मत माग्ने शैली बदलियोस्
सामाजिक सञ्जालको रचनात्मक सदुपयोग पछिल्लो समयको सबैभन्दा बलियो अस्त्र हो।
भदौ २३, २४ को सशक्त नागरिक प्रतिकारपछि देश निर्वाचन उन्मुख छ। आम निर्वाचनको तालिका सार्वजनिक भई उम्मेदवार मनोनयनका प्रारम्भिक कामहरू समापन हुँदैछन्। निर्वाचन परिणामलाई जसरी पनि आफ्नो पक्षमा पार्न एकमात्र नभएर अनेक प्रकारका अभ्यास सबै दलहरूले अवलम्बन गर्दैछन्। पार्टीहरूको एकीकरणदेखि प्रधानमन्त्रीको भावी उम्मेदवारसम्म घोषणा गरिएका दृश्यले आम मतदातालाई बहस र छलफलको मसला पस्केको छ।
सबै दलहरूले यसपटक आफूले बाजी मार्ने भन्छन्। बहुमत प्राप्त गर्ने कुरामा कुनै संशय नरहेको पनि बताउँछन्। उनीहरूको दाबा चाहिँ कति पत्यारिलो छ भन्ने कुरालाई यसरी मनन् गर्दा ठीक होला। कोही एक व्यक्ति एक आफन्तजनलाई राजधानीको कोटेश्वरमा पर्खिएर बसेका थिए। फोन गरे, कहाँ आइपुग्नु भयो ? वनस्थलीतिरबाट आउनुपर्ने उनले भने सिनामंगल आइपुग्न लागे। त्यहीबेला उनी सवार रहेको सार्वजनिक यातायातको सहचालकले ठूलो स्वरमा बसभित्र सूचना दिँदै थिए, बसुन्धरा ओर्लने कोही छ ? यता पर्खेर बसेकालाई चाहिँ भेट्न आउने व्यक्ति सिनामंगल आइपुगेको पत्याउनुपर्ने बाध्यता थियो। दलहरूले पस्केका बहुमत ल्याउने दलिलहरू यस्तै हावादारी र मनमौजीबाहेक खासै विश्वासिला चाहिँ किञ्चित देखिँदैनन्।
धेरै दलहरू चाहिँ निर्वाचन जित्ने भुलभुलैयामा विभिन्न गठजोड गर्छन् र भत्कन्छन्। यसरी जोडिने केही थान टाउकाहरू कोही पण्डितले विभिन्न जजमानका घरबाट दानमा ल्याएका बेग्लाबेग्लै गाईहरू राखेको अनमेल गोठजस्ता छन्। न त स्वभाव मिल्छ, न त सोच, आचरण, न त धैर्य। तिनीहरूको झगडाले पण्डितलाई मात्र बिनासित्तिको तनाव।
अहिलेसम्म पनि सबै दलहरूले मत नागरिकले दिन्छन् र नागरिक लक्षित भएर गतिविधि अगाडि बढाउनुपर्छ भन्ने सद्बुद्घि लिन सकेका छैनन्। चर्का भाषणबाजी, आत्मरति र लोकप्रियतावादले बनेका पानीफोकाहरूको दृश्यमा नागरिकलाई आकर्षण गर्न खोज्ने पक्षलाई जोड दिइरहेका छन्। वास्तवमै आम जनतालाई मन भित्रैदेखि विश्वासिलो र परिपक्व आभास हुने शैली अपनाएर आकर्षण गर्न चाहिँ ध्यान दिइरहेका छैनन्। सकेका छैनन् कि चाहेका होइनन्, यो उनीहरूको आन्तरिक कुरा हो। सायद मत माग्न र नागरिकलाई आकर्षण गर्न यस्तो शैली पनि अपनाउन सम्भव हुन्थ्यो कि ?
दलहरूले आफ्ना तर्फबाट प्रस्तावित २ सय ७५ उम्मेदवारको एकदमै प्रभावकारी र इम्प्रेसिभ प्रोफाइल बनाएर यस्को विस्तृत विवरण आम नागरिकले अध्ययन गर्न मिल्ने गरी गुगल लिंक र क्यूआरमार्फत सार्वजनिक गर्ने अभ्यास कहिले थाल्छन् ? ती उम्मेदवारको प्रोफाइलमा उनीहरूको शिक्षा, पेसागत अथवा व्यवसायजन्य दक्षता, अनुभव, प्रकाशन तथा अनुसन्धान, सामाजिक सेवा र सामुदायिक भावनाका कार्यहरू, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उपलब्धि, सम्पत्ति विवरण, कर चुक्ता प्रमाणपत्र, विगतका केही उल्लेखनीय कार्य सम्पादन, पुरस्कार तथा सम्मानहरू, विशेष विशेषज्ञताका क्षेत्रहरूको विवरण आओस्। आम मतदातालाई यस्तो लागोस् कि एकदमै प्रभावशाली र योग्य मानिसहरू छान्न एवम् प्रक्षेपण गर्न लागिएको रहेछ।
उक्त प्रोफाइलमा सम्बन्धित निर्वाचन क्षेत्रमा पहिचान गरेका मुख्य १० समस्याहरू र उक्त समस्या हल गर्न लिन सकिने पहलहरू (नीतिगत तथा कार्यगत) को प्रस्तावप्रति समेत समावेश होस्। आफ्नो विशेषज्ञता भएको क्षेत्रको राष्ट्रव्पापी पुनर्संरचना र नवनिर्माणका लागि उम्मेदवारले प्रस्तुत गरेको विकास खाका अथवा मार्गचित्र पनि समावेश गरियोस्। प्रोफायलको अन्तिममा एउटा लिंक पनि राखिदिएर मतदाताको तर्फबाट कुनै सुझाव अथवा गुनासो छ कि भनी संकलन गर्ने पनि अभ्यास थालियोस्। खोक्रो भाषणबाजी सुनेर अब मतदाता प्रभावित हँुदैनन्। सिंगापुरदेखि स्विट्जरल्यान्डसम्म बनाउने भाषण सुनेर पाकेका कान निको भएका छैनन्।
उम्मेदवारहरूले आमसभा होइन, संवाद सभाको अभ्यास किन नगर्ने ? हरेक निर्वाचन क्षेत्रभित्र कृषक, शिक्षक, उद्यमी, व्यवसायी, विज्ञ, वकिल, सामाजिक अभियन्ता, कर्मचारीलगायत समूह तोकेर कम्तीमा ५० वटा समूहसँग छलफलमा बसी आफ्ना प्रस्तावित योजनालाई परिस्कृत गर्ने अभ्यास गर्ने सोच किन आउँदैन ? विगतमा धेरैले नराम्रो गरेको कुरा त सबैलाई ज्ञात नै छ। तर हामी राम्रो गर्छौं भन्नेहरूसँग पनि कसरी राम्रो गर्छौं भन्ने ब्लु प्रिन्ट किन हुँदैन ? अरूले बिगारे भन्ने होइन, हामी यसरी बनाउँछौं भन्ने खाका किन पस्कन सकिँदैन ?
छलफलमार्फत सम्बन्धित ठाउँमा नै योजनाको अन्तिमप्रति निर्माण गरी नागरिक घोषणापत्र तयारी गरी सामूहिक समझदारीमार्फत करार नै सही गर्ने अभ्यास कस्ले थाल्ने ? नागरिकले केवल आश्वासन र प्रतिबद्घतामा मात्र कति भर पर्नुपर्ने ? अकाउन्टेबेलेटी क्यालेन्डर निर्माण गरी यसको फलोअपका लागि आह्वान गर्ने आँट देखाउन पार्टीहरू किन हच्किरहेका छन् ? काम गर्न सक्छौं भन्नु पर्ने विलासी बाध्यता छ तर गर्न सक्छौं भन्ने आत्मविश्वास चाहिँ स्वयम् उनीहरूमा समेत नभएको होइन र ? नागरिक डायरी कार्यक्रम पनि केही देशमा अभ्यास गरिएको राम्रो अभियानको रूपमा छ।
सामाजिक सञ्जालको रचनात्मक सदुपयोग पछिल्लो समयको सबैभन्दा बलियो अस्त्र हो। लेखक युवल नोआह हरारीको पछिल्लो पुस्तक ‘नेक्सस्’मा अमेरिकामा २०१६ को चुनावताका नै कसरी डाटा माइनिंग र साइकोग्राफिक प्रोफाइलिंग गरिएको थियो भन्ने राम्रो विवरण छ। उम्मेदवारले कम्तीमा सयौं प्रभावकारी र कुशल टिकटक, सर्ट भिडियो वा रिल मटेरियलजस्ता सामग्री बनाएर सामाजिक सञ्जालमार्फत प्रेषण गर्ने गरी पार्टीहरूले आफ्ना उम्मेदवारलाई डिजिटल साक्षरता प्रशिक्षण किन गरिरहेका छैनन् ?
सञ्चार माध्यमहरूमा उम्मेदवारबीचको सार्वजनिक बहसमार्फत नागरिकलाई सुसूचित गर्ने अभ्यास किन कम आकलन गरिँदँछ ? आजको युग डिजिटल प्रविधिको युग हो। यसलाई अनुसरण र अनुपालन गर्ने हिम्मत नदेखाउनेहरूलाई पनि आधुनिक तथा विकसित देश बनाउने भाषणबाजी दिने लत चाहिँ लागेको हुन्छ। उनीहरूका भाषणहरू नसामा रहेको व्यक्तिका मनमौजी अभिव्यक्ति जस्तै हुन् जसमा स्वाभाविक र विश्वासिलो आधार कम अनि नशाको उन्माद बढी झल्कन्छ।
सम्बन्धित निर्वाचन क्षेत्रबाट विदेशमा बसेका व्यक्तिहरूको पहिचान गर्दै अनलाइन बैठकको आयोजना गरी उनीहरूका समस्या समाधान गर्न र देशभित्रै गरेर खाने वातावारण सिर्जना गर्न लिने पहलका बारेमा किन भन्दैनन् ? उनीहरूका परिवारका सदस्यलाई आफूलाई मतदान गराउन आह्वान गर्ने आँट किन गर्दैनन् ?
कसैलाई मन पर्ला वा नपर्ला यो निर्वाचन जेन–जी आन्दोलनको परिणाम हो। लेखक फरिद जकारियाले यस्ता प्रकारका आन्दोलनहरू २१औं शताब्दीको एक नियमित चक्र र चरित्र हुने भनेर पुस्तक ‘एज अफ रिभोलुसनस्’मा ठोकुवा नै गरेका छन्। बंगलादेश, श्रीलंका, नेपालमा जस्तै प्रकृतिका प्रतिकारहरू भारत, फ्रान्स, न्युजिल्यान्डमा पनि देखिँदैछन्, विस्फोट हुन्छन् हुँदैनन् भविष्यले देखाउँछ। यदि युवा पुस्ताका मागहरू सम्बोधन नभए र आम नागरिकका निराशाको निरूपण नभए जो कोहीले बहुमत ल्याउनु अथवा नल्याउनुको केही अर्र्थ रहँदैन। हामीकहाँ जेन–जी आन्दोलन हँुदा बहुमतमात्र हैन झन्डै दुई तिहाइकै सरकार थियो। निर्वाचन क्षेत्रभित्रका विद्यार्थी तथा युवाहरू लक्षित उनीहरूका गुनासा र माग आधारित निर्वाचन कार्यक्रम किन बनिरहेका छैनन् ? मत माग्न बनाइने प्रचार सामग्रीहरूका केही महŒवपूर्ण कन्टेन्टलाई कम्तीमा पनि आधा दर्जन मुख्य भाषामा र अन्तर्राष्ट्रिय भाषामा समेत तयार पार्दै सबैको अगाडि आपूmलाई अब्बल देखाउने योजना कति उम्मेदवारको सोचमा छ ?
अहिलेसम्म विगतका सबै निर्वाचनमा मत माग्दा दलहरूले अधिक र अनावश्यक बोले। चाहिने, नचाहिने, सकिने, नसकिने सबै प्रतिबद्धता गरे। कहिलेबाट यसरी पनि मत माग्न थालिएला कि, उम्मेदवारहरूले भन्दै आउँछन्, ‘हामी सुन्छौं मात्र, कृपया हजुरहरू बोल्नुहोस्’। पेसागत जीवनमा राम्रा अवसर खोज्न अन्तर्वार्तामा बस्दा सबै आकांक्षीहरूले म राम्रो कार्यसम्पादन गर्छु भनेर रोजगारदातालाई विश्वास दिलाउन खोज्नुपर्छ र खोजिन्छ। कोही पनि म यो कम्पनीलाई बिगार्न अथवा सामान्य नियमित कार्य गर्नमात्र आउँछु भन्दैन। उल्लेख्य गर्ने ल्याकत राख्छन्, राख्दैनन् भन्ने चाहिँ उनीहरूले प्रस्तुत गरिरहेको तरिकाले पनि नलुकाई बोलिरहेको हुन्छ।
हामी देश बदल्छौं भन्नेहरू धेरै छन्। तर साँच्चै बदल्न सक्छन्, सक्दैनन् वा चाहन्छन्, चाहँदैनन् भन्ने चाहिँ उनीहरूले मत माग्न प्रयोग गरेको अभ्यासले समेत बताउँछ। देश बदल्ने सोच कोहीसँग छ भने, कम्तीमा मत माग्ने शैली पनि त बदलियोस्, पत्याउने एउटा आधार बन्नेछ।
अहिलेसम्म पनि सबै दलहरूलाई मत नागरिकले दिन्छन् र नागरिक लक्षित भएर गतिविधि अगाडि बढाउनुपर्छ भन्ने सद्बुद्घि लिन सकेका छैनन्। चर्का भाषणबाजी, आत्मरति र लोकप्रियतावादले बनेका पानीफोकाहरूको दृश्यमा नागरिकलाई आकर्षण गर्न खोज्ने पक्षलाई जोड दिइरहेका छन्।
प्रतिक्रिया दिनुहोस !