विराटनगरले लुम्बिनीलाई दियो १४५ रनको लक्ष्य
काठमाडौं : नेपाल प्रिमियर लिग (एनपीएल)को दोस्रो संस्करणको लिग चरणको २२ औँ खेलमा लुम्बिनी लायन्सलाई विराटनगर किंग्सले १४५ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ। त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको विराटनगर किंग्सले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १४४ रन बनाएको हो।
विराटनगरका लागि लोकेश बमले सर्वाधिक ३५ रन बनाए। उनले ४२ बलमा समान २ चौका र २ छक्का प्रहार गरे।
विराटनगरका ओपनरद्वय पावरप्लेमा सस्तैमा आउट हुँदा विराटनगरको ब्याटिङ समस्यामा परेको थियो। जर्ज मुन्से डक आउट र फाफ डु प्लेसी १२ रनमा पेभेलियन फर्किए। फाफको लागि यो पहिलो खेल थियो। उनलाई लुम्बिनी लायन्सका युवा बलर अभिषेश गौतमले विकेट किपर निरोसन डिकवेल्लाको हातबाट स्टम्पिङ आउट गराए।
साम हेज्जलेटले २७ रन बनाए। नारायण जोशी ५ रनमा शेर मल्लको हातबाट एलबीडब्ल्यू भए। प्रतिश जिसी ११ रनमा रनआउट भए। सातौं विकेट वसिर अहमदको विकेट गयो। उनले १९ बलमा १ चौका र १ छक्का प्रहार गरे। साहिल पटेल ३ रनमा रनआउट भए। मर्चेन्ट डी लाङ्गे १० रन र सन्दीप लामिछाने ६ रनमा अविजित रहे।
लुम्बिनी लायन्सका लागि शेर मल्लले ३ विकेट लिए। उनले ४ ओभरमा २५ रन खर्चिए। जे जे स्मिथ, अभिषेश गौतम र रुविन ट्रम्पलमेनले १–१ विकेट लिए।
विराटनगर किंग्स र लुम्बिनी लायन्स दुवैको यो छैटौं खेल हो। विराटनगर किंग्सले यसअघिको ५ खेलमध्ये ४ जित र १ हार बेहोरेको छ।
विराटनगर किंग्सले पहिलो खेलमा पोखरा एभेन्जर्सलाई ५३ रनले हराएको थियो। दोस्रो खेलमा काठमान्डु किंग्सलाई ५ विकेट, तेस्रो खेलमा जनकपुर बोल्ट्सलाई ९ रनले हराएको थियो। चौथो खेलमा चितवन राइनोजसँग ४८ रनले पराजित भएको थियो। पाँचौं खेलमा कर्णाली याक्सलाई ३ विकेटले पराजित गरेको थियो।
लुम्बिनी लायन्सले यसअघिका ५ खेलमध्ये २ जित र ३ हार रहेको छ। पहिलो खेलमा चितवन राइनोजलाई ६ विकेटले पराजित गरेको लुम्बिनी लायन्सले त्यसपछि लागातार ३ खेलमा हार बेहोर्यो। दोस्रो खेलमा कर्णाली याक्ससँग ९ विकेट, काठमान्डु गोर्खाजसँग २२ रन र चौथो खेलमा सुदुरपश्चिम रोयल्ससँग ७ विकेटको हार बेहोरेको थियो। पाँचौं खेलमा पोखरा एभेन्जर्सलाई ३ विकेटले पराजित गरेको थियो।
प्रतिक्रिया दिनुहोस !