फेरियोस् राजनीतिको रंग
राजनीति सत्तामुखी होइन, परिवर्तनमुखी बन्नुपर्छ भन्ने सत्य कुरो दलहरूले बिर्संदा नागरिकको निराशा विस्फोट भएको हो। आधारवर्गको हितलाई शिरोपर गर्नुपर्ने अभिभारालाई नकार्दा दलहरूकै अवसानको आधार बन्यो।
भदौ २३—२४ को अवस्थापछि देशमा अन्योलता र अस्थिरताको पूर्ण विश्राम भइसकेको छैन। यो हैसियतको नागरिक प्रतिकार कसरी सिर्जना भयो र प्रायोजक को होला ? भनेर मनगढन्ते निष्कर्षमा पुग्ने प्रयासहरू निरन्तर छन्। घटेका घटनाको वस्तुनिष्ठ विश्लेषणमार्फत परिस्थितिसँग ज्ञात रहनु आवश्यक त हो नै। तर त्योभन्दा बढी आवश्यकता अबको अपेक्षित मार्गचित्र के हो, कसरी अगाडि जानुपर्छ भन्ने नै हो। यो पाटोमा राजनीतिक अभ्यास चुकिरहेको छ। विद्रोहबाट स्थापित र विस्थापित दुवै पक्षले यस कार्यमा यथोचित ध्यान नदिएको देखिन्छ।
जबसम्म दलहरूमा देशका नागरिकभन्दा सीमापार शक्तिमाथि विश्वास र शंका दुवै बढिरहन्छ, तबसम्म उनीहरूले सोचेभन्दा अलिक उपल्लो स्तरको कुनै गतिविधि भयो भने त्यसलाई जनताको मौलिक र रैथाने प्रतिक्रिया सट्टा कसैको प्रायोजन भनेर आफ्नै नागरिकको साहसलाई नजरअन्दाज गर्दै अझै पनि मनमौजी बन्दैरहने छन्। यो प्रकारको नागरिक सचेतना र विद्रोह नेपालमा मात्रै नभएर अन्यत्र पनि चलेका छन्। नेपालमा पनि युवा समाजशास्त्री डा. राम गुरुङ यस विषयमा निरन्तर खबरदारी गरिरहेकै छन्। वैदिक षडदर्शनको एउटा मुख्य अंश न्याय दर्शनमा ‘करकारणर्य सम्बन्ध’को चर्चा छ।
हरेक कार्यको कारण हुन्छ, पछिल्लो प्रतिकारको पनि कारण छ। यसलाई मनन् गरेर आगामी मार्गचित्र तयार गर्नुपर्छ। यथोचित ध्यान दिन नसके नेपालको राजनीतिक पर्यावरण अझ धमिलिन र प्रदूषित हुन सक्छ। अबको विकल्प यो मात्र हो कि राजनीतिप्रतिको अवधारणा र अभ्यास दुवै फेरिनु पर्छ।
हिजोसम्म जेल बसेको, यातना भोगेको, आन्दोलनको नेतृत्व गरेको, विद्रोह उठाएको कुरा नेताको वाञ्छनीय योग्यता मानिन्थ्यो। अहिलेका अधिकांश नागरिक समूहले यो पक्षलाई न त भोगेको छ, न त त्यसमा केही अभिरुचि राख्दछ। हामीले क्रान्ति गर्र्यौं, राणाशासन ढलायौं, प्रजातन्त्र ल्यायौं, गणतन्त्र स्थापित गर्यौं भन्ने दलहरूको दाबा हुन्छ। यी आन्दोलनमध्ये धेरै अथवा कुनै पनि आन्दोलनलाई नदेखेको, नभोगेको, नजानेको दस्ताको नागरिक संख्या अधिक भइसक्यो। अब तत्काल नागरिकमाझ को कति लोकप्रिय छ, आफ्नो पेसा र क्षेत्रमा कति काबिल छ भन्ने कुरा महत्वपूर्ण हुन्छ। आफू संलग्न क्षेत्रमा सक्षम मानिएको र अब्बल ठहरिएको अनि नतिजा देखाएको निपुण मानिस राजनीतिमा आऊन् भन्ने आशा गर्छ। उनीहरूले कम्तीमा राज्यको ढुकुटीलाई आफ्नो जीवन निर्वाहका लागि दुरुपयोग गर्नु पर्दैन भन्ने मान्यता राख्छ। उनीहरू जुन क्षेत्रमा दक्ष र विज्ञ छन् उक्त क्षेत्रमा सघन प्रगति र पुनर्निर्माण गर्न सक्छन् भन्ने विश्वास बोक्छ।
