अब्बल कर्णालीको ओरोलो यात्रा !
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करणमा प्लेअफसम्मको नतिजा पाएको कर्णाली याक्स दोस्रो संस्करणमा अझ राम्रो नतिजा चाहन्थ्यो। नेपालका अनुभवी अलराउन्डर सोमपाल कामीको नेतृत्व र नेपालका पूर्वकप्तान तथा वर्तमान राष्ट्रिय टिमका सहायक प्रशिक्षक ज्ञानेन्द्र मल्लको टिम यतिबेला ५ खेलमा ४ खेल हार्दै आफ्नो प्लेअफ सम्भावनामा धरमराइरहेको छ।
नेपाली स्टार खेलाडीले भरिएको यो टिमले ‘मैदानमा स–साना गल्तीहरू दोहोर्याउँदा खेलहरू हारिरहेको छ,’ यो भनाइ टिमका एक खेलाडीको हो। काठमान्डु गार्खाजसँग ५ विकेटले पराजित भएपछि टिमको प्लेअफ सम्भावना धरमराएको हो। काठमान्डुसँग ५ विकेटको हारपश्चात् कर्णाली याक्सका अलराउन्डर गुल्सन झाले भने, ‘हाम्रो टिममा सानो–सानो मोमेन्टहरु मिस गरिरहेका छौँ। त्यसैले गर्दा नतिजा हाम्रो पक्षमा छैन।’ गुल्सनका अनुसार टिमको क्षमताहरूलाई गल्तीले छोपिरहेको छ।
कर्णाली याक्स यस्तो टिम हो, जुन टिमका खेलाडीले यो सिजनको एक मात्र शतक प्रहार गरे। मार्क वाटले लुम्बिनी लायन्सविरुद्ध शतकीय पारी खेले। यो खेलमा सोमपाल कामीको नेतृत्वमा रहेको यो टिमले जित निकाल्यो। जुन कर्णालीको हालसम्मको एक मात्र जित हो।
पहिलो खेलमा चितवन राइनोजसँग ४ विकेटले हार्दै प्रतियोगिता सुरु गरेको कर्णालीले त्यसपछि दोस्रो खेलमा लुम्बिनी लायन्सलाई ९ विकेटले जित्दै राम्रो वाउन्सब्याकको सम्भावना देखाएको थियो। तर त्यसपछि लगातारको ४ हारले टिमको मनासयमा र मानसिकतामा नै असर पारेको छ। पहिलो खेलमा हार बेहोरेपछि कर्णाली याक्सका कप्तान सोमपाल कामीले ‘हामी २०० प्रतिशत पक्का विश्वासका साथ बाउन्स ब्याक गर्छौं।’ भनेका थिए। उनले भने जस्तो प्रतियोगिताको दोस्रो खेलमा कर्णालीले लुम्बिनी लायन्समाथि जित निकाल्यो । दोस्रो खेलमा जितपछि टिम लयमा फर्किएको हो कि भन्ने समर्थकको आशालाई कर्णालीको तेस्रो खेलको नतिजाले निराशामा फर्कायो ।
समर्थकको आस काठमान्डु गोर्खाजसँग ५ विकेटको हारपछि लगभग सकियो। टिमले अब लिगका बाँकी दुई खेलहरू जित्नै पर्ने हुन्छ। त्यति मात्रैले काफी हुँदैन। प्लेअफका लागि अन्य टिमको नतिजामा पनि भर पर्नुपर्ने हुन्छ। लिग चरणको ५ खेलमा ४ हारपछि कर्णाली याक्स ८ टिममध्ये अंक तालिकामा छैटौँ स्थानमा रहेको छ।
विदेशी खेलाडीको भरमा कर्णालीको ब्याटिङ

कर्णाली याक्सले विदेशी खेलाडी अनुबन्ध गर्दा उनीहरूको ब्याटिङको तथ्याङक हेरेर अनुबन्ध गरेको थियो।
कर्णालीको ४ मुख्य ब्याटर भारतीय प्रियांक पञ्चाल, स्कटल्यान्डका मार्क वाट, अष्ट्रेलियन विलियम वासिस्टो र अफगानिस्तानका मिडलअर्डर ब्याटर नाजिबुल्लाह जद्रान यी चार ब्याटरको भरमा कर्णालीको शीर्ष क्रम छ।
मध्यक्रममा नेपाली अलराउन्डरमा भर परेको कर्णालीको शीर्ष ४ विदेशी ब्याटरको प्रदर्शनमा निरन्तरता नहुँदा ब्यटिङ धरापमा परेको हो। भारतीय ब्याटर प्रियांक पञ्चालले पहिलो खेलमा चितवन राइनोजसँग ९० रनको पारी खेले। पहिलो खेलमा उनले देखाएको आशा दोस्रो, तेस्रो, चौथो र पाँचौँ खेलमा घट्दै गयो। दुई खेलमा डकआउट भए।
कर्णालीका लागि स्कटिस ब्याटर मार्क वाट दोस्रो संस्करणको एनपीएलमा शतक प्रहार गर्ने एक मात्र खेलाडी हुन्। मार्कले लुम्बिनी लायन्सविरुद्ध ११४ रनको अविजित पारी खेलेका थिए। जुन कर्णालीको पहिलो जितको आधार थियो। विलियम वासिस्टोले दोस्रो खेलमा लुम्बिनी लायन्ससँग २९ रनको अविजित पारी र विराटनगरसँगको ४८ रनको पारी खेले। बाँकी खेलमा उनको पनि ब्याट चलेन। नाजिबुल्लाहले टिमका लागि विजयी पारी खेल्न सकेका छैनन्।
यी चार ब्याटरमा भर परेको कर्णालीको ब्याटिङ धरापमा छ। यी चार जनालाई नेपाली खेलाडीको साथ मिल्न सकेको छैन। पाँचौँ खेलमा आएर गुल्सन झाले स्टेपअप गर्न चाहे। तर उनको यो प्रयास टिमलाई दोस्रो जित दिलाउन काफी भएन। कप्तान सोमपाल बलिङसँगै तल्लो क्रममा आक्रामक ब्याटिङ गर्न रुचाउँछन्। तर उनका लागि पनि पाँच खेल सम्झन लायक भएको छैन।
नेपाली स्टार बलरको भरमा कर्णाली

कर्णाली याक्स नेपाली स्टार बलरहरुको समुह हो भन्दा दुईमत नहोला। सोमपाल कामीको नेतृत्वमा रहेको यो टिममा गुल्सन झा, नन्दन यादव, युवा स्पिनरद्वय विपिन प्रसाद शर्मा र युवराज खत्री रहेका छन्। यसमा युनिस विक्रम सिंह ठकुरी पनि राम्रो विकल्प हुन्। तर नेपालका स्टार बलरको समुह नै रहेको यो टिमले जित दिलाउन सकेको छैन।
जारी एनपीएलमा कप्तान सोमपाल पनि महँगो बलर सावित भइरहेका छन्। पाँचौँ खेलमा काठमान्डु गोर्खाजसँग सोमपालले पावरप्लेमा २ ओभरमा २६ रन खर्चिए। जब कि नेपाली बलरहरुलाई त्रिविको पिचको राम्रो जानकारी छ। लामो अनुभवका बाबजुत पनि कर्णालीको बलिङले खेल जिताउने खालको इनिङ्स खेल्न सकेको छैन।
स्पिनरहरुबाट सोचेको जस्तो नजिता निस्किरहेको छैन। युवा स्पिनर युवराज खत्री, विपिन शर्माबाट सायद टिमले ठूलो आशा राखेको थियो। तर यो कुरालाई टिमका अलराउन्डर गुल्सन मान्दैनन्, ‘पिचले निकै राम्रो खेलिरहेको छ। आउटफिल्ड निकै राम्रो (क्विक आउटफिल्ड) छ। हामी ब्याटिङमा पछि परिरहेका छौँ। पहिले स्पिनरलाई फेभर गर्ने पिचले पछि स्पिनरविरुद्ध पनि रन बनाउन सहज भयो। पिचले निकै राम्रो खेलिरहेको छ।’
फिल्डिङमा चिप्लिएको याक्स्
कर्णाली याक्सको फिल्डिङ नै यो प्रतियोगिताको सबैभन्दा ध्यान दिनु पर्ने पक्ष हो। क्याच ड्रप, मिस फिल्ड, जस्तो समस्याले कर्णाली ग्रस्त छ। पछिल्लो ५ खेलमा फिल्डिङको समस्या यथावत छ। ‘क्याचेच विन दी म्याचेच’ (क्याचले नै खेल जिताउँछ।) भन्ने भनाई क्रिकेटमा निकै प्रख्यात छ।
यस विषयमा टिमका अलराउन्डर गुल्सन झाले पाँचौँ खेलमा हार बेहोरेपछि स्विकार गर्दै भने, ‘क्याच त समात्नु नै पर्ने हो। कुनैपनि बहाना बनाउनु भएन।’ उनले विश्वकप छनोटमा नेपालको प्रदर्शनको उदाहरण दिँदै थप भने, ‘ब्याटिङ, बलिङमा समास्या भए पनि फिल्डिङ उत्कृष्ट हुनुपर्छ। हामीले विश्वकप छनोट खेलेर आयौं। ब्याटिङ, बलिङ मध्यम खालको भइरहेको थियो। तर हामीले फिल्डिङले गर्दा खेल जित्यौँ।’ यही कुरालाई उनले कर्णालीको प्रदर्शनमा ल्याएर जोडे, ‘हामी फिल्डिङमा चुकिरहेका छौँ। क्याच छुटिरहेको छ। रनआउट छुटेको छ। बाईहरु निस्किरहेको छ।’
खेलाडी आफैँलाई कमजोर लागेको पक्ष हो फिल्डिङ। यसमा कर्णालीले बाँकी रहेको दुई खेलमा सुधार गर्न सकेमा नतिजा केही फेरबदल हुन सक्छ।
प्रतिक्रिया दिनुहोस !