हर्मीतको आक्रमक अर्धशतसहित सुदूरले काठमान्डुलाई दियो १४८ रनको लक्ष्य
सुदूरपश्चिम रोयल्सले काठमान्डु गोर्खाजलाई १४८ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। बुधबार त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको सुदूरपश्चिम रोयल्स २० ओभरमा अलआउट हुँदै १४७ रन बनाएको हो।
सुदूरपश्चिम रोयल्सका लागि हर्मीत सिंहले सर्वाधिक ५३ रन बनाए। उनले २० बलमा २ चौका र ६ छक्का प्रहार गरे। सातौं विकेटका लागि दिपेन्द्र सिंह ऐरी र हर्मीत सिंहले ६१ रनको साझेदारी गर्दै टिमलाई १ सयमाथि स्कोरमा पुर्याएका हुन्।
३ ओभरको खेल सकिँदा ४ रनमात्रै जोड्दै ३ विकेट गुमाएको सुदूरका लागि चौथो विकेटको रुपमा इशान पाण्डको विकेट गयो। इशानले ९ बलमा १ चौका र १ छक्का प्रहार गरे। पाँचौं विकेटको लागि आरिफ शेख र दिपेन्द्र सिंह ऐरीले २३ रनको सानो साझेदारी बनाए।
आरिफले व्याक्तिगत २५ रन बनाएर रासिद खानको बलमा एलबीडब्ल्यू आउट भए। दिपेन्द्र सिंह ऐरीले ३९ रन बनाए। अन्य कुनैपनि ब्याटरको ब्याटबाट दोहोरो रन बनेन । हेमन्त धामी ३ रनमा अविजित हुँदा अभिनाश बोहोरा १ रनमा बोल्ड भएका हुन्।
काठमान्डुका लागि करण केसीले सर्वाधिक ४ विकेट लिए। मिलिन्द कुमार, सन्नी पटेल र रासिद खानले २–२ विकेट लिए।
काठमान्डुको यो दोस्रो खेल हो भने सुदूरको यो पहिलो खेल हो। काठमान्डुले पहिलो खेलमा जनकपुर बोल्ट्सलाई ५ विकेटले हराएको थियो।
प्रतिक्रिया दिनुहोस !