जान्नेलाई छान्ने भन्नेजस्ता अभियानलाई रुचाउँछ वर्तमान पुस्ता। यस पटक मन्त्रिमण्डलमा खोजी गरिएका पात्रहरूको बनावटलाई हेर्दा पनि थाहा हुन्छ कि नागरिकले दक्षता र विज्ञताका व्यक्तित्व रुचाउँछन्। अभिमानी, आडम्बरी र तानाशाही उर्पm नेता होइन। हामीकहाँ जुलुस लगाएकै र ढुंगा हानेकै कुरालाई राजनीतिक सक्रियताको मानक मान्ने भुलभुलैया बस्यो। अनि राजनीतिक अभ्यासमा रहेकै कारण सर्वज्ञान सम्पन्न हुने, उनीहरूले सबै थोक जान्ने, कसैसँग सरसल्लाह लिनुसमेत नपर्ने विचलन सुरु भयो। राजनीतिक अभ्यास युवाले गर्नुपर्छ, त्यो विज्ञता र दक्षताबाट निर्देशित रहनुपर्छ। राजनीति सत्तामुखी होइन, परिवर्तनमुखी बन्नुपर्छ भन्ने सत्य कुरो दलहरूले बिर्संदा नागरिकको निराशा विस्फोट भएको हो। आधारवर्गको हितलाई शिरोपर गर्नुपर्ने अभिभारालाई नकार्दा दलहरूकै अवसानको आधार बन्यो।
अहिलेको राजनीति रिभोलुसनरी (क्रान्तिकारी) होइन, रिर्फरमेटिभ (सुधारात्मक) अभ्यास र प्रयोगबाट मात्र सही बाटोमा हिँड्छ। अनुहार, दलीय अनुबन्धन, नेतृत्वको भजनकीर्तन अनि देवत्करणमा रमाउने र सत्तोसरापको बहाबमा बहनेहरूको अस्तित्व सकिन्छ। नागरिक सेवामा दत्तचित्त रहँदै नागरिक पहिलो प्राथमिकता (सिटिजन फस्ट)को अवधारणालाई अवलम्बन गर्न दलहरू अग्रसर बन्नुपर्छ। हरेक पार्टीको हैसियत नागरिकबाट प्राप्त मतमा आधारित हुन्छ। अब दलले आफूलाई बचाइराख्ने हो भने योग्य, दक्ष, युवा, काबिल व्यक्तिहरूको पूर्ण समावेशी समूहलाई निर्वाचनमा प्रस्तुत गर्नुपर्छ।
संगठन, सदस्यता, समिति, दलको प्रमुख नेता भनेरमात्र मत आउँदैन। सबै दल गरेर जम्माजम्मी २५ देखि ३० लाखको संख्यामा संगठित सदस्य होलान्। एक करोड ८० लाख बढी मतदातामा बाँकी १ करोड ५० लाख दलविहीन विशुद्ध मतदातामात्र हुन्। सबै दलका कार्यकर्ता अथवा संगठित सदस्यताको सम्पूर्ण योगभन्दा मतदातामात्रको अनुपात पाँच सय प्रतिशत बढी छ। उनीहरू संगठन जान्दैनन्, सदस्यता चिन्दैनन्, उम्मेदवार मन परे/नपरे पनि मत दिनुपर्छ भन्ने दलीय ह्विपमा बाधिदैनन्। दलको माथिल्लो तहको मान्छे उम्मेदवार भएपछि मरिमेटेर विजयी बनाउनुपर्छ भन्ने सम्झँदैनन्।
अहिलेको राजनीति रिभोलुसनरी (क्रान्तिकारी) होइन, रिर्फरमेटिभ (सुधारात्मक) अभ्यास र प्रयोगबाट मात्र सही बाटोमा हिँड्छ।
त्यो पाँच सय प्रतिशतले बढिरहेको मतदाताको आकांक्षा र रोजाइमा राम्रा, योग्य, सम्भावना बोकेका र कार्यसम्पादन गर्न सक्ने व्यक्ति पर्छन्। अबको राजनीतिमा विज्ञता र व्यक्तित्व प्रभावी रहन्छ, पार्टी र सदस्यता होइन्। २१औं शताब्दी मास बेस्ड राजनीतिको समय हो। राजनीतिक बहाब निर्माणमा सञ्चारको प्रभाव अधिक रहन्छ। अमेरिकाका पूर्वराष्ट्रपति बाराक ओबामाले आफ्नो पुस्तक ‘एडासिटी अफ होप’मा यसलाई राम्ररी विश्लेषण गरेका छन्। खाली एकोहोरो रटान र आत्मरति भजाएरमात्र हुँदैन।
अब दलहरू सच्चिनुपर्छ। अहिलेका शीर्ष नेतृत्वले अभिभावकीय भूमिका मात्र निर्वाह गर्नुपर्छ। सक्रिय राजनीतिमा सक्षम र युवा पुस्तालाई अगाडि सार्नुपर्छ। अहिले रहेका लगभग सबै ठूला भनिएका दलका शीर्ष नेता राजनीतिक जीवनको अन्तिम उत्तरार्धमा छन्। पार्टीको प्रमुखका हिसाबले उनीहरूको यो अन्तिम इनिङ हो। विगतकै जस्तो नेतृत्व कौशल र आडम्बरलाई अवलम्बन गरे अब उनीहरूको अन्त्यसँगै उनीहरूको दलको पनि अन्त्य हुने जोखिम बढ्दो छ। आपूm जाँदाजाँदै पार्टीलाई पुनर्जीवन दिन सकारात्मक र रचनात्मक अभ्यास गर्नुपर्छ। भित्री मनमा यही दबाब निर्माणको अभिलाषा राखेर नागरिक र विशेषगरी सहरकेन्द्रित विद्रोह सुरु भएको छ।
तुलनात्मक रूपमा ऊर्जावान् समूहले विद्रोहको बिगुल बजाएको छ। एकै दिनमा राज्यसत्तालाई हायलकायल पारेको छ। यो पुनः नदोहोरिएला भन्न सकिन्न। दल तथा नेतृत्वले प्रतिकारको सन्देश विचरण गर्नुपर्छ, आफूलाई विनिर्माण गर्न विराट प्रयास लगाउनुपर्छ। सदस्यता वितरणसट्टा विज्ञता आकर्षणमा लाग्नुपर्छ। नेतृत्वले उदार हुँदै सम्मानजनक बहिर्गमन वा अवकाश रोज्नुपर्छ। युवा र भिजन भएका नयाँ पुस्ताले सशक्त र सकारात्मक हस्तक्षेप गर्नुपर्छ। दलहरूले आफूलाई कायापलट गर्न नसके नागरिकले उनीहरूलाई कत्लेआम गराउने पक्का छ।
सरकारका तर्फबाट देशवासीका नाममा सम्बोधनमार्पmत केवल निर्वाचन गराउने जिम्मेवारीमात्र आफ्नो कार्यक्षेत्र भएको सार्वजनिक स्वीकार भइसकेको छ। जसले प्रतिकार गर्यो, ऊ आफैं सरकार हड्पन खोजिरहेको छैन, सरकारले अब्बल काम गरोस नै भन्दैछ। दलविहीनताको वकालत गरेको छैन, संविधान मन्दैनौं भनेको छैन। केवल आत्मसन्तुष्टिका लागि हिजो कसैले भाग्न हेलिकप्टर दिन्छौं भन्थ्यो अथवा कोही सिंहदरबार जलाउँछु भन्थ्यो भनेर कथ्य र कहानीको तालमेल खोज्नु चाहिँ मूर्खतामात्र हुनेछ।
यदि आम सकरात्मक सन्देश दिने गरी दलहरू सुध्रन नसेकमा उनीहरूले यो पनि मनन् गनुपर्छ कि यो नै अन्तिम विद्रोह नहुन पनि सक्छ। राजनीतिक संकट झन् बढी गहिरिन सक्छ। तर दलहरूले हामी पूर्णरूपमा सुध्रिएका छौं भन्ने स्पष्ट सन्देश दिने गरी दल भित्र र आगामी निर्वाचिन लक्षित गतिविधि स्पष्ट पार्न सक्दा राजनीति छिट्टै लयमा फर्कने कुरामा खासै शंका गर्नु पर्दैन।
प्रतिक्रिया दिनुहोस !