हिमाली भेगका किसानलाई करु भित्र्याउने चटारो
गोरखा : पहाड र तराई भेगमा तिहारको रमझम चलिरहँदा हिमाली भेगमा भने करु भित्र्याउने चटारो छ। उत्तरी गोरखाको नुब्री उपत्यकामा केही दिनदेखि करु काट्ने सिजन सुरु भएको चुमनुब्री २ ल्होका सांगेदोर्जे लामाले जानकारी दिए।
३१०० मिटर उचाइमा रहेको ल्हो फाँटमा अहिले किसानहरू करु काट्न व्यस्त रहेको लामाले बताए। ‘यहाँको मुख्य खेती करु हो,’ उनले भने, ‘अहिले करु भित्र्याउने सिजन छ, त्यसैले गाउँलेहरुलाई बिहानैदेखि करु काट्न भ्याइनभ्याइ छ।’ गाउँलेहरु अर्मपर्म गरेर करु भित्र्याउने गर्छन्।
यो करु गत साउनमा रोपिएको थियो। ‘उच्च हिमाली हावापानीका कारण ३००० मिटरभन्दा माथि वर्षमा दुईपटकमात्र खेती बाली लगाइन्छ’, लामाले भने, 'चैतमा लगाएको करु असारमा काटिन्छ, फेरि साउनमा लगाएर कात्तिकमा काटिन्छ। अब बाली फेरेर मकै अथवा आलु लगाउनु पर्छ। करु नै लगाउने हो भने चैतसम्म जग्गा खालि राखिन्छ, मकै, आलु लगाउने हो भने मङ्सिरमा लगाएर असार, साउनमा भित्र्याइन्छ।’
विशेषगरी करु चम्पा, खोले र ढिँडो बनाएर खानका लागि प्रयोग हुन्छ। आफ्नो उत्पादनले कसैलाई वर्षभरिलाई पुग्छ भने कोही बेसाएर खाने गर्छन्।
उच्च हिमाली भेगको करु स्वादिलो, पोषिलो हुने हुँदा काठमाडौं बस्नेहरूले पनि झिकाएर प्रयोग गर्ने गर्छन्। तर पछिल्लो समय भालु, मृग, झारललगायत जंगली जनावरले बालीनाली सखाप पार्ने गरेकाले किसानहरू हैरान छन्।
प्रतिक्रिया दिनुहोस !