्जाल बन्द गरायो। प्रवधिको युगमा प्रविधि नै बन्द गर्नु उचित थियो? नेताका सन्तानले बिताएको विलासी जीवनशैलीमाथि उनीहरूले प्रश्न गरे। के यो गलत थियो? सुशासन र भ्रष्टाचारविरोधी अभियानमा हाम्रा घरबाट निस्किएका जेनजीहूका मागहरू पक्कै गलत थिएनन्। कदापि थिएनन्।
भदौ २३ गतेको उनीहरूको आन्दोलन शान्तिपूर्ण थियो। आफ्नो जन्मभूमि भ्रष्टाचार मुक्त होस्। नेपालमै बस्ने वातावरण निर्माण गर्ने अभियान गलत हुनसक्छ? पक्कै हुँदैन। यस्तो महत्वपूर्ण समयमा मिडियाको भूमिका साँच्चै महत्वपूर्ण हुन्छ। भएका विषयबस्तुलाई जिम्मेवार भएर पस्किनु उसको मूल मर्म हो। विषम परिस्थितिमा सामाजिक सञ्जाल संयमित थिए? पक्कै पनि थिएनन्। मथिङ्गल घुमाउने विषयबस्तु र प्रस्तुतिले आममानिसलाई आक्रामक बनाइरहेको थियो। समाजका चर्चित व्यक्तिहरूले सिंहदरबार, सर्वोच्च अदालत, संसद् भवन जलिरहँदा ठीक भयो भन्ने तुच्छ प्रतिक्रिया दिँदै नागरिकलाई उक्साइरहेका थिए। हामी सबैको साझा सम्पत्ति जलिरहँदा नेपालीको मन खुसी हुन्छ? यस्तो समयमा मिडियाले त्यस्ता उशृंखल क्रियाकलापलाई सही भन्न सक्छ? यसरी नै छुट्याउन सकिन्छ कि सामाजिक सञ्जाल के हो? मिडिया के हो? भीड के हो? आजको पुस्ताले यसको भेउ पाएर सहीलाई सही र गलतलाई गलत भन्ने अवस्था सिर्जना भएको भए सायद यति ठूलो क्षति हामीले भोग्नुपर्ने थिएन।
नेताहरूले देश बिगारे। पक्कै पनि नेताहरूरुले देश बिगारेकै हुन्। केही नेताहरू कमाउ धन्दामा लागेकै हुन्। आफ्ना छोराछोरी विदेशका राम्रा कलेजमा पढाएर आम नेपालीका छोराछोरीले नेपालमा जागिरसमेत पाउन नसक्ने अवस्था बनाएकै हुन्। यस्ता बेथिति र अन्यायका विरुद्धमा मिडियाले जति आफ्नो धर्म निभाउनुपर्थ्यो त्यो नसकेकै हो। भ्रष्टाचारविरोधी समाज निर्माणमा मिडिया आफ्नो बलियो खबरदारीको प्रस्तुतिबाट चुकेकै हो। तर, जसरी सामाजिक सञ्जालले भ्युज क्रियट गरेर दानवीकरण वा राक्षसीकरणको ट्रायल गर्दैछ, वास्तवमा यो थ्योरीले समाजलाई कता लाँदैछ? आजका नयाँ पुस्तालाई हामीले के शिक्षा दिइरहेका छौं? सबै पार्टीहरूलाई चोरको बिल्ला भिराइएका छौं। सबै नेतालाई खराबको उपमा दिएका छौं। सिंगो पार्टी कसरी खराब हुनसक्छ? नेतृत्व लिने गलत हुन सक्छन्। उनीहरू भ्रष्टाचारी/ब्यभिचारी हुन सक्छन्।
कतै हाम्रो शिक्षा प्रणाली नै पो गलत भयो कि? राम्रो र नराम्रोको भेउ पाउन नसक्ने पुस्ता तयार गर्ने हाम्रो जिम्मेवारी होइन? अबको पुस्ताले मिडिया र सामाजिक सञ्जालको भेउ पाउनैपर्छ। भीडको पछि लाग्नु हुँदैन। १०/२० लाख फलोअर्स हुनेहरुले बोलेका सबै कुरा सत्य नहुन पनि सक्छ। उनीहरूले फलोअर्स बढाएर पैसा कमाउने फण्डा निकालेका पनि हुन सक्छन्। त्यसकारण मिडियाको परिपूर्ति मिडियाले मात्रै गर्न सक्छ। मिडियाको विकल्प मिडिया नै हो। मिडिया र सामाजिक सञ्जाल बीचको भिन्नता छुट्याउनैपर्छ। समयले फरक परिदृष्य देखाएको छ। लाइक, भ्युज, शेयर राम्रो नहुने कन्टेन्ट पनि गुणात्मक हुन सक्छन्। धेरैले हेरेका र हेरिने विषयवस्तुहरू भ्रमित पार्ने खाले पनि हुन सक्छन्। यो आजको पुस्ताले बुझ्नैपर्ने छ। अब मिडिया र सामाजिक सञ्जाल बीचको भिन्नता छुट्याउनैपर्छ। मिडिया थप जिम्मेवार बन्नैपर्छ। सामाजिक सञ्जालले परिवर्तनको आवाज उठाउन सक्छ। समाजलाई सत्य तथ्य सूचना दिएर सही बाटोमा लैजान सहयोग गर्ने मिडियाको विकल्प सामाजिक सञ्जाल हुन सक्दैन। त्यसैले मिडिया र सामाजिक सञ्जाल बीचको भिन्नता छुट्याउन ढिला भइसकेको छ।
प्रतिक्रिया दिनुहोस !