जनकपुरविरुद्ध चितवनका मलानको अर्धशतक
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणमा चितवन राइनोजका डेविड मलानले साविक विजेता जनकपुर बोल्ट्सविरुद्ध अर्धशतक बनाएका छन्।
मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस जितेर ब्याटिङमा आएको चितवनबाट ३८ बलमा ५० रन पूरा गरे। उनले दुई चौका र चार छक्का प्रहार गरे। प्रतियोगितामा मलानको यो पहिलो अर्धशतक हो।
जारी खेलको १२ ओभर समाप्त हुँदा चितवनले विकेट नगुमाई ९८ रन बनाएको छ। मलानले अर्का ओपनर अर्जुन साउदसँग हालसम्म ९८ रनको साझेदारी गरेका छन्। अर्जुन ४६ रनमा खेलिरहेका छन्।
लगातार चार खेल हारेर पुछारमा रहेको जनकपुरले यो खेल जितेर गणितीय हिसाबले भए पनि प्लेअफको दौडमा कायम रहन चाहन्छ।
चार खेलबाट दुई खेल जितेको चितवन भने यो खेल जितेर प्लेअफको सम्भावना बलियो बनाउन चाहन्छ। अपराह्न ४ बजे हुने दोस्रो खेलमा पोखरा र कर्णालीबीच भिडन्त हुनेछ।
दुवै टोलीका लागि यो खेल प्लेअफ पुग्न महत्त्वपूर्ण छ। चार खेलमा एक खेल मात्रै जितेको पोखरालाई यो खेल जिते प्लेअफको यात्रामा पुग्न सहज हुनेछ।
प्रतिक्रिया दिनुहोस !