चुनावमा मात्र पुगिने मुगुको सुम्ली गाउँ

चुनावमा मात्र पुगिने मुगुको सुम्ली गाउँ
छायाँनाथ रारा नगरपालिका—१४ को सुम्ली गाउँ । सौजन्य : कविराज कार्की
सुन्नुहोस्

मुगु : छायाँनाथ रारा नगरपालिकाभित्र एउटा यस्तो गाउँ छ, जहाँ चुनावका बेला नेताहरू जस्तोसुकै कठिनाइ पार गरेर पनि पुग्छन्, तर चुनाव सकिएसँगै उनीहरू फर्केर नआउने स्थानीयको वर्षौंदेखिको गुनासो छ ।

छायाँनाथ रारा नगरपालिका–१४ स्थित सुम्ली गाउँमा चुनावका समयमा विभिन्न आश्वासन बाँड्दै भोट माग्न आउने राजनीतिक दलका नेताहरू चुनावपछि गाउँको अवस्था बुझ्नसमेत नफर्किने स्थानीयको भनाइ छ ।

नगरपालिका भित्रकै बस्ती भए पनि सुम्ली गाउँको विकासको अवस्था अत्यन्त कमजोर छ । यहाँ ५६ घरधुरी बसोबास गर्दै आएका छन् । गाउँमा अहिले पनि एउटा मात्रै सार्वजनिक धारा छ, विद्युत् सेवा पुगेको छैन र आवतजावतका लागि सहज सडक सुविधासमेत उपलब्ध छैन । सदरमुकाम पुग्न आधा घण्टा पैदल हिँडेर सोरु गाउँपालिकाको सडक प्रयोग गर्नुपर्छ भने आफ्नै वडा कार्यालय पुग्न दुईदेखि तीन घण्टा उकालो–ओरालो बाटो हिँड्नुपर्ने बाध्यता छ ।

चुनावका बेला गाउँमा पुग्ने नेताहरूले समस्याको समाधान गर्ने आश्वासन दिए पनि त्यसको कार्यान्वयन कुनै पनि दलका नेताबाट नभएको स्थानीय ऐनबहादुर भण्डारी बताउँछन् ।

छायाँनाथ रारा नगरपालिका–१४ मा ८७ वटा बस्ती छन् । नगरपालिकाभित्रका वडा नम्बर ९ को मुर्मा र वडा नं. १४ को सुम्ली गाउँमा विद्युत् र सडक पुगेको छैन । अन्य ४÷५ बस्तीमा सडक पुगेको भए पनि विद्युत् पुगेको छैन । अन्य सबै बस्तीमा सडक र विद्युत् सेवा पुगिसकेको छ । सदरमुकामबाट २ देखि ३ घण्टामा पुग्न सकिने सुम्ली गाउँ भने अझै आधारभूत सेवाबाट वञ्चित छ । स्थानीय बिर्ख भण्डारी भन्छन्, ‘सबै नेताहरूले समस्या देखेर गएका हुन्छन् । भोट माग्न आउँछन् तर अहिलेसम्म समस्या समाधान कसैले गरेनन् ।’

सदरमुकाम गमगढीबाट २ देखि ३ घण्टा पैदल हिँडेर पुगिने यो गाउँमा सरकारी तथा गैरसरकारी संस्थाका कार्यक्रमसमेत पुग्न सकेका छैनन् । सडक सञ्जाल नजोडिँदा यहाँ उत्पादन हुने मार्सी धान, गहुँ, सिमी, केरा तथा अन्य तरकारी र फलफूलले बजार पाउन सकेको छैन ।

नगरपालिकाले सडक सञ्जाल जोड्न बेलिब्रिज निर्माण गर्ने योजना अघि सारे पनि काम कहिले सम्पन्न हुन्छ भन्ने जानकारी स्थानीयसँग छैन । विद्युत् सेवा नपुग्दा यहाँका बासिन्दा अझै पनि दियालो बालेर रात कटाउन बाध्य छन् । खानेपानीको अभावका कारण सरसफाइका लागि खोला र बगरसम्म पुग्नुपर्ने बाध्यता रहेको स्थानीयको गुनासो छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